कोरोनाको त्रासबाट मानसिक स्वास्थ्यलाई कसरी जोगाउने ?


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

विभिन्न समयमा मानिसको लागि चुनौती बनेर आउने गरेको बाढी, पहिरो, भूकम्प, सुनामी, आगलागी आदि जस्ता विभिन्न प्राकृतिक प्रकोप, मानवीय त्रुटीका कारणले आउने विपत्ति तथा विभिन्न रोग आदिको महामारी र संकटले  मानिसको स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष नकारात्मक असर पार्दछ ।  यति बेला हाम्रो देश मात्र नभएर सिंगो विश्व नै कोरोनाको विषयलाई लिएर तरंगित भएको छ । यो महामारीले के ठूला, के साना,  के विकसित, के अविकिसित सबै राष्ट्रलाई आक्रान्त पारेको छ । हाल कोभिड–१९ ले विश्वका सय ९९ देशलाई प्रत्यक्ष प्रभावित पारेको छ भने जम्मा झन्डै ११ लाख मान्छेमा संक्रमण देखिएको छ । भाइरसका कारण ५९ हजारले ज्यान गुमाएका छन् र संक्रमितमध्ये २ लाखभन्दा बढी निको भएका छन् । नेपालमा भने १३ सय जनामा गरिएको परीक्षणमा ६ जनालाई संक्रमण देखिएको छ भने हालसम्म कसैको पनि मृत्यु नभएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

तथापि यतिबेला कोरोना भाइरसको सन्क्रमणको जोखिम र त्यसका लागि गर्नुपर्ने सावधानीका उपायहरू एकातिरछन छदैछन् । अर्कोतिर यसले जनजीवनमा पारेको शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक प्रभावले व्यक्तिको दैनिकीलाई पनि प्रतिकूल असर पारेको छ ।  सरकारले लकडाउनको घोषणा गरे पश्चात दैनिक उपभोग्य सामाग्रीको असहजता हुनु, आफन्त, प्रियाजन तथा साथीभाई आदिसंग इच्छाविपरीत टाढिएर वस्नुपर्ने अवस्था झेल्नपर्नु , आफ्नो दैनिक कार्यतालिकालाई अकस्मात जवर्जस्ती रुपमा परिवर्तन गर्नपर्नु जस्ता व्यक्तिले योजना नै नबनाएको र सामान्यतया कल्पना नै नगरेको परिस्थीतिमा आफूलाई समायोजन गराउनु पर्दा उसको दैनिक जीवनमा मात्र नभएर शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत प्रतिकूल असर पर्न सक्दछ । 

vayoda

शारीरिक स्वास्थ्यमा परेका नकरात्मक असरहरूलाई सजिलै जो कसैले बुझ्न र अनुभव गर्न सक्दछ भने मानसिक स्वास्थ्यमा परेको असरलाई जो कसैले सहजरुपमा बुझ्न र आफूलाई के भैरहेको छ ?  के कारणले गर्दा भैरहेको छ भनेर जान्न र त्यसबाट उन्मुक्ति पाउन कठिन हुने गर्दछ । त्यसैले शारीरिक स्वास्थ्यको असरभन्दा मानसिक स्वास्थ्यमा परेको प्रतिकूल असरबाट आफूलाई सुरक्षित राख्नु निकै गाह्रो कुरा हो । त्यसो त हाम्रो जस्तो देशमा सामान्य परिस्थितिमा पनि मानसिक स्वास्थ्यको बारेमा न त जनस्तरमा प्रयाप्त चेतना छ, न त राज्यले नै शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्यको महत्त्वलाई पनि दर्शाएर कार्ययोजनामा उल्लेख्य रुपमा समावेश गरेको पाइन्छ । जसले गर्दा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गर्ने डाक्टर, नर्स, मनोवैज्ञानिक, थेरापिस्ट  वा मनोविज्ञहरूको संख्या पनि अत्यन्त न्यून छ । त्यसै गरि मानसिक समस्यालाई सामाजिक रुपमा नै नकारात्मक र हेयको दृष्टीले हेरिने हुनाले पनि व्यक्ति आफैं आफ्नो मानसिक समस्याको समाधान खातिर खुलेर बाहिर आउन सकेको अवस्था छैन । बरु यसको उल्टो यदि कसैलाई मानसिक समस्या देखिएमा स्वयम व्यक्ति र उसका परिवारले नै यसलाई लुकाएर राखेको अवस्था छ । झन् यतिबेला त कोरोनाको महामारीको सन्त्रासले पुरै समाजलाई नै गाँजेको अवस्था छ । यस्तो अवस्थामा व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य दुवै एक किसिमको जोखिमा रहन सक्दछ । तर यदि यस्तो अवस्थामालाई उपयुक्त तरिकाले व्यवस्थापन र समायोजान गर्न सकियो भने मानसिक तथा शारीरिक स्वास्थ्यलाई सामान्य नै राख्न सकिन्छ । अझ यो लकडाउनको अवस्था ठिक तरिकाले सदुपयोग र समायोजन गर्न सकियो भने आफू र आफ्नो क्षमतालाई निखार्ने अवसरको रुपामा परिणत समेत गर्न सकिन्छ ।

कोरोना संक्रमण नभएकाहरूलाई संक्रमण होला कि भन्ने त्रासले सताएको अवस्था छ भने संक्रमित तथा संक्रमणको जोखिममा रहेकाहरूलाई पनि आफ्नै किसिमको त्रास छ । यो महामारीको यथार्थ र वस्तुपरक सूचना वा बुझाई भन्दा पनि डर, भय सृजना गर्ने किसिमका सनसनीपूर्ण र भ्रामक समाचारले यसको बारेमा अझ त्रास उत्पन्न गरेको छ । यस्तो महामारी देखि डर लाग्नु स्वभाविक प्राकृतिक  प्रक्रिया नै हो तर अप्राकृतिक रुपमा डर लाग्नु, लामो समयसम्म पनि डर लाग्नु, अनावश्यक आत्तिनु आदि भने पक्कै स्वभाविक कुरा होइनन् । यसरी कोभिड–१९ ले उत्पन्न गराएको त्रासले गर्दा मानिसमा एक किसिमको तनावको सृजना गर्दछ, जसले गर्दा अल्पकालीन तथा दिर्घकालिन रुपमा विभिन्न किसिमको मानसिक समस्याहरू देखा पर्न सक्दछन् । यसरि देखापर्ने समस्याहरू कतिपया सामान्य किसिमका हुन्छन् भने कतिपय जटिल किसिमका पनि हुन सक्छन् । “एनजाइटी डिसअर्डर”, “साइकोसिस”, “मेनिया”, “एडजस्टमेन्ट डिसअर्डर” आदि जस्ता समस्याहरूलाइ उदाहरणका रुपमा लिन सकिन्छ ।   

उत्पन्न हुने लक्षणहरू 
१. दुखि देखिने वा हुने, चिडचिडाहट हुने, रिस उठ्ने, असहज हुने, कन्फ्यूजन हुने, बेचैन हुने  । 

२. एकाग्रता नहुने, आफ्नो दक्षता तथा आफूले गरेको कामको उत्पादकत्त्वमा कमि आउने । 

३. सामाजिक हुन वा घुलमिल हुन नसक्ने एक्लै छुट्टै बस्न मन लाग्ने, झर्को लाग्ने ।

४. कम्जोर भएको महसुस हुने जस्तैस थकित अनुभूति हुने, खान मन नलाग्ने ।
 
५. अन्तर वैयक्तिक समस्याहरू जस्तैस झुट बोल्नु, अनावश्यक प्रतिरोधात्मक बन्ने, प्रभावकारी संचारमा कमी आउने ।

६. सुताइमा समस्या हुने जस्तैस संक्रमण कै बारेमा कुरा खेलिरहने निद्रा नलाग्ने, सपना नराम्रो देख्ने, बिहान उठ्दा आलस्य अनुभव हुने ।

७. शरीरमा दर्द हुने जस्तैस् मांशपेशी दुख्ने, बाउँडीने,  टाउको दुख्ने आदि । मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो भएको जस्तो हुने । 

८. आफूलाई पनि कोरोना संक्रमण हुन्छ कि भनेर चिन्ता मात्र लागिरहने, कुनै कारणले स्वास्थ्यमा केहि गढबढी भए पनि कोरोना नै भएको हो कि भनेर डर लागिरहने ।


९. आवश्यकताभन्दा बढी हात धोइरहन मन लाग्ने हात धोइरहने, आफ्नो स्वास्थ्यको अत्याधिक चिन्ता लिईरहने । 

१०. पहिले नै मानसिक समस्या भएकाहरुलाई फेरी बल्झिने वा समया बढेर जाने आदि ।

कस्ता व्यक्तिहरूको मानसिक स्वास्थ्य उच्च जोखिममा रहन्छ ? 
एकै किसिमको कारक तत्व वा अवस्थाले पनि व्यक्तिको उमेर, अवस्था, सामना गर्न सक्ने क्षमता तथा व्यक्तित्त्व अनुसार फरक फरक मात्रामा असर गर्न सक्दछ । अर्थात् एकै किसिमको कारक तत्व वा परिस्थितिले व्यक्तिको अवस्था अनुसार कसैलाई बढी कसैलाई कम र कसैलाई असर नै नगर्न पनि सक्दछ । यो कुरा व्यक्तिले परिस्थितिलाई हेर्ने दृष्टीकोण  कस्तो छ र उसले त्यसलाई कसरी सामना गर्न सक्छ, अनि उसको पृष्ठभूमि कस्तो छ भन्ने कुरामा भर पर्दछ । 

सामान्यतया निम्न समूह मानसिक स्वास्थ्यको लागि जोखिमा रहेको मान्न सकिन्छः 
१. जेष्ठ नागरिक र विभिन्न किसिमको दिर्घ रोगले पिडित मानिसहरू जो कोभिड–१९ को जोखिममा पनि रहेकाछन्  भने त्यस्ता व्यक्तिको समूह ।
२. बालबालिका तथा किशोरावस्थाको समूह ।

३. कोभिड–१९ को उपचार, व्यवस्थापन तथा प्रत्यक्ष उद्दारमा संलग्न हुनुपर्ने स्वास्थ्य कर्मी, सेना, प्रहरी वा यसमा संलग्न व्यक्तिहरूको समूह ।

४. पहिले देखि नै मानसिक समस्या भएको वा औषधि सेवन गरिरहेका व्यक्तिहरू लगाएत लागूपदार्थ दुर्वेशनीमा परि औषधि लिइरहेका व्यक्तिहर्रोको समूह । त्यस्तै कोरोना प्रभावित देशबाट आएका व्यक्तिहरू र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूको पनि मासिक स्वास्थ्यको अवस्ठा जोखिममा हुनसक्छ ।

कोरोना संक्रमणको त्रासका कारणले उत्पन्न तनावले गर्दा हुने सक्ने मानसिक समस्याहरूलाई मोटामोटी निम्न तीन तहबाट रोक्न वा समाधान गर्न सकिन्छ । 

राज्य वा सरकारले अवलम्बन गर्न सक्ने उपायहरू 
१. स्वास्थ्य क्षेत्र अन्तर्गतका प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र तथा अस्पताहरुमा काम गर्ने डाक्टर, नर्स आदि जस्ता सबै किसिमका स्वास्थ्य कर्मीहरूले आफू सुरक्षित भएको महसुस हुने गरी उनीहरूका लागि आवश्यक सबै किसिमका सुरक्षा सामाग्री तथा उपचारमा आवश्यक उपकरण तथा औषधिहरू अविलम्व उपलब्ध गराउने ताकी उनीहरू आफूलाई सुरक्षित महसुस गरी  आफ्नो सीपको प्रयोग सहज रुपमा गर्न सकुन्, सुरक्षाको प्रत्याभूती नगराई जवर्जस्ती डर पैदा गराएर काम नलगाउने । संभव भएसम्म प्रत्येक स्वास्थ्य संस्थामा मनोविमर्शदाता वा मनोवैज्ञानिकबाट परामर्श सेवा उपलब्ध गराउने र आवश्यक सामान्य सबै मनोवैज्ञानिक औषधि उपलब्ध गराउने ।

२. सेना, प्रहरी लगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन खटिएका कर्मचारीहरूको सुरक्षाका लागि चाहिने सबै किसिमका सामग्रीहरूको उचित व्यवस्था गराएर मात्र उनीहरूलाई काममा खटाउने, असुरक्षित भएको महसुस हुने गरि काम नलगाउने । प्रशस्त आराम र परिवारसंग संचार गर्ने समय उपलब्ध गराउने । आशावादी बनाउन विभिन्न उत्प्रेरणाको प्रयोग गर्ने ।

३. जनताको लागि अत्यावश्यक सेवा सुविधा तथा सामग्रीहरुको उपलब्धतालाई नियमित तथा प्रभावकारी बनाउने, जनतामा  आशा जगाउने किसिमका गतिविधि, सामग्री, संदेशहरू सञ्चार गर्ने, महामारीको बारेमा उचित र आधिकारिक जानकारी समय समयमा गराउने तर अनावश्यक सनसनी फैलाउने किसिमका लेख, रचना तथा समग्रीहरूमाथि रोक लगाउने ।

४. रोगी (दिर्घ रोगी समेत) , जेष्ठ नागरिक,गर्भवती महिला, सुत्केरी, बालबालिका तथा अपाङ्गता आदि भइ विशेष संरक्षणको आवश्यकता पर्ने नागरिकका लागि उनीहरूले प्रयोग गर्ने सहयोगी सामग्री, औषधि, अक्सिजन ग्यास आदिको समयमा नै उचित प्रवन्ध गरिदिने ।

५. कोभिड–१९ बाट संक्रमित,जोखिममा रहेका व्यक्तिहरू र उसका परिवारलाई कोरोनाको त्रासबाट पैदा हुने तनाव व्यवस्थापन गर्न आवश्यक पर्ने मनोविमर्श, सावधानीका लागि आवश्यक सामग्रीहरू आदि उपयुक्त रुपमा उपलब्ध गराउने ।

६. राष्ट्रीय तथा अन्तर्राष्ट्रीय विषय विज्ञहरुसंगको छलफल तथा परामर्शलाई घनिभूत पार्दै प्राविधिक रुपमा समाधान उन्मूख कदम चाल्ने आदि । 

७. स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वयं सेवक, शिक्षक, क्वारेन्टाइनक्षेत्रमा काम गर्ने व्यक्तिहरू, सामाजिक अगुवा आदिलाई मनोवैज्ञानिक प्राथमिक सहायताको तालिम पर्दा गर्ने आवश्यकता अनुसार यसको प्रयोग गर्न लगाउने । 

सामाजिक संघ संस्था, सामाजसेवी, सामाजिक/रानीतिक नेतृत्वले गर्न सक्ने उपायहरू 
१. अनावश्यक डर, त्रास तथा नकारात्मक संदेश दिने समाचार, जानकारी तथा घटनाहरूलाई समाजमा फैलनबाट रोक्ने र उचिट अनि सहि जानकारी लिन र दिनका लागी प्रेरित गर्ने ।

२. आफ्नो क्षेत्र र आफूले प्रदान गर्ने सेवालाई मिलेसम्म उपयुक्त किसिमले निरन्तरता प्रदान गर्ने ।

३. नआत्तिने, सुरक्षित अनिभूति दिने खालको वस्तुपरक र सहि सूचना तथा अभिव्यक्तिलाई समाजमा संप्रेषण गर्ने, गर्नलाई हौसला प्रदान गर्ने ।

४. महामारीको बारेमा नकरात्मक पाटोलाई भन्दा सकारात्मक पाटोलाई जोड दिने अनि सरकार जनप्रतिनिधिहरूलाई सकारात्मक सुझाव दिने, सहयोग गर्ने ।

आम नागरिक वा व्यक्ति स्वयमले अवलम्बन गर्ने सकिने उपायहरू 
१. आधिकारीक स्रोतबाट संप्रेसित समाचार मात्र हेर्ने सुन्ने ।

२. नयाँ खबर थाहा पाउने र आफूलाई अध्यावधिक राख्ने नाममा अनावश्यक सामाजिक संजाल तथा अन्य मेडियामा धेरै समय नदिने र महामारीको सूचना(जानकारीलाई सिमित तुल्याउने ।

३. आफूलाई सहज र रमाइलो लाग्ने क्रियाकलापमा समय बिताउने । अब के होला ? कसो होला भनेर भविष्यको बारेमा सोचेर नबस्ने  िसंसारमा जे भैरहेको हुन्छ राम्रा भइरहेको हुन्छ भन्ने कुरा मनन गर्ने ।

४. आफूलाई अप्रिय लाग्ने, नरमाइलो लाग्ने सामाग्रीहरू सामाजिक संजालमा लाइक शेयर आदि नगर्ने ।

५. अनावाश्य सोचेर बस्ने, एक्लै बस्ने टोलाएर बस्ने नगर्ने त्यसको सट्टा आफूलाई मन पर्ने, नजिकको र मन मिल्ने साथी वा मित्रसंग फोनमा रमाइला कुराकानी गर्ने मनमा लागेको कुरा साटासाट गर्ने ।

६. राम्रा लागेका किताब पढ्ने, फिल्म हेर्ने, मन पर्ने गीतसंगीत सुन्ने, संभव भए घरपालुवा जनावार आदिसंग खेल्ने र अधिकांश समय चित्र बनाउने, गीत गाउने, कथा–कविता लेख्ने र अरुलाई सुनाउने जस्ता सृजनात्मक क्रियाकलापमा समय व्यतित गर्ने । 

७. बेला बेलामा लामो श्ववास फेर्ने, शान्त रहने र योग, ध्यान तथा प्राणायाम र नियमित शारीरिक व्यायाम  गर्ने, घरभित्र खेल्न सकिने खेलहरू पनि खेल्न सकिन्छ । 

८. सन्तुलित, स्वस्थकर तथा पौष्टिक खाना खाने, प्रशस्त पानी पिउने व्यक्तिको आवश्यकतानुसार प्रशस्त सुत्ने किन कि निन्द्रा मानसिक स्वास्थ्यका लागि नभई नहुने खुराक हो ।

९. आफ्नो वशमा भएको र आफ्नो वशमा नभएको विषयलाई छुट्टयाउने र आफ्नो वशमा भएको कुरालाई सहज रुपमा समाधान गर्ने र वशमा नभएको कुरालाई वास्ता नगर्ने । जस्तैस समुदायमा फैलिन सक्ने कोरोनाको महामारीलाइ आफू एक्लैले नियन्त्रण गर्न सकिंदैन, यस्तो कुरामा चिन्ता गरेर नबस्ने तर आफूमा हुनसक्ने संक्रमण रोक्न गर्न सकिने क्रियाकापहरू जस्तै (नियमित साबुन पानीले हात धुने, आँखा, नाक मुखमा हात नलाने, हाछ्यु गर्दा मुख छोपेर गर्ने, सेल्फ क्वारेन्टाइनमा बस्ने आदि गर्न सकिन्छ । 

बालबालिका तथा जेष्ठ नागरिकको मानसिक स्वास्थ्यलाई कसरि जोगाउने ?
१. हरेक बालबालिकाको भावना अभिव्यक्त गर्ने आफ्नै शैली हुन्छ । त्यसैले उनीहरूलाई आफ्नो भावना प्रस्तुत गर्न सहयोगी र अनुकूल वातावरण तयार पारिदिनु अभिभावकको दायित्व हो । त्यसको लागि उनीहरूलाई उमेर अनुसार चित्र बनाउने, रंग भर्ने, कथा भन्ने, खेल्ने जस्ता सृजनात्मक गतिविधिमा व्यस्त बनाउन सकिन्छ  िजसद्वारा उनीहरूले आफ्नो भावना अभिव्यक्त गरी हल्का र स्वास्थ हुन सक्छन् । 

२. बालबालिकालाई छुट्टै नराखी आफूसंगै राख्नुपर्छ र कुनै कारणवश टाढा बस्नुपरे वा छुटिनुपर्ने भएमा पनि नियमित फोन, भिडियो काल आदिको माध्यमबाट समिप्याताको अनुभूति दिलाउनुपर्दछ र आवश्यकता अनुसार अभिभावकीय भूमिका निर्वाह गर्न हेरचाह गर्ने व्यक्तिको व्यवस्था गर्नुपर्दछ ।

३. सामाजिक रुपमा अन्य व्यक्तिहरूसंगको सम्पर्कमा नरहँदा पनि परिवारकै सदस्यहरूसंग सामाजिकिकरण हुन, सिकाइ हुने खालका खेलहरू आदि खेल्न बाराम्बार उत्प्रेरित गरिरहनुपर्छ ।

४. बालाबिलिकाको अगाडि महामारी र त्रासको बारेमा अनावाश्यक, व्याख्या विश्लेषण गर्ने, आफ्नो नकारात्मक भावनाहरू, हाउभाउहरू  प्रस्तुत गर्ने गर्नु हुन्न, त्यसले उनीहरूलाई दिर्घकालिन रुपमा नै नकरात्मक असर पार्न सक्छ । बरु परिस्थितिको वस्तुपरक र सकरात्मक रुपमा सूचित गर्दै उनीहरूलाई होसियारीका उपायहरू सिकाउनुपर्दछ । कोभिड–१९ बारेमा सहज छलफल गर्नाले उनीहरूमा भएको त्रास बिस्तारै हराउँछ । 

५. विशेष गरी “डीमेंसिया” , “कग्नेटिभ डीक्लाइन” भइ मानसिक रुपले जीर्ण अवस्थाका जेष्ठ नागरिकलाई क्वारेनटाइनमा बस्नुपर्दा बढी रिसाउने, डेराउने, आक्रोसित हुने जस्ता व्यवहार देखाउन सक्छन् । यस्तो अवस्थामा स्वास्थ्य कर्मी वा आफन्तले उपयुक्त किसिमको भावनात्मक सहायता प्रदान गर्नुपर्दछ ।

६. बुझ्न सक्ने जेष्ठ नागरिकलाई आदरपूर्वक वास्तविक अवस्था र यसबाट बच्नका लागि उहाँहरूले अपनाउन पर्ने कुराहारुलाई छोटो सजिलो तरिकाले वताउने, निर्देशन  दिने गर्नुपर्दछ । जस्तै हात धुनुपर्ने कुरालाई बुझाउन भिडियो, चित्र वा आफू स्वयमले धोएर देखाएर बुझाउन सकिन्छ ।

७. दीर्घ रोगी भई नियमित औसधी सेवन गर्नुपर्ने भए त्यसको राम्रो प्रवन्ध गर्ने, उनीहरूको सहयोगी सामग्री आदिको व्यवस्था गर्नुका साथै आवश्यक परे अस्पताल वा स्वास्थ्य कर्मी सम्म पुर्र्याउनका अग्रिम व्यवस्था गरेको जानकारी पनि उनीहरुलाई गराउने जसले गर्दा उनीहरू सुरक्षित महसुस गरि दुक्क हुन सक्दछन् । 

८. बालबालिकालाई जस्तै जेष्ठ नागरिकलाई पनि सिर्जनशील क्रियाकलापहरू जस्तैस चित्र कोर्ने, नाच्ने, गीत गाउने र हल्का किसिमका व्यायामहरू गराउन सकिन्छ । 

यसरी हामीले कोरोनाको महामारीको अवस्थामा आफ्नो र आफूमा निर्भर अन्यको पनि शारीरिक स्वास्थ्यको साथै मानसिक स्वास्थ्यको पनि हेरचाह गर्नु हाम्रो दायित्त्व हो । 

 

 

(लेखक त्रिचन्द्र कलेजका क्लिनिकल साइकोलोजीका विद्यार्थी एवं मनोविमर्श दाता हुन्)

Last modified on 2020-04-04 12:08:52

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts