के हाइड्रोक्सीक्लोरोकुइन कोभिड १९ को लागि उपयुक्त हुन सक्छ?



Download our app to get more features

एजेन्सी । मलेरियाको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरोकुइनको कोरोनाभाइरसको उपचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रचार गरेपछि यसको बहस चिकित्सा जगतमा चुलिएको छ । एकथरीले उनी औषधि र स्वास्थ्यविज्ञ नरहेकाले यसरी कुनै अमुक औषधिको प्रचार गर्नु नितान्त गलत भएको सुझाएका छन् भने केहिले यसको कोभिड १९ का बिरामीमा सकारात्मक असर देखिएकाले प्रयोग बढाउनुपर्ने सुझाव पनि दिएका छन । चीन, फ्रान्स लगायत भारतमा पनि कोरोनाभाइरसको उपचारमा यो औषधि प्रयोग भएको र अध्ययन भइरहेको समाचार आइरहेका छन ।

के हो हाइड्रोक्सीक्लोरोकुइन?

दशकौं अघिदेखि मलेरियाको उपचारमा प्रयोग हुँदै आइरहेको यो औषधि लुपस, आर्थ्राइटिस आदिको उपचारमा पनि प्रयोग गरिन्छ । क्लोरोकुइन भनिने यहि समुहको अर्को औषधि पनि मलेरियाको उपचारमा प्रयोग हुन्छ ।

किन हाइड्रोक्सीक्लोरोकुइनलाई कोरोनाभाइरस उपचारमा प्रचार गरिएको छ?

केहि अध्ययनहरुमा मानव शरीरबाहिरको कोषिकामा क्लोरोकुइनले कोरोनाभाइरसलाई उक्त कोषभित्र छिर्न रोकेको देखाएको छ । यसले गर्दा उक्त कोषिका संक्रमण हुन पाउँदैन । तर शरीरबाहिर टेस्ट ट्युबमा गरिएको परीक्षण र शरीरमा हुने क्रियाकलाप फरक हुनेगर्छ। 

चीन र फ्रान्समा गरिएको अध्ययनले हाइड्रोक्सीक्लोरोकुइन कोरोनाभाइरसको उपचारमा सकारात्मक प्रभाव परेको देखाएको छ । तर ती अध्ययनमा विश्वास गरिहाल्नुपर्ने स्पष्ट आधारहरु छैनन, किनभने:

१.  ती उल्लेख गरिएका अध्ययनमा स्याम्पल साइज अथवा औषधिको प्रयोग गरिएको बिरामीको संख्या निकै कम छ । 

२. ती बिरामीहरुमा हाइड्रोक्सीक्लोरोकुइन बाहेक पनि अरु औषधिहरुको प्रयोग गरिएको थियो, त्यसैले यसले मात्र बिरामीको उपचारमा फाइदा गर्यो भन्न सकिन्न

३. कुनै पनि नयाँ औषधि वा उपचार प्रणालको प्रभावका वारेमा गरिने अध्ययनमा "कन्ट्रोल ग्रुप" लिइने गरिन्छ जसलाई औषधि प्रयोग गरिएको बिरामीसँग दाज्ने गरिन्छ। तर ती अध्ययनमा त्यसो गरिएको छैन ।

यसको उपचार प्रक्रियामा अध्ययन गरिरहेका वैज्ञानिकहरुकै एक समुहले उक्त अध्ययनले न्युनतम मापदण्ड पालना नगरेको बताएका छ्न् ।

के हाइड्रोक्सीक्लोरोकुइनले कोरोनाभाइरसको रोकथाम गर्न सक्छ ?

यसको निष्कर्ष निकाल्न अहिले यथेष्ट प्रमाणहरु जुटिसकेका छैनन । हाल यसबारेमा धेरै अध्ययनहरु विभिन्न देशहरूमा भइरहेको छ । धेरै बिरामीमा र धेरै अध्ययनहरुले निष्कर्ष निकालेपछि मात्र यसले गर्ने फाइदाबारे निर्क्योल गर्न सकिन्छ ।

Last modified on 2020-04-10 08:40:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts