कोरोनाको उपचारमा प्लाज्मा ट्रान्सफ्युजन



Download our app to get more features

प्लाज्मा रगतमा हुने रक्तकोषिकाहरु बाहेकको तरल पदार्थ हो। यसले शरीरको प्रतिरक्षा प्रणालीमा बिशेष भूमिका खेल्छ, यसमा हुने एन्टिबोडिले मानव शरीरमा बाहिरबाट प्रबेश गर्ने, विभिन्न रोगका जिवाणु तथा अन्य चिजहरुलाई नष्ट गर्छ । जसको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ त्यस्ता व्यक्तिहरुमा कुनै पनि रोग हावी हुन सक्ने सम्भावना रहन्छ।

कोरोना संक्रमणको तथ्यांक हेर्दा हालसम्म आउटकम आएका मध्ये १८ प्रतिशतको मृत्यु भएको छ भने ८२ प्रतिशत मानिस निको भइसकेका छन्। निको हुनेहरुको प्रतिरक्षा प्रणाली बलियो रहेको थियो । निको भएका कोरोनाका बिरामीहरुको प्लाज्मा प्रयोग गरि उपचाररत बिरामीहरुमा राम्रो नतिजा आएको चीनमा गरिएको एक अध्ययनको नतिजामा बताइएको छ । यसकारण नेपालमा पनि यसलाई  प्रयोगमा ल्याइ कोरेनाको संक्रमणबिरुद्धको लडाइमा प्रयोग गर्न सकिन्छ।

यो तरिका यसभन्दा पहिला फैलिएको स्पेनिस फ्लुको उपचारमा पनि प्रयोग भएको पाइन्छ भने राम्रो परिणाम पनि निस्किएको थियो । कोरोनाविरुद्ध अमेरिकामा पनि चिकित्सकहरुको यसप्रति चासो बढाएको समाचार बाहिरिएका छन्।
 
कसरी हुन्छ प्लाज्मा ट्रान्सफ्युजन 
रक्तदानमार्फत नै प्लाज्मा प्राप्त गर्न सकिन्छ। कोरोनाको लागि प्रयोग हुने प्लाज्माको रक्तदाता भने कोरोनाको संक्रमण भइ निको भएको व्यक्ति हुनुपर्छ I जसबाट बिरामीले रोगप्रतिरोधात्मक क्षमता प्राप्त गर्न सक्छ। रक्तदाताको रगतमा कोभिड–१९, एचआइभीं, हेपाटाइटिस् आदिको जाँच गरिन्छ । रक्तदाता कोभिड संक्रमणबाट निको भएको कम्तिमा दश दिन नाघेको भए उपयुक्त हुनसक्छ। रक्त दान गर्न योग्य मानिएपछि, दाताबाट रगत निकालिन्छ, तानिएको रगतबाट एफेरेसिस प्रविधिद्वारा कन्भल्सेन्ट प्लाज्मा छुट्याइन्छ र उक्त प्लाज्मा संक्रमण भएको बिरामीमा प्रवाहित गराइन्छ। रक्तदाता र बिरामीको रगतको समूह पनि मिल्नु पर्ने देखिन्छ। 

लाभ र चुनौति 
नेपालमा कोरोना भाइरस संक्रमण व्यापक नदेखिए पनि देखिन सक्ने संभावना भने प्रबल रहेको कुरालाई नकार्न सकिन्न । चीनमा गरिएको प्रारम्भिक अध्ययनमा यो तरीका प्रभावकारी देखिएको हुँदा हामीले पनि यस उपायमार्फत महामारीको बेला मृत्युदर घटाइ लाभ लिन सक्छौं । यद्यपि, पर्याप्त अध्ययन र तयारी नभएको हुँदा निम्न कुराहरु चुनौतिपुर्ण हुन सक्छन्।

  • प्रविधिको अभाव ।
  • योग्य रक्तदाताको कमी ।
  • सम्भाबित नकारात्मक असर ।
  • रक्तदाता अझै संक्रमणमै भएमा अवस्था अझ गम्भीर हुन सक्ने ।
  • अन्य उपचारमा वा उपचारहरुबाट प्रभावकारितामा पर्ने असर आदी ।
Last modified on 2020-04-11 13:15:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts