कोरोना कहरः हामी कहाँ छौं ? भोलि कहाँ र भविष्यमा कसरी अगाडी बढ्ने ?



Download our app to get more features

 हामी कहाँ छौं ? नेपालमा नयाँ वर्षको दोस्रो दिनसम्म आईसक्दा १६ जना कोरोना संक्रमित व्यक्ति देखिएका छन् भने विश्वमा १९ लाख ९९ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएकोमा ४ लाख ७८ हजारभन्दा बढी उपचार पश्चात नयाँ जीवन पाएर घर फर्किसकेका छन् । बाँकी १ लाख २६ हजारभन्दा बढी मानिस यो संसारबाट सदाका निम्ति बिदा भईसकेका छन् । 

कोरोनाका कारण विश्वमा उच्च मृत्युदर भएका केहि मुलुकहरु यस प्रकार छन् :
अमेरिकाः ६ लाख बिरामीमा २८,३००
इटलीः १,६२,४८८ बिरामीमा २१,०००
स्पेनः १,७२, ५४१ बिरामीमा १८,०५६
फ्रान्सः १,२२,४११ बिरामीमा १५,७४८
लण्डनः ९४,८४५ बिरामीमा १२,१२९
बेल्जियमः ३१,११९ बिरामीमा ४,१५७

यी उच्च मृत्यदर भएका प्रायः सबै मुलुकहरु विज्ञान, वित्तिय अवस्था र विकासको उच्च बिन्दुमा पुुगिकन पनि कोरोनाको नराम्रो चपेटामा परेकोमा सामान्य किसिमले बादविवाद र तर्कवितर्क भईरहन्छन् । चीन र दक्षिण कोरियाको सामाजीक दुरी, निषेध व्यवस्था, भाईरसको तदारुकताका साथ परीक्षण र उपचार व्यवस्था उच्च कोटिको रह्यो भन्ने कुरा सर्व विदित नै छ । त्यसैले एक प्रकारले यी मुलुकहरु यसको नराम्रो मारबाट सजिलै उम्कन सफल भए ।  यद्यपि चीनमा नयाँ बिरामीहरु दिनहँु विस्तारै बढ्ने क्रममा छन् । यो विश्वको निम्ति ठुलो चासो र चिन्ताको विषय भएको छ । 

ईटली, स्पेन, फ्रान्स र लण्डन नराम्रोसँग प्रभावित भएका छन् । बेल्जियम र स्विडेन जस्ता मुलुकको अवस्था हेर्न बाँकी नै छ । यी देशमा सामाजीक दुरी र निषेध त्यति कडाईकासाथ लागु भएको देखिएन । डेनमार्क, फिनल्याण्ड र नर्वे बाहेक नेदरल्याण्ड, स्विडेन, हंगेरी र अन्य कतिपय युरोपेली मुलुकहहरुले यी उपायलाई खासै महत्व दिएको देखिदैन । स्विडेनका प्रशासकहरु स्विडेनबासिहरु आफै सुझबुझका साथ बसिरहेको छु भनेर गर्व गर्दछन् । यो त समयले देखाउने कुरा हो । कुनै दिन अमेरीकामा पनि यस्तै भनिन्थ्यो । 

छिमेकि मुलुक भारतमा भएका प्रयासहरु अत्यन्त सराहानियन छ । केहि अपबाद बाहेक बाँकी राम्रै भएको देखिन्छ । यी अपबाद र ठुलो देश भएको कारणले भोलि समस्या सम्हालि नसक्ने किसिमको हुन्छ कि भन्ने कसैकसैको आशंका भएतापनि सरकारले हालसम्म चालेको कदमले त्यो देखाउदैन । यसले नेपाललाई पनि प्रत्यक्ष र अप्रत्यक्ष दुवै किसिमले निकै फाईदा पु¥याउन सक्दछ ।
 
अर्काे छिमेकि मुलुक बंगलादेशमा करिव १० लाख शरणार्थी बसेको क्याम्पबाट १ घण्टाको दुरीमा कोरोना पोजिटिभ देखिएकोमा सबै चिन्तित थिए । तर, रोकथामका प्रयास सार्थक नै भएको देखिन्छ ।
 
नेपालमा सरकारी आंकडाहरु हेर्दा अहिलेसम्मको स्थिती सन्तोसजनक देखिन्छ । तर, कोरोनाभाईरसको परीक्षण गर्ने काममा प्रयोग गरिएका टेष्ट किटहहरुको विषयमा सामाजीक सञ्जालण्हरुमा आएका राय प्रतिक्रिया देख्दा भोलि अकस्मात यी मध्ये कतिपयमा कोरोना देखिनेत होईन ? भन्ने प्रश्नपनि उत्तिकै उब्जिएको छ । उसो तोे अवस्थामा आशा गरौ सवै नेगेटिभ नतिजा सहि नै होलान् । नत्र त कोरोनाको बम एकदिन नेपालमा नपड्किएला कसरी भन्नु । फेरी त्यो कसले आएर सम्हालिदेला ?

विस्तारै तातो मौसम सुरू भएकोले विश्वमा अधिकांश मानिस यो समस्याबाट राहत पाईएला कि भत्रे सोचमा रहेको देखिन्छ । तर, वैज्ञानिकहरू भने खासै स्पष्ट हुन सकेका छैनन् । ईम्पेरीयल कलेज अफ लण्डनका प्राफेसर पल किलाम भन्छन्ः यो भाईरसको प्रकोपको समयमा एउटा अत्यन्त महत्वपूर्ण कुरा के छ भने तपाईंले जे गर्न सोच्नु भएको हो त्यो गरि हाल्नुहोस, किनकि समय यति छिटो गइरहेको हुन्छ कि तपाईं अलिकति पनि ढिलो गर्नु भयो भने तपाईले भन्न खोजेको कुरो पुरानो र महत्वहिन भईसकेको हुन्छ । 
 
वास्तवमा हालका दिनमा देखिएको कोरोना कहर सम्बन्धी जानकारीहहरु वैज्ञानिकहरूले जुन द्रुत गतिमा उपलब्ध गराए त्यति नै द्रुतगतिमा फेसबुक, ट्वीटर र अनेकौं स्थानिय सञ्चार माध्यमहरुबाट आम जनमानसमा पुगेको यो एक प्रकारले राम्रै देखिन्छ । यस्तो बेलामा विभिन्न किसिमले धमिलो पानीमा माछा मार्नेहरुको संख्या पनि कम हुँदैन । तर, यो त कुनै पनि समय र कुनै पनि विषयमा भई नै रहन्छ । यी सबैप्रति चनाखो हुनु हामी सबैको एउटा मुख्य कर्तव्य नै हुन आउछ । यो होस् या अरु कुनै यस्ता बेलामा सहि जानकारीको निम्ति भरपर्दा स्रोतमा हाम्रो ध्यान जानु जरुरी छ ।
 
हालमा वैज्ञानिकहरुको प्रयास तत्कालका निम्ति कुनै औषधिको आविष्कार, भ्यक्सिनको विकास, प्रतिकारात्मके उपायको निम्ति एन्टिबडिजको प्रयोगको परीक्षणमा केन्द्रीत छ । तैपनि तत्कालका निम्ति विश्वका अधिकांस मुलुकमा हालसम्म अत्यन्त प्रभावकारी देखिएको सामाजीक दुरी, स्वदुरी र नीषेधिय आवास जस्ता उपायहरु जुन सामान्य व्यक्तिले पनि सजिलै गर्न सक्छन् । यस्ता उपायहरु गम्भीर रुपमा अनुसरण गर्नु नै उत्तम देखिएको छ । किनकि भ्याक्सिन सबैभन्दा उत्तम उपाय भएतापनि हालको सोचाईमा कोरोना भाईरसको भ्याक्सिन कम्तिमा पनि अर्काे एक वर्ष लाग्ने देखिन्छ । औषधिको पनि खासै सम्भावना नजिकमा देखिँदैन । 

आईसल्याण्डका डा.कारी स्टेफयानसन् आफुले त्याहाँ ४० विभिन्न प्रजातिका कोरोना भाईरस पाएको र अन्य वैज्ञानिकले विश्वका विभिन्न मुलुकमा ३ विभिन्न प्रकारका कोरोना भाईरसबाट संक्रमण भईरहेको बताएका छन् । तैपनि यस अवस्थामा पनि भ्याक्सिन उत्पादन प्रकृयालाई त्यहि अनुसार मोड्न सकिने भएकोले वैज्ञानिकहरुले यसलाई खासै समस्याको रुपमा हेरेका छैनन् । तर, यो भाईरस कुनै न कुनै रुपमा हामीबीच यथावत रहिरहने हुनाले हाम्रा रोकथामका प्रयासमा हामीले कुनैपनि बहानामा हेल्चक्र्क्याई गर्नु भने नहुने उनीहरुको भनाइ छ । 

अष्ट्रेलिया, ब्राजिल र गिनी बिसाउका वैज्ञानिकहरूको अनुभवमा क्षयरोग विरुद्घ दिइने बिसिजी खोपले फोक्सोमा हुने निमोनिया जस्ता रोगलाई कम गराउने र बच्चाहरूमा यसबाट मृत्यु कम भएको देखिएकोमा यसक्षेत्रमा अरू थप अनुसन्धानको कार्य भइरहेको जानकारी दिँदै उनीहरू सतर्क गराउँदछन् कि ूयस्लाई कोरोना भाईरसको उपचार अथवा रोकथामको भरपर्दाे उपायको रूपमा लिईनु हुत्रू, सामाजीक दुरी र नाक मुखबाट हुने संक्रमणको रोकथाममा हामीले गम्भीर रुपमा उपयुक्त फेस मास्कको प्रयोग यथावत गरि राख्नै पर्दछ । यसमा अलिकति पनि हेल्चक्र्याई गरेमा नतिजा नराम्रो निस्कन सक्छ ।

औषधिको प्रयोगको सन्दर्भमा हालसम्म कोरोनाको उपचारकै निम्ति खासै कुनै ठोस औषधि कहिं प्रयोगमा आएको देखिदैन । फ्रान्समा घरमैे ३ जनाले सम्भवतः औलोको उपचारमा प्रयोग गरीने क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन र एचआइभी विरुद्ध केहि औषधिे प्रयोग गर्दा मृत्यु भएको र कोरोना संक्रमणको लक्षण देखिए पश्चात अन्य ३० जनाले हाइड्रोक्सिक्लोरोक्विन आफैले प्रयोग गर्दा मुटु सम्बन्धी गम्भीर समस्या देखिएकोले युरो समाचारका अनुसार फ्रान्सका एनएसएम ड्रग एजेन्सीका प्रमुख डोमोनिक मार्टिनले यी अवस्थामा यी औषधिको प्रयोगमा सतर्कता अपनाउन सुझाव दिएका छन् । संयुक्त राज्य अमेरीकाले भने हाल औलो सम्बन्धी यी दुवै औषधि औलोको उपचारमा प्रयोगमा ल्याउन पाईने तर कोरोनाकोे उपचारमा भने हाल एफडिएबाट ठुलो परीमाणमा अध्ययनको व्यवस्था भईरहेकोले कोरोनाका बिरामीहरुमा प्रयोगमा नल्याउन सुझाव दिएको छ । औषधिको सवालमा यो मानिसको ज्यान, अर्थ स्थिती र अन्य बहुआयामिक विषयसँग सम्बन्धीत भएकाले वैज्ञानिकहरु हतारमा अगाडी बढ्न चाहेको देखिँदैन । 

भोलि कहाँ ?  यो भाईरसको वर्तमान प्रकोप माथी उल्लेखित जानकारीका आधारमा अब हामीले भोलि कुन उपाय अपनाएर यसको संक्रमणबाट बच्दै, आफ्ना दैनिकी र आर्थिक स्थिती यथावत रुपमा सञ्चालन गर्दै कसरी जाने भन्ने प्रश्न टड्कारो रुपमा उठ्दछ । यसमा पनि वैज्ञानिकहरु सतर्क गराउँदछन् कि यो भाईरस त त्यति सजिलै बिदा हुनेवाला छैन । किनकि चिन त्रसित हुन थालेको छ । यद्यपि हालका कोरोना बिरामीमा झण्डै ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत मात्र स्थानीय रुपमा संक्रमण भएका हुन् । जे होस चीनमा साहस, सामर्थ र गतिलो उदाहरण ताजा छ । त्यति डराउनु नपर्ला । छोटकरिमा भन्नु पर्दा हामीमा कारोना संक्रमण केहि ढिलै भएको देखिएकोले सफल उदाहरण भएका मुलुकबाट हामीले सिक्ने धेरै ठाँउ छ । केवल ढिलो नगरी तदारुकता र पूर्ण ईमान्दारीताका साथ अघाडि बढ्नु सायद आजको एउटा उत्तम विकल्प हो । 

भविष्यमा कसरी अघाडि बढ्ने ? यो प्रश्न उठ्छ, लकडाउन भईरह्यो, खेतिपाति के गर्ने, गाईवस्तु कहिलेसम्म यसरि पाल्ने, तयारी भएको सागसब्जि बजार कसरि पु¥याउने ईत्यादि हामीले अहिले भोगिरहेका अप्ठ्यारा कसरी समाधान गर्ने । ठोस उपाय बिनाका लकडाउन कतिञ्जेल चलाउने यसमा राम्ररी विचार पुर्याउनु जरुरी देखिन्छ । सबै क्षेत्रमा यसले पुर्याउने कठिनाईलाई दृष्टिगत गर्दै माथिका उदेश्य प्राप्ति कसरी हुन्छ र त्यसका निम्ति के व्यवस्था कसले गर्ने र ती व्यवस्था कत्तिको व्यवहारिक हुन्छ भन्ने कुरामा गम्भीर हुनु जरुरी छ । यी सबै त्यसबेला सम्भव हुन्छ जब यसमा सरकार, राष्ट्रसेवक, सामाजीक अगुवाहहरु तथा आम नागरिकको उत्तिकै सकारात्मक, अन्वेसात्मक र प्रवर्तनात्मक विचारहरुको प्रस्फुटन हुन्छ । भोलिको व्यवस्था गर्दा निश्चित रुपले आमजनता संक्रमणबाट बच्ने, उनीहरूले सरकारका निर्देशन पालना गर्दै आफ्नो दैनिकी चलाउन सक्ने र पारीवारिक आर्थिक स्थितीलाई बनाईराख्न सक्ने उपायहरूको अबलम्वन गर्ने व्यवस्था हुनु पर्दछ । हामीलाई गाह्रो भयो, नोक्सान भयो, मानसिक समस्या भयो भन्ने जस्ता विभिन्न प्रश्नहरु बराबर आउने गरेका छन् । यसो सोच्नुहोस्, यी उपाय कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा सानो एउटा उदाहरण : हाम्रो मुलुकमा अनेकौ फलफुल र सब्जिहरु पाईन्छन् । अहिले तत्काल नभएतापनि केहि दिनमा वा मौसममा केरा, आँप, भईकटहर, जुम्ला हुम्लामा स्याउ, काठमाडौंमा हलुवाबेद, नास्पाती, आरुवखडा आदी अनैकौ फलफुलहरु र आलु , काउली र सडेर जाने अरु कतिपय सब्जिहरू पर्याप्त मात्रामा फल्दछन् । यदि यी मध्ये केहि फलफुलजो अहिले उपलब्ध छन् र सडेर जाँने अवस्थामा छन् भने लकडाउनको समयमा घरमै त्यसै बस्ने वृद्घवृद्घा समेतको समय सदुपयोग गर्दै यी सुकाएर वा उचित प्रसोधन गरेर बिक्रि गर्न सकिन्छ । बन्दको समयमा खेर गयो भन्ने गुनासो हुन पाउँदैन । विदेशी एयरलाईन्समा दिईने प्लाष्टिक भित्र राखेको सुकेको केरा हामी स्वाद लिईलिई खान्छौं तर हामी कहाँ यो मनग्य पाईने बेलामा यसलाई सुकाएर खाने प्रयास हामी कमैले गरेका हुन्छौं । काठमाडौंमा पाईने स्थानिय हलुवावेद काँचैमा मिठो हुने जापानिज हलुवावेदको अघाडि फिका हुन्छ । तर स्थानीय हलुवाबेद छिप्पिएपछि त्यस्लाई काटेर सुकाएर खाएमा त्यो जापानिज भन्दा निकै बढी गुलियो हुन्छ र वर्षाै राखेर खान पनि सकिन्छ वा राम्रो प्यकिङ गरेर बिक्रि गर्न सकिन्छ । तसर्थ हामी सबैमा प्रथमतः ईमान्दारी हुनु पर्यो, जाँगर देखाउनु पर्यो र परिस्थितीलाई बुझेर त्यस अनुसार चल्नसक्नु पर्यो ।

अन्त्यमा वैज्ञानिकहरुका सरसल्लाह अनुसार अगाडी बढौं, कोरोना जस्ता भोलि अनैकौ संक्रमण आउन सक्नेछन् । राम्रा आनिबानिको अनुसरण गरेर ती सबैको निम्ति हामी आजै तयार होऔं, हो हल्लका भरमा नकुदौं र अप्ठयारो परिस्थितीमा पनि बिचलित नभई दैनिकी चलाउनु आजका हाम्रा यीनै मुलमन्त्र हुन् । 

 

(कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना महाशाखाका पूर्व प्रमुख हुन्)

Last modified on 2020-04-15 11:14:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts