प्रदेश नं १ सरकारद्वारा कोरोना भाइरसको रोकथामका लागि समिति गठन



Download our app to get more features

विराटनगर, १६ चैत । प्रदेश नं १ सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने संक्रमणको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ । 

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शनिवार बसेको निर्देशन समितिको बैठकले स्थानीयतह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समिति गठन गरेको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । 

समितिहरुमा सम्बन्धीत निकायका प्रतिनिधिहरु सदस्य रहेका छन् । बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभाका सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ ।     

यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा शनिवारै बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिलाई रु १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वारेन्टाईनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेश भित्रका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पुर्याउने जिम्मेवारी तोकेको छ । 

त्यस्तै नेपाल प्रहरी र सशस्त्रप्रहरी बललाई अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts