स्वास्थ्य चौकी बनेपछि अत्तरपुरवासी खुसी (फोटोसहित)

What's This?


Download our app to get more features

सिन्धुपाल्चोक, १९ असार । आफ्ना अगाडि सधैँ टेलिभिजनमा देखेका र अरूबाट नाम सुनेका चकित्सक डा.‍ भगवान कोइरालालाई प्रत्यक्ष देख्दा अत्तरपुर गाविसका जनता निकै खुसी देखिन्थे । 

भूकम्पले भत्किएको स्वास्थ्य चौकी भवन पनि उनको पहलमा बनेको भन्ने सुन्दा डा. कोइरालालाई भगवानकै रूप मान्नेको पनि कमी थिएन । सरल र हँसिला स्वभावका डा. कोइरालाबाट आफूहरूले ठूलो अपेक्षा गरेको गाउँलेले बताए । 

एक वर्षअघि भूकम्पले स्वास्थ्य चौकी भत्काउँदा सामान्य उपचारका लागि अत्तरपुरका जनतालाई निकै कष्ट भएको र भवन बनाउन पहल गरेर डा. कोइरालाले ठूलो काम गरेको स्थानीय पूजा लामाले बताइन् । 

लामाले आफ्नो बच्चा र घरका ज्येष्ठ सदस्य बिरामी हुँदा निकै दुःख पाएको बताइन् ।  ‘काठमाडौँबाट यहाँसम्म आएर डाक्टर’सावहरूले स्वास्थ्य भवन बनाइदिनुभयो । अब हामीलाई ठूलो राहत भयो ।’ उनले भनिन् । 

विगत १५ वर्षदेखि अत्तरपुरमा रही जनताको सेवा गरिरहेका सिनियर अहेब श्रीनारायण ठाकुरले भवन नहुँदा खुला चौरमा जनतालाई सेवा गर्नुपरेको बाध्यता सुनाए । उनले त्रिपाल पनि नभएको सम्झँदै खुला चौरमा उपचार गर्ने र भत्किएको भवनभित्र रहेको औषधि डराइ डराइ झिक्दै त्यहाँका जनतालाई उपचार गरेको स्मरण गरे । 

ठूलो अस्पताल भनेकै स्वास्थ्य चौकी भएको बताउँदै अर्का बासिन्दा युवराज खरेलले स्वास्थ्य चौकी भएपछि यहीबाट सुत्केरी गराउने सेवा पनि सञ्चालन गर्न आग्रह गरे । 
शनिबार अमेरिका नेपाल चिकित्सक प्रतिष्ठानले बनाएको नयाँ प्रिफ्याव भवन उद्घाटनमा भेला भएका अत्तरपुरवासी निकै खुसी देखिन्थ्ये । प्रतिष्ठानले अत्तरपुरलगायतका ११ गाविसमा स्वास्थ्य चौकी भवन बनाई सरकारलाई हस्तान्तरण गरेको छ । 

प्रतिष्ठानका सदस्यसमेत रहेका वरिष्ठ चिकित्सक डा. कोइरालाले सबैका कुरा सुनेपछि भवनमा आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री र उपकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
प्रतिष्ठानले चौतारा, भीमटार, तौउथली, हाइबुङ, सिपापोखरी, भोटसिपा, अत्तरपुर, पिस्कर, पेट्कु, लिस्टीकोट, ठूलो सिरुबारी र इरर्खु गाविसमा स्वास्थ्य चौकी निमार्ण गरेको अध्यक्ष डा. ज्योति भट्टराईले जानकारी दिए ।  

स्वास्थ्य मन्त्रालयका प्रवत्ता तथा योजना प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले भूकम्पले अतिप्रभावित १४ जिल्लामा सात सय स्वास्थ्य संस्था क्षतिग्रस्त भएकामध्ये तीन सय आशिक, चार सय पूर्ण क्षति भएको जानकारी दिए । 

जिल्ला जनस्वास्थ्य कार्यक्रयका प्रमुख डा. सुरेन्द्र चौरसियाले सिन्धुपाल्चोकका ८० स्वास्थ्य संस्थामध्ये ६३ पूर्ण क्षति भएका बताए । १२ वटा भवनमा आंशिक क्षति र पाँच वटा भवन क्षति नभएको अवस्थामा रहेको उनले जानकारी दिए । हाल पूर्ण क्षति भएका ६३ मध्ये ३२ भवन प्रिफ्याव मोडलमा बनिसकेको र केही बन्ने क्रममा रहेका छन् । 


 

Last modified on 2016-07-03 15:54:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts