सरकारी गाडीमा बिरामी बोक्न डा. केसीको आग्रह



Download our app to get more features

डडेल्धुरा, ९ वैशाख । प्राडा गोविन्द केसीले लकडाउनका कारण सार्वजनिक सवारीसाधन नचलेका कारण सरकारी गाडीमार्फत सर्वसाधारण बिरामीलाई सेवा दिन आग्रह गरेका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

‘सडक यातायात ठप्प भए पनि रुख वा भीरबाट लडेर चोट लाग्ने तथा अन्य आकस्मिक अवस्थाका बिरामी लकडाउनमा घटेको छैनन्, बरु बढेको होला। हाल डडेल्धुरा अस्पतालमा रहेर मैले त्यस्ता बिरामीहरुको पीडा देखेको छ’ विज्ञप्तिमा भनिएको छ । देश अहिले कोभिड–१९ को त्रासले आक्रान्त छ । महामारीको प्रभावका कारण अस्पतालहरुले दिने साविकका सेवाहरु समेत प्रभावित भइरहेका छन् । यसको सबैभन्दा ठूलो मार विपन्न र दुरदराजका मानिसहरुलाई परिरहेको छ । लकडाउन लम्बिंदै जाँदा दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदुरहरु भोकभोकै पर्ने अवस्था आएको छ । हप्तौं हिंडेर घर पुग्ने प्रयास गरेका हजारौं श्रमिहरुका बारेमा समाचारहरु आइरहेका छन् ।

ग्रामीण क्षेत्रमा आइलागेको स्वास्थ्य संकटप्रति मिडियाको समेत ध्यान नपुगेको उनको भनाइ छ । हालको परिस्थितिमा एम्बुलेन्सहरुले मात्रै सबै बिरामीलाई अस्पताल पुर्‍याउन पर्याप्त नभएले दुरदराजका बिरामी निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य भएको उनले उल्लेख गरेका छन् । यस्ता बिरामी महँगो भाडा तिरेर फलोअपमा आउन नसकेका कारण उपचारबाटै वञ्चित भइरहेकाले सरकारी सवारीसाधान प्रयोग गर्न उनले सुझाब दिएका हुन् । समयमै उपचार गर्दा निको हुने समस्या पछि अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ । उनले भनेका छन्, ‘सरकारी गाडी अहिले निस्क्रिय रहेका छन् । त्यसैले यातायात सेवा सुचारु नहुन्जेलका लागि ती सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सम्बन्धित मन्त्रालयहरुलाई अपिल गर्दछु । स्मरण रहोस्, कोभिड–१९ महामारी नियन्त्रणजस्तै संकटमा परेका नागरिकहरुलाई यस्तो आकस्मिक सेवा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो ।’

Last modified on 2020-04-21 17:21:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts