कोरोनाका नाममा डायलासिस नपाउँदा दुईजना मिर्गौला पीडितको मृत्यु



Download our app to get more features

काठमाडौं, १९ चैत । कोरोना भाइरसका नाममा समयमा सेवा नपाउँदा दुईजना मिर्गौला पीडितको ज्यान गएको खुलेको छ । 

कोरोना भाइरसलाई देखाउँदै डायलासिस गरिरहेका नियमित बिरामीलाई लिन एम्बुलेन्स नपठाउँमा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचाररत दुईजनाको ज्यान गएको पाइएको हो । 

केन्द्रले बिरामीलाई लिन नपठाउँदा गत चैत १३ गते पोखराकी ३८ वर्षीय छवी गुरु र ३५ वर्षीय रीता श्रेष्ठको मृत्यु भएको श्री मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । त्यसका साथै समयमा डायलासिस नपाउँदा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि एकजनाको मृत्यु भएको सुवेदीले दावी गरे । केन्द्रले नियमित डायलासिसका बिरामीलाई बेवास्ता गरेको उनको आरोप छ । 

उनका अनुसार लकडाउन सुरु भएसँगै अस्पतालहरुले ४ घण्टा दिनुपर्ने डायलासिस जम्मा २ घण्टामात्र दिने गरेका छन् । मिर्गौला उपचार केन्द्रमात्र नभै सरकारी वीर अस्पतालमै पनि बिरामीलाई पूरा समय डायलासिस नदिइएको उनको आरोप छ । त्यसबाहेक सामाखुशीस्थित बुलन्द सिद्धिविनायक अस्पतालले आवश्यक मेडिकल सामाग्री बिरामी आफैले ल्याएमात्र डायलासिस गर्नेगरेको पनि उनले गुनासो गरे । 

त्यसबाहेक ललितपुर आरोग्य प्रतिष्ठानले पनि पूरा समय बिरामीलाई डायलासिस नगरेको र हप्तामा तीनपटक डायलासिस चाहिने बिरामीलाई दुईपटकमात्र त्यो पनि दुईघण्टामात्र डायलासिस गर्नेगरेको आरोप लगाए । 

मिर्गौला पीडित सरोकार समाजले कोरोना भाइरसको त्रासको नाममा मिर्गौलाका बिरामीहरुलाई पीडा नदिन सरकारसँग माग गरेको छ । सरकारी अस्पतालले समेत आफुहरुलाई उपेक्षा गरेको समाजको गुनासो छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts