डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा दिएर बझाङतर्फ लागे डा. केसी 



Download our app to get more features

धनगढी, २५ वैशाख । डडेल्धुरा अस्पतालमा दुई महिना निःशुल्क सेवा गरेर प्राध्यापक डाक्टर गाविन्द केसी बझाङतर्फ लागेका छन्। २० फागुनमा उनी डडेल्धुरा पुगेका थिए। 

उनी डडेल्धुरा रहदा हाडजोर्नीसम्बन्धी समस्या भएका धेरै सुदूर पहाडवासीेले विशेषज्ञ चिकित्सक सेवा पाएका थिए। केसीबाट सेवा लिन डडेल्धुरा लगायत बैतडी, बझाङ, दार्चुला र डोटीका बिरामी आउने गरेको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए। 

अस्पताल प्रशासनका अनुसार डा. केसीले डडेल्धुरा अस्पतालमा हुँदा २ हजार जती सामान्य केस र करिब चार सयको हाराहारीमा अप्रेशन गरेका थिए। यद्यपि, उनले कति बिरामी जाँचे भन्ने यकिन तथ्यांक नरहेको अस्पतालले जनाएको छ। अर्थोपेडीक वार्डमा अन्य चिकित्सक समेत भएको हुँदा डा. केसीले मात्रै चेकजाँच गरेको तथ्यांक नरहेको सूचना अधिकारी पन्तले बताए। 
लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको थियो । तर लकडाउनका कारण बिरामीको चाप केही कम भएको थियो। धेरैजसो बिरामीले उपचार गर्न आउँदा डाक्टर केसीलाई भगवानको संज्ञा दिने गरेको अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्टले बताए। ‘हिजो मात्रै दुई महिने निःशुल्क सेवा दिएर उहाँ बझाङतर्फ लाग्नु भयो, केही दिन उतै सेवा दिने कुरा छ’ उनले भने ।

दिनमा एक छाक मात्रै खाना खाने गरेका डाक्टर केसीले अस्पतालबाट कुनै रकम नलिएको र उल्टै बिरामीका लागि औषधि समेत किनिदिने गरेको भट्टले सुनाए। ‘उहाँले ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पताललाई दिएका छन्। भगवान नै बनेर आएका थिए खल्ती नै रित्याएर गए’ उनले थपे। दिउँसो अस्पतालको काममा बाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्थे। अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने र एकदमै शान्त स्वभावका उनले काम बाहेक अन्य केही कुरा नगरेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए। 

मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडिकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।  गत १८ कार्तिकमा डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह २६ कार्तिकमा ९औं दिनमा स्थागित भएको थियो। 
२६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवं विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले उठाएका मागहरु आजसम्म सम्बोधन भएका छैनन्।

Last modified on 2020-05-07 14:11:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts