स्वास्थ्यमन्त्रीको संयोजकत्वमा बैठक बस्दै, पीपीईको गुणस्तर निर्धारणको विषयमा छलफल हुने



Download our app to get more features

काठमाडौं, १६ चैत । नोवेल कोरोना भाइरस संक्रमितको उपचारमा खटिदा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्रीको विषयमा आज विभिन्न निकायहरुबीच छलफल हुँदैछ ।

भाइरस संक्रमितको जाँचमा खटिदा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री गुणस्तरीय भए नभएको विषयमा छलफल गर्न आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बस्न लागेको बैठकमा नेपाल मेडिकल काउन्सिल, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग, नर्सिङ काउन्सिल, नास्ट लगायतका पदाधिकारीको सहभागिता रहने नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.कृष्ण अधिकारीले हाम्रो डाक्टर न्यूजलाई जानकारी दिए ।

उनले नेपाल गुणस्तर तथा नापतौल विभाग र विज्ञहरु सम्मिलित बैठकबाट व्यक्तिगत सुरक्षा सामग्री पञ्जा, मास्क, चस्मा, हेड कभर, पोसाक लगायतका उपकरण गुणस्तरीय भए नभएको विषयमा छलफल गरिने र गुणस्तर विभागले निर्धारण गरेको मापदण्ड अनुसार भएनभएको विषयमा पनि छलफल हुने बताए ।

जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकारण, सुरक्षा सामाग्री, उपचार पद्धति लगायतका विषय संवेदनशिल भएकाले स्वास्थ्कर्मीको स्वास्थ्यसँग कुनै खेलबाड नगर्न पनि काउन्सिलले आग्रह गरेको छ । 

साथै चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा बिरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान केन्द्रीत रहेकाले काउन्सिलले पीपीईको जाँचपडताल गरी स्वीकृति वा अनुमति नदिएको स्पष्ट पारेको छ ।

नेपाल मेडिकल काउन्सिल औषधि, उपचार उपकरण, उपचार सामाग्री लगायतका विषयमा संबेदनसिल रहदाँरहदै पनि यो विषय काउन्सिलको कार्यक्षेत्र भित्र नपर्ने र कुनैपनि संस्था तथा निकायलाई यस विषयमा अनुमति प्रदान नगरिएको भन्दै काउन्सिलका रजिष्ट्रार डा.अधिकारीले वस्तुको गुणस्तर हेर्न तोकिएको निकायले यसको टुंगो लगाउने व्यवस्था भएको पनि स्पष्ट पारेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts