१९ वर्षीया किशोरीमा कोभिड १९ पोजेटिभ, अवस्था सामान्य



Download our app to get more features

काठमाडौं, १५ चैत । काठमाडौं उपत्यका बाहिर फेरि एक जनामा कोभिड–१९ पोजेटिभ भेटिएको छ ।

गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुंग की १९ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित्र प्रेस बिफ्रिङ गर्दै शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा ती किशोरीमा कोरोना पोजेटिभ पाइएको बताए ।

उनी कतारबाट क्यू ६५२ फ्लाइटबाट नेपाल आएकी र अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. देवकोटाले जानकारी गराए । 

योसँगै नेपालमा नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । 

यस्तै प्रवक्ता देवकोटाले शनिवारबाट निःशुल्क कल सेन्टरका लागि थप सेवा जडान गरिएको बताए । ११३३ मा पनि अब कोरोनाबारे निःशुल्क जानकारी लिन र कतै शंका लागेको भए जानकारी गराउन सकिने छ । यसअघि सरकारले १११५ नम्बर सञ्चालन गरेको थियो । अब २ वटा नम्बरमा कल गर्न सकिनेछ । 

त्यसैगरि धनगढीमा उपचाररत युवा दुबईबाट भारतको दिल्ली हु्ँदै गत २० मार्चमा भिस्टरा एयरको यु के १५५ नम्बरको जहाजबाट काठमाडौं आएको र उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए । 

यस्तै काठमाडौं उपत्यका बाहिर शनिवारबाट कोरोना परीक्षण सुरु भएको जानकारी दिँदै उनले नेपालगञ्ज, हेटौँडा, पोखरा लगायतका स्थानमापनि कोरोना परीक्षणका लागि ल्याब बनाउने विषयमा छलफल भइरहेको बताए । 

यसैबीच नेपाल उद्योग परिसंघले सरकारलाई ७५ हजार सर्जिकल मास्क र एक सय थान पीपीई उपलब्ध गराएको छ भने एकिकृत व्यापार कम्पनी प्रालिले पनि ४० थान पीपीई सरकालाई उपलब्ध गराएको उनले जानकारी दिए । 

Last modified on 2020-03-28 16:56:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts