किन आउँछ र्यापिड किट र पीसीआरमा कोरोनाको फरक नतिजा ?



Download our app to get more features

हाल कोभिड–१९ परीक्षणमा र्यापिड किट र पीसीआर रिपोर्टमा फरक नतिजा आएको विषय बहसमा   छ । नेपाल सरकारले विदेशबाट फर्केकाहरुमा र्यापिड किटद्वारा परीक्षण सुरु गरेपछि केही पोजेटिभ देखिएकोमा पछि पीसीआरबाट गर्दा नेगेटिभ देखिएको र र्यापिड टेस्टमा नेगेटिभ देखिएकोमा पनि पछि पोजेटिभ देखिएको समाचार आएपछि यसले केहि भ्रम उत्पन्न गराएको छ । 

के हो पीसीआर र र्यापिड टेस्ट गरिने विधि ?
पीसीआर टेस्टः
पीसीआर प्रविधीद्वारा गरिने टेस्टमा संक्रमण गराउने जीवाणु वा जीवाणुको कुनै भाग शरीरमा रहेको नरहेको परीक्षण गरिन्छ । जस्तै कोरोना भाइरसको परीक्षण गर्दा नाक, मुख वा स्वासप्रस्वास नलीबाट नमुना लिएर त्यो नमूनामा भाइरस रहेको वा नरहेको परीक्षण गरिन्छ । भाइरस स्वासप्रस्वास नलीबाट नै शरीरमा प्रवेश गर्ने हुनाले यो टेस्ट सुरुको केहि दिनमै पोजेटिभ देखिने हुन्छ ।

र्यापिड टेस्टः र्यापिड टेस्ट नामअनुसार नै चाडो रिजल्ट निकाल्न धेरै जनामा छोटो र छरितो  तरिकाले संक्रमण भएको छ कि नाइँ भनेर थाहा पाउन प्रयोग गरिने टेस्टको एक तरिका हो । यो दुई किसिमले गरिन्छः शरीरमा रहेको एन्टीजेन वा एन्टीबडी मापन । एन्टीजेन र्यापिड टेस्ट को नतिजा चाडै आउने भएपनि एन्टीबडीबाट आउने नतिजा आउन समय लाग्छ । किनकी हाम्रो शरीरले भाइरस वा कुनै जीवाणु विरुद्दको एन्टीबडी बनाउन र त्यो टेस्टमा देखिन ७ देखि १० दीन लाग्छ । अहिले नेपाल सरकारले हाम्रो देशमा प्रयोग गरिरहेको र्या्पिड टेस्ट एन्टीबडीमा आधारित किट भएको बताइएको छ ।  

र्यापिड र पीसीआर टेस्टको मुल्यांकन कसरी गर्ने ?
अहिले नेपाल सरकारले प्रयोग गरिरहेको र्यापिड टेस्ट किटमा आएको नतिजाको मुल्यांकन यसरी गर्न सकिन्छः

यदि र्यापिड र पीसीआर दुवै पोजेटिभ आएमाः भाइरस शरीरमा सक्रिय अवस्थामा रहेको छ र हाम्रो शरीरले पनि त्यस विरुद्द लड्ने कोशिस गरिरहेको छ । यो अवस्थामा विरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छन् ।

र्यापिड टेस्ट नेगेटिभ आएमा र पीसीआर पोजेटिभ आएमाः यो अवस्थामा पनि भाइरस शरीरमा सक्रिय रहेको हुन्छ र यो रोगको सुरुवाती चरण हो जसमा हाम्रो शरीरले एन्टीबडी यथेस्ट  मात्रामा बनाइसकेको हुँदैन । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छन् ।

यदि र्यापिड टेस्ट पोजेटिभ आएमा र पीसीआर नेगेटिभ आएमाः यो अवस्थामा भाइरसको सक्रियता कम भएको हुन्छ र हाम्रो शरीरको रोगमाथि लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । भ्याक्सिन लगाएको अवस्थामा वा केहि पहिले संक्रमण भएमा यो अवस्था देखिन सक्छ । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्ने सम्भावना निकै कम हुन्छ  ।

र्यापिड र पीसीआर दुवै टेस्टको आफ्नै फाइदा र बेफाइदा छन् र दुवै शतप्रतिशत सही भन्ने हुँदैन । नमूना संकलन गर्ने तरिकादेखि परिक्षण गर्ने विधिसम्म सबै कुराले आउने नतिजामा फरक पारिरहेको हुन्छ । यसलाई बिरामीको लक्षण, अवस्थाआदि सबैकुरासँग तुलना गरेर मात्र रोग भएको नभएको यकिन गर्न सकिन्छ ।

Last modified on 2020-04-15 09:51:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts