धवलागिरि अस्पतालमा सघन उपचार कक्ष नहुँदा कोरोना उपचारमा समस्या



Download our app to get more features

काठमाडौ, १६ चैत । धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपतकालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था छैन ।

कोभिड–१९को संक्रमण हुन सक्ने त्राससँगै अञ्चल अस्पतालमा आईसीयूको अभाव महसुस गर्न थालिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यही अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेकाले समस्या नरहेको चिकित्सक बताउँछन् । यदि उनीलगायत अरुलाई आईसीयुमा राख्नुपर्ने अवस्था आए या अस्पतालमा सम्भव छैन । 

आईसीयूमा बस्नुपर्ने अवस्थामा यहाँ आउने गरेका बिरामीलाई पोखराका विभिन्न अस्पतालमा सिफारिस गरिँदै आएको छ । ‘हामीसँग आईसियुका लागि इक्विपमेण्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी. पोखरेलले गुनासो गर्दै भने, ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आइसोलेसन बेड छ तर भेण्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौंँ ।’

‘कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखापरे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ, संक्रमण फैलिएर बिरामी आए भने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा. पोखरेलले बताए । 

कोरोनाको सन्त्रास धौलागिरिका सबै जिल्लामा छ । केही दिनअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेसँगै उनीसँगै आएकाहरुको खोजी भइरहेको छ । सँगै जहाजमा आउनेहरु पर्वत, बागलुङलगायत जिल्लाका रहेकाले सम्भावित संक्रमणको खतरा छ ।

‘आईसीयुको लागि हामीले आएदेखि नै प्रयास थालेका हौंँ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भने, ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुने कुरा रहेनछ ।’ आईसीयूका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आफूहरु भए पनि मेडिकल इक्विपमेण्टकै सुनिश्चितता नभएको अध्यक्ष रानाको जिकिर छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts