सरकार, करार र छात्रवृत्ति होइन, तुरुन्त फास्टट्रयाकबाट स्थाई दरबन्दी खुलाउ !  



Download our app to get more features

अहिले पुरै संसार आँखाले नदेखिने सुक्ष्म जीव कोरोना भाइरसविरुद्धको महामारीसँग लडिरहेको छ । लाखौं मानिस संक्रमित भएका छन् भने यसबाट मृत्यु हुनेको संख्या पनि उत्तिकै मात्रामा बढीरहेको छ । यो महामारीले हामी सबैलाई स्वास्थ्य क्षेत्र कति महत्वपूर्ण रहेछ र यसमा लगानी गर्नु किन आवश्यक रहेछ भनेर प्रष्ट पारिदिएको छ । सुखद् संयोग मान्नुपर्छ अहिलेसम्म हाम्रो देश नेपालमा यसले भयावह रुप लिएको छैन । ढुक्क हुने अवस्था भइन सकेकाले हामीले यस महामारीबाट देशलाई जोगाउन गरिने तयारीमा अझै पनि कुनै कसर बाँकी राख्न हुन्न । 

यस सुक्ष्म जीवविरुद्धको महामारीमा लडाइ जित्नको लागि महत्वपूर्ण भूमिका अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मीहरूको नै छ । पुग्दो मात्रामा स्वास्थ्यकर्मी, उनीहरूको सुरक्षाकवचको उचित प्रबन्ध र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न हौसला र प्रोत्साहानले मात्र उनीहरूले यो लडाइमा आफ्नो शतप्रतिशत परिणाम दिन सक्छन् । भारी मन लिएर भन्नैपर्छ हाम्रो देशमा कोरोना भाइरसविरुद्धको यो लडाइमा लड्न भनेर तयार भएर बसेका चिकित्सकहरूको न मनोबल उच्च छ न उनीहरूमा कुनै त्यस्तो उर्जा छ । एउटा कमजोर र गलित सिपाहीले युद्धमैदानमा कसरी आफ्नो शत्रुलाई परास्त्र गर्न सक्छ ?

स्वास्थ्यकर्मीको मनोबल बढाउन हामी किन चुकिरहेका छौ ?
बिरामीको उपचार र सेवा नै स्वास्थ्यकर्मीको धर्म हो । यसकै लागि उनीहरूले व्यक्तिगत जीवन समर्पित गरेका हुन्छन् । अझ यस विषम परिस्थितिमा कार्यरत स्वास्थ्यकर्मीले ज्यानकै पर्वाह नगरी दिलोज्यानले खटिइरहेका छन् । तर हामी उनीहरूको हौसला र मनोबल बढाउनुको सट्टा बर्खास्ती र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिइरहेका छौं । 
पर्याप्त र सुरक्षित पिपिई बिना उपचारमा लागिरहेका स्वास्थ्यकर्मीलाई सम्भावित संक्रमणको डर एकातिर छ भने समाजमा उनीहरूलाई हेय भावले हेर्ने र कतिपय अवस्थामा घरभाडाबाट समेत निकालिएको समाचारले सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल गिराएको छ । अकार्कोतिर कठिन परिस्थितिमा काम गरिरहेकाहरूमाथि केही मिडियाको एकोहोरो प्रहार र भ्रमपूर्ण रिपोर्टिरूले मानिसमा नकारात्मक सन्देश फैलाइरहेको छ । ताकी स्वास्थ्य क्षेत्रमा रहेका सम्पूर्ण विकृति र विसंगति तिनै स्वास्थ्यकर्मीहरूको कारण भएका हुन् । सरकार, सर्वसाधारण र सरोकारवाला निकायहरूबाट भइरहेका यस्ता हतोत्साहीपूर्ण गतिविधिले निश्चय नै स्वास्थ्यकर्मीलाई थप कमजोर बनाउनेछ र हामी यस सुक्ष्म जीवविरुद्धको लडाइमा जीत हाँसिल गर्न सक्दैनांै ।

करार र छात्रवृत्तिमा पढेकाहरूले मात्र देशको स्वास्थ्य कतिन्जेल धान्ने ?
कोरोना भाइरस संक्रमण देखिन थालेपछि नेपाल सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न विभिन्न उपाय अपनाउन थाल्यो । केही अस्पताल र मन्त्रालयले तीन महिनाको लागि करारमा ‘आवश्यक नपरेको खण्डमा जुनसुकै समय करार सम्झौता खारेज गर्नसक्ने’ आशयका विज्ञापनहरु निकालिए । पर्याप्त आवेदन नपरेपछि छात्रवृत्तिका चिकित्सक परिचालन गर्ने र छात्रवृत्तिमा पढ्दै गरेका विध्यार्थी समेत खटाउने भन्ने हास्यास्पद खबरहरु बाहिर आए । 

चैत अन्तिममा दुई वर्षे छात्रवृत्ति करार सकिने करिव दुई सय चिकित्सकको कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट निर्णय गर्न नसकेको सरकारले अहिले फेरि सरकारी अस्पताल र प्रतिष्ठानहरूमा एमडी र एमएस अध्ययन गरिरहेका चिकित्सकलाई कोरोना उपचारको लागि खटाउने भनेर समाचार आइरहेको छ । भर्खरै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि ठूलो संख्यामा करारमा स्वास्थ्यकर्मी नियुक्ति गर्न आवेदन माग गरेको छ । 

चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापनमा हामी कति कमजोर छौं भन्ने यसैबाट प्रष्ट हुन्छ । देशभरका अस्पतालमा हाल मुस्किलले १५ सय स्थाई चिकित्सक छन् । तथ्यांकमा हेर्ने हो भने एक लाख जनसंख्यालाई जम्मा पाँच जना सरकारी चिकित्सक छन् । हाल कार्यरत कुल चिकित्सकहरू मध्ये केवल १० प्रतिशत मात्र सरकारी सेवामा छन् ।
हालसालै ज्वरो आएका बिरामीको उपचार गर्न निजी अस्पतालहरू पन्छिएको घटनाक्रमले पुष्टि हुन्छ कि निजी अस्पताल र स्वास्थ्य संस्था भनेका केवल देशको स्वास्थ्य प्रणालीमा सहायक हुन् र प्रायः व्यापारिक मुनाफाका निम्ति सञ्चालन भएका छन् । देशको स्वास्थ्य अवस्था मजबुत बनाउन सरकारी अस्पतालहरूलाई सुविधासम्पन्न बनाउने, सरकारी सेवामा जनशक्ति बढाउने र साधनस्रोत थप्नुको विकल्प छैन ।    

दुई वर्षदेखि स्वास्थ्यमा लोकसेवा र स्थाई नियुक्ति खुलेको छैन र मन भएरै पनि धेरै चिकित्सक सरकारी स्वास्थ्य सेवामा प्रवेश गर्न पाएका छैनन् । धेरै साथीभाई देशमा यस्तै सिमित अवसरका कारण अमेरिका र बेलायत जाने परीक्षाको तयारी गरिरहेका छन् । म जस्तो यही देशकों सेवा गर्ने भनेर बसेका हजारांै युवा चिकित्सक नेपालकै एमडी र एमएस परीक्षाको तयारीको निम्ती जागिर छोडेर घरमै बसिरहेका छौं । यस विषम परिस्थितिमा देशलाई हाम्रो आवश्यकता छ र सेवा गर्न हामीलाई पनि मन छ । तर केही महिना करारमा काम गर र त्यसपछि फेरि आफ्नै बाटो लाग भन्ने हिसाबले होइन ।

सरकार, कृपया अहिलेको अफ्ठ्यारो परिस्थतिमा चिकित्सक तथा अन्य आवश्यक स्वास्थ्यकर्मीहरूलाई फास्ट ट्रयाकमार्फत स्थाई नियुक्ति दिने तरिकाले आवेदन खुलाएर तुरुन्त आवश्यक जनशक्तिको जोहो गर्ने व्यवस्था होस् । यसको निम्ति कानुनी वा नीतिगत जटिलता होलान तर यो विशेष परिस्थतिमा पक्कै पनि असम्भव भने हैन ।

महामारी देशको स्वास्थ्य सेवा सुधार्ने अवसर बन्न सक्छ
यो महामारी देशको स्वास्थ्य सेवा र प्रणाली सुधार्ने अवसर पनि हो । चिकित्सक र स्वास्थ्यकर्मी केवल महामारीको लागि मात्र आवश्यक पर्ने भन्ने हैन । यो न्यून संख्यामा रहेका सरकारी चिकित्सक र स्वास्थ्यकर्मीको संख्या बढाएर देशको स्वास्थ्य प्रणाली र सेवा प्रहाव सुधार्ने सुनौलो मौका पनि हो । 

हरेक गाउँमा स्थानीय सरकार र जनप्रतिनिधिको संख्या त्यति धेरै मात्रामा राख्दा जनताको आधारभूत आवश्यकतासँग जोडिएको स्वास्थ्यमा जनशक्ति खोइ ? बेला बखतमा खोलिने तीन महिने करार र दुई वर्षे छात्रवृत्तिवालाहरूले मात्र कतिन्जेल देशको स्वास्थ्य क्षेत्रको जिम्मा दिइ रहने ?
त्यसैले, सरकार यो कठिन अवस्थामा केही महिने करार, छात्रवृतिका चिकित्सक वा एमडी र एमएस पढिरहेका चिकित्सकहरूमा अल्झिएर बस्नुभन्दा आवश्यक स्वास्थ्यकर्मी स्थाई दरबन्दीको लागि आह्वान गर । आवश्यक तालिम र पिपिईको व्यवास्था गरेर उच्च मनोबलका साथ स्वास्थ्यकर्मीलाई मैदानमा खटाउ । यसले यो महामारी जित्न मात्र होइन कालान्तरमा देशको स्वास्थ्य जनशक्ति र प्रणाली सुधारमा पनि कोसेढुंगा सावित हुनेछ । हामी सबै चिकित्सक र स्वास्थ्यकर्मी त्यसको निम्ती तयार छौं ।
 

Last modified on 2020-04-11 14:46:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts