डडेल्धुरामा के गर्दैछन् डा. केसी ?



Download our app to get more features

२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा अर्थोपेडिक प्राध्यापक एवम् विशेषज्ञका रुपमा कार्यरत प्राडा गोविन्द केसीले गत असोजमा अवकाश पाए । मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अनियमितता रोक्न र देशका दुर्गममा पनि मेडिकल कलेज खोल्न माग गर्ने उनी १७ पटक अनसन बसिसकेका छन् । यतिमात्रै होइन देशमा विपत्ति पर्दा उनी आफ्नै खर्चले उपचारमा खटिने गर्थै । अहिले सिंगो विश्व नै कोरोना भइरसको महामारीमा रहेको बेला उनी चुप छन् । गुमनाम जस्तंै छन् ।

सरकारसँग विभिन्न माग राखेर पटकपटक अनसन बस्दै आएका उनी अहिले कहाँ छन ? देशलाई अहिले थुपै्र चिकित्सकको आवश्यकता परेका बेला डा. केसी के गर्दैछन् ? अहिले सामाजिक संजालमा समेत डा. केसी कता गए भनेर धेरैले प्रश्न गरेका छन् । आखिर कहाँ छन् प्राध्यापक डाक्टर गोविन्द केसी ? 

आजभोलि प्राडा गोविन्द केसीको दिनचर्या अलि बेग्लै छ । किर्तिपुरको एउटा घरमा डा केसीको कोठा छ । हरेक दिन बिहानै ६ बजे उठेर उनी ८ बजेअघि नै एक ग्लास तातो दुध पिएर कोठाबाट निस्किन्छन् । करिब १० मिनेट हिडेंपछि उनको गन्तव्यमा पुग्छन् । गन्तव्य हो डडेल्धुरा अस्पताल, डडेल्धुरा । 

माथि उल्लेखित किर्तिपुर बजार डडेल्धुराको अमरगढी नगरपालिका–५ सदरमुकाममा पर्छ । डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा उनी दिनको चार सय भाडा तिर्ने गरी एउटा कोठा लिएर बस्छन्, त्यो भाडा उनी आफ्नो गोजीबाट तिर्छन । अस्पतालमा पुगेपछि उनी सिधै बिरामी जाँच्न पुग्छन् । चाहे त्यो इमर्जेन्सी होस् वा त्यो वार्ड । 

डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार अस्पतामा दैनिक ७० जना हाडजोर्नीका बिरामी आउँछन् । ‘पहिला अझै धेरै आउथँे । लकडाउनका बेला पनि १२–१४ जना हुन्छन्’ उनले भने, ‘हामीसँग अर्थोपेडिकका एक अर्का डाक्टर छन् उनी र डा केसी दिनभर तिनै बिरामीलाई हेर्छन ।’ दिनमा एक घण्टाको ब्रेक लिने डा. केसी कहिले त्यो पनि लिंदैनन् । ‘बिरामीको उपचारमै व्यस्त हुन्छन, दिनमा एक छाक खाना खाने भएकाले दिउँसो उनी खाना खाँदैनन’ सोही अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्ट भन्छन, ‘दिउँसो बिस्कुट, तातोपानी कहिले कोकाकोला खान्छन् तर कामबाट फुर्सद नपाउने दिन त्यो पनि खाँदैनन्, भोकै बस्छन् ।’ डा. केसीले सल्यक्रिया कक्षमा चाहिने सानातिना सामान समेत आफै किन्ने गरेको उनले बताए । 
‘कहिले त गरिब बिरामीहरुलाई आफ्नै पैसाले औषधि किनेर दिन्छन्’ रमेश भट्ट थप्छन् ‘उनले गरिब बिरामीका लागि भनेर प्रति जोडा ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पतालमा राखेका छन् ।’ उनी दिउँसो अस्पतालको काममा बाहेक केही बोल्दैनन् । ‘अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने उनीलाई सुरुमा त बिरामीले पनि चिन्दैनन्’ अस्पताललै अर्का कर्मचारी प्रकाशचन्द्र बुढाऐर भन्छन ‘बिरामीले सुरुमा चिन्दैनन्, चिनेपछि छोड्दैनन् ।’ दिनभर बिरामीलाई हेरेपछि साँझ ७ बजेतिर उनी कोठातर्फ लाग्छन् । घरबेटीले बनाएको खाना खाएर सुतेपछि उनको त्यो दिनको दिनचर्या समाप्त हुन्छ । 
                                    ०००
दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न भनेर डा. गाविन्द केसी गत २० फागुनमा डडेल्धुरा पुगेका थिए । डडेल्धुरा अस्पतालमा केसीले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेपछि अहिलेसम्म सयौंले सेवा लिएका छन् । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नीसम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts