चिकित्सकले फेरि लाइसेन्स दर्ता गर्नुपर्ने 

What's This?


Download our app to get more features

चैत ३, काठमाण्डौं । पछिल्लो समय नक्कली चिकित्सकहरुले सेवा दिइरहेको फेला परेपछि चिकित्सा क्षेत्रलाई सन्तुलित रूपमा परिचालन र स्तरीय सेवाका लागि नेपाल मेडिकल काउन्सिलले उनीहरूको लाइसेन्स पुनः दर्ता गर्ने तयारी गरेको छ । 


सुविधाका कारण सहरी क्षेत्रमा आवश्यकभन्दा बढी चिकित्सक खटिने र भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा नपुगेर बिरामीहरु प्रभावित हुने समस्याका कारण काउन्सिलले चिकित्सकहरुको विवरण अध्यावधिक गर्न लागेको हो । 


काठमाण्डौंलगायत सुविधासम्पन्न शहरमा मात्र चिकित्सकहरु केन्द्रीत हुँदा दुर्गम क्षेत्रका बिरामीको ज्यान जोखिममा परिरहेका बेला काउन्सिलले चिकित्सकको विस्तृत विवरण संकलन गरी स्वास्थ्य मन्त्रालयलाई घच्घचाउन सहज हुने जनाएको छ । 


नेपालमा कति चिकित्सक कुन कुन स्वास्थ्य संस्थामा छन् र उनीहरूको सेवाको अवस्था कस्तो छ भन्ने तथ्यांक र जानकारी नहुँदा स्वास्थ्य क्षेत्रमा सरकारीस्तरबाट आयोजना गरीएका महत्वपूर्ण कार्यक्रमहरु प्रभावकारी बन्न सकेका छैनन् ।  


लाइसेन्स पाएर पनि काम नगरेका, विदेशमा पुगेर सेवा दिइरहेका र मुलुकभर छरिएर सेवा प्रदान गरीरहेका चिकित्सकहरूको लाइसेन्स अनलाइनमार्फत् पुनः दर्ता गर्न लागिएको काउन्सिलले जनाएको छ । 


काउन्सिलले लाइसेन्स पुनः दर्ता गर्ने क्रममा राष्ट्रिय अनुसन्धान ब्युरो, स्वास्थ्य मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र काउन्सिलमा उजुरी परेका चिकित्सकको योग्यता प्रमाणपत्रमाथि पनि छानबिन गरिने भएको छ ।


काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले आगामी वैशाखदेखि ६ महिनाभित्र काम सक्ने गरी सरल र सहज रूपमा चिकित्सकको लाइसेन्स पुनः दर्ता गरिने जानकारी दिए । 
उनले उजुरी परेका चिकित्सकहरुको छानबिनका लागि पनि पुन दर्ताले सहज बनाउने डा. शर्माले बताए । 


स्थायी लाइसेन्स पाएका चिकित्सकले जुनसुकै स्थानमा रहेर सेवा दिइरहेपनि आफ्नो नाम, योग्यता, विशेषज्ञ कार्यरत स्वास्थ्य संस्था, ठेगानालगायतको जानकारी तोकिएको मितिभित्र अनलाइनमार्फत काउन्सिलमा पठाउनुपर्ने छ । 


पुनः दर्तासँगै सम्पूर्ण चिकित्सकहरुको यकिन तथ्यांक पत्ता लगाउन सजिले हुने रजिष्ट्रार डा. शर्माले बताए । उनले भने, ‘नेपालमा अध्ययनपछि काम नगरेका, विदेशमा रहेका र छरिएर सेवा प्रदान गरीरहेका चिकित्सकहरुको अवस्था पत्ता लगाउन सकिन्छ ।’


चिकित्सकहरु पुन दर्ता भएपछि मुलुकभर चिकित्सकलाई सन्तुलित रूपमा परिचालन गर्न सरकारलाई सहज हुने काउन्सिलको बुझाइ छ । नेपालमा हाल कार्यरत अनुमानित १७ हजार चिकित्सकको योग्यता प्रमाणपत्रमाथि एकएक गरी छानबिन सम्भव देखिँदैन । 


‘सम्बन्धित निकायमा उजुरी परेका चिकित्सकको शैक्षिक योग्यतामाथिको छानबिन गर्न सहजु हुने बिस्वास लिएका छौं ।’ उनले भने, ‘नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेहरुर्लाइ पनि कारवाहीको दायरामा ल्याउन सजिलो हुन्छ ।’ 


अहिलेसम्म नक्कली प्रमाणपत्र भेटिएका १४ जनामध्ये १२ जना चिकित्सकलाई नियन्त्रणमा लिएर छोडिएको छ । फितलो कानुनी व्यवस्थाका कारण नेपालमा नक्कली प्रमाणपत्रधारी चिकित्सकको संख्या दिनहुँ बढ्दै गएको छ । उचित कानुनी व्यवस्था नभएकाले जीवनमरणको दोसाँधमा पुगेका बिरामीको स्वास्थ्यमाथी खेलवाड गर्ने चिकित्सकलाई पनि काउन्सिलले कारवाही गर्न सकेको छैन । 


पछिल्लो समय लाइेसेन्सिङ परीक्षामा सहभागी नक्कली विद्यार्थीलाई समेत कमजोर कानुनका कारण छोडिएको छ । 

Last modified on 2016-03-16 13:15:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts