थ्रोट स्वाब परीक्षण विधिमाथि शतप्रतिशत ढुक्क हुने अवस्था छैनः चिकित्सक



Download our app to get more features

जनकपुरधाम, २८ चैत । विश्वव्यापी महामारीको रुपमा निरन्तर रुपमा फैलिरहेको कोरोना भाईरसबाट अब नेपालपनि अछुतो छैन् । पछिल्लो तथ्यांकअनुसार नेपालमा ९ जना कोरोना संक्रमित रहेको पुष्टि भइसकेको अबस्था छ । 

त्यस्तै भारतीय सीमासँग नजिक हुनुका साथै वैदेशिक रोजगारीमा जानेहरुको संख्यासमेत बढी रहेकोले संक्रमणको हिसाबले प्रदेश २ लाई उच्च जोखिम क्षेत्रको रुपमा हेरिएको छ ।

यद्यपि हालसम्म यस प्रदेशमा अहिलेसम्म कोहीपनि कोरोना संक्रमित नरहेको सुखद पक्ष छ । प्रादेशिक अस्पताल जनकपुरसहित काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच भएका सबै नमून निगेटिभ देखिएको छ ।

कोरोना जाँच गर्न पीसीआर जडान भएपछि प्रादेशिक अस्पताल जनकपुरले २१ चैतदेखि परीक्षण सुरु गरेको छ । शुक्रबारसम्म प्रादेशिक अस्पताल जनकपुरमा ६१ जना कोरोनाका शंकास्पद व्यक्तिको स्वाब संकलन गरिएको छ । जसमध्ये ३८ जनाको रिपोर्ट आएको छ भने २३ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आउन बाँकी रहेका मध्ये २० जना धनुषा र तीनजना महोत्तरीको रहेको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण भएका सबै रिपोर्ट निगेटिभ छ । यसअघि टेकु र धरानमा परीक्षण भएका स्वाबका रिपोर्टहरु पनि निगेटिभ आएका छन् ।

यद्यपी शंकास्पद बिरामीको थ्रोट स्वाब परीक्षणको गति र विश्वसनीयतामाथि स्वयं चिकित्सकहरु नै सशंकित देखिएका छन् । जोखिमको हिसाबले प्रदेश २ उच्च रहेपनि कोरोना परीक्षणको गतिले कहिलेसम्म भ्याइने उनीहरुले चिन्ता व्यक्त गरेका छन् भने नमूना जाँच्ने विधि र रिपोर्टमाथि समेत शंका व्यक्त गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका कनसल्टेन्ट फिजिसियन डा.विपिन यादव शंकास्पदहरुको स्वाब परीक्षणको प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन् । अहिले आइरहेको रिपोर्टमा भर पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

स्वाब परीक्षणको विभिन्न तरिकामध्ये अहिले घाँटीबाट स्वाब निकालेर जाँच भइरहेको बताउँदै डा.यादव यो विधि ३३ प्रतिशतमात्र विश्वसनीय रहेको दाबी गरेका छन् । यसैगरी नाकको स्वाबबाट हुने परीक्षण ६६ प्रतिशत विश्वसनीय रहेको उनको भनाइ छ ।

अहिले अपनाइएको विधिबाट भरपर्ने अवस्था नरहेको भन्दै उनले ¥यापिड जाँच गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । शंकास्पद बिरामीको रगत लिएर ¥यापिड जाँच गर्नसकिए संक्रमितको पहिचान गर्न सहज हुने डाक्टर यादव बताउँछन् ।

कोरोनाको कुनै लक्षण नै नभएको व्यक्तिपनि संक्रमित भएको पाइएकोले निगेटिभ रिपोर्ट आउँदैमा ढुक्क भएर बस्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘नेपाल अहिले दोस्रो चरणमा प्रवेश गरिसकेको छ, अर्थात एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भएको छ,’ उनले भने,‘अब हामीसँग तेश्रो चरण अर्थात समुदायमा हुनसक्ने संक्रमण रोक्नु पर्दछ ।’ समुदायमा संक्रमण भए परिस्थिति भयावह हुनसक्ने भन्दै डा.यादवले परीक्षणको गतिलाई तिव्रता दिनुपर्ने बताउँछन् ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरका मेडिकल अधिकृत डा.अजय यादवपनि रिपोर्ट निगेटिभ आउँदैमा ढुक्क भएर बस्न नसकिने बताउँछन् । घाँटीको स्वाब लिएर हुने परीक्षण आफैमा शतप्रतिशत विश्वसनीय नरहेकोले निगेटिभ रिपोर्ट आएकाहरुलाई थप केहीदिन क्वारेन्टाइनमै राख्नुपर्ने उनको सुझाव छ । ‘निगेटिभ रिपोर्ट आएको छ भन्दैमा शंकास्पदलाई तत्काल घर पठाउन मिल्दैन,’ उनले भने,‘थप केहीदिन क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएमात्र घर पठाउनुपर्ने देखिएको छ ।’

प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालन भएको फिभर क्लिनिकको जाँचबाट समेत उनी सन्तुष्ट छैनन् । शंकास्पद बिरामीसँग सोधपुछ गरेरमात्र जाँच भइरहेको भन्दै डा.यादवले यति प्रक्रियामात्र पर्याप्त नरहेको बताए । ‘फिभर क्लिनिकमा जाँच गर्ने चिकित्सकहरुसँग पीपीईलगायतका आवश्यक पोशाक छैन, हामीले बिरामीलाई स्ट्रेथोस्कोप लगाउन सकेका छैनौं,’ उनी भन्छन्, ‘फिभर क्लिनिकपनि औपचारिकता मात्र भएको छ ।’

आजदेखि र्यापिड टेस्ट सुरु
प्रदेश २ मा आजदेखि र्यापिड टेस्ट सुरु भएको छ । संघीय सरकारले किट पठाएपछि शुक्रबारदेखि प्रदेश २ मा ¥यापिड टेस्ट सुरु भएको हो । ¥यापिड टेस्टपछि कोरोना संक्रमितको पहिचान गर्ने प्रक्रियामा तीव्रता आउने चिकित्सकहरुको विश्वास छ । 

संघीय सरकारले प्रदेश २ लाई पाँच हजार थान किट उपलब्ध गराएपछि आजदेखि र्यापिड टेस्ट सुरु गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । 

र्यापिड किटमार्फत गरिने परीक्षणमा पोजेटिभ रिपोर्ट देखिए कन्र्फमेसनका लागि स्वाब पीसीआरमा पठाइने उनले बताए । कोरोनाका शंकास्पद व्यक्तिको रगत लिएर परीक्षण गर्ने ¥यापिड टेस्टले तत्कालै परिणाम दिने भएकोले कोरोना संक्रमितको पहिचान गर्ने कार्यले तीव्रता पाउने झाले बताए ।

Last modified on 2020-04-10 14:10:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts