चिनियाँ सेनाको हवाईजहाजमार्फत स्वास्थ्य सामाग्री नेपालमा



Download our app to get more features

बीबीसी, ३१ वैशाख । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड–१९ सँग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामाग्रीसहित चिनियाँ वायु सेनाको एक विमान बुधवार बिहान काठमाण्डू आएको छ । विमानमा स्वास्थ्यकर्मीहरूको व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पीपीई, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेडसहितका सामाग्री रहेको बताइएको छ।
चिनियाँ सेनाले नेपाल सहित विभिन्न १२ देशका सैनिकहरूलाई पछिल्ला दुई दिनमा यस्ता सैन्य सामग्री उपलब्ध गराएको उल्लेख गरेको छ। नेपाल भित्रिएका सहयोग सामग्री नेपाली सेनाको अनुरोधमा उपलब्ध गराइएको भनिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी दयानन्द केसीका अनुसार सामानको भन्सार जाँचपासको प्रक्रिया अघि बढाइएको छ। सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएर चीनसँग खरिद गरेका स्वास्थ्य सामग्री आउन ढिलाइ भएको भनिएका बेला चिनियाँ सेनाले नेपाली सेनालाई यी सामग्री हस्तान्तरण गरेको हो। नेपाली सेनाले चीनबाट प्राप्त पछिल्लो सहयोगबारे औपचारिक रूपमा केही भनिसकेको छैन्।

तर एकजना अधिकारीले दिएको जानकारी अनुसार झण्डै तीन मिलियन युआन अर्थात पाँच करोड १० लाख रूपियाँ बराबरका स्वास्थ्य सामग्री चिनियाँ जनमुक्ति सेनाले हस्तान्तरण गरेको हो । नेपाली सेनाका लागि स्वास्थ्य सामग्री लिएर बुधवार बिहान आएको उक्त विमान फर्किसकेको त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलले जनाएको छ।

नेपाल सहित १२ देशलाई सहयोग
चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सका अनुसार मङ्गलबार र बुधवार जनमुक्ति सेनाका विमानमार्फत १२ वटा देशका सेनालाई मास्क, पीपईइ र ज्वरो नाप्ने थर्मोमिटर सहितका स्वास्थ्य सामग्री पठाइएको छ। चिनियाँ सेनाबाट सहयोग प्राप्त गर्ने अन्य दक्षिण एशियाली देशमा श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान छन्। सहयोग प्राप्त गरेका देशका सेनाको अनुरोध र चिनियाँ केन्द्रीय सैनिक आयोगको अनुमोदनपछि वायुसेनाको विमानले ती सामग्री ल्याएका हुन्।

Last modified on 2020-05-13 15:58:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts