बाणगंगा नगरपालिकामा आधा दर्जन एम्बुलेन्स तर कोरोना संक्रमित बोक्दैनन् 



Download our app to get more features

जीतपुर, ११ जेठ । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसोलेशन सेन्टर नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको छ । यति मात्रै होइन नगर क्षेत्रमा आधा दर्जन भन्दा बढी एम्बुलेन्स भए पनि कोरोनाका बिरामी ओसार्न नमान्दा बिरामीलाई समयमै अस्पताल पुर्याउन समेत समस्या भएको छ । 
नगरमा हालसम्म २० संक्रमित भेटिसकेका छन् । तर यहाँ आइसोलेशन सेन्टर निर्माण गर्ने विषयमा नगरपालिकाको चासोमा परेको छैन । वाणगङ्गा नगरले आइसोलेशन सेन्टर कुन ठाउँ बनाउने भन्नेसमेत टुङ्गो लगाउन सकेको छैन । बाणगङ्गा नगरमै मात्रै कोरोना संक्रमित १७ जना फेला परेपछि आइसोलेशन सेन्टरको खोजिनीधि  हुन थालेको हो । शुक्रबार बिहान बणगङ्गा–४ की आठ वर्षीया बालिकालाई कोरोना भाइरस पुष्टि भयो । पुष्टि भएको तीन दिन भइसक्दा पनि उनको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था भएको छैन ।

घरैमा छिन कोरोना संक्रमित बालिका
संक्रमित बालिका आजसम्म पनि घरमै छिन् । सोही दिन बालिकासँंगै कोरोना संक्रमण पुष्टि भएका बाणगङ्गा–११ का एक सञ्चारकर्मीलाई सोही दिन राति ९ः०० बजे मात्र जिल्ला सदरमुकामस्थित तौलिहवाको आइसोलेशनमा पुर्याइएको थियो । बणगङ्गा–४ स्थित सिद्धार्थ क्याम्पसको क्वारेन्टिनमा रहेका तीन जनालाई अझै कहाँ लाने भन्ने टुङ्गो छैन । 

कपिलवस्तुको पिछडिएको क्षेत्र विजयनगर गाउँपालिकाले समेत आफ्नै पालिकामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भने ‘यो बेला समस्या त हुन्छ तर हामीे समस्यालाई मात्र हेरेर बस्ने होइन ।’ विपद्का समयमा स्थानयको अभिभावक भनेकै जनप्रतिनिधि भएकाले विभिन्न संघसस्था समाजसेवीलगायत सबैको सहयोगमा २५ वार्डको आइसोलेशन निर्माण गरिएको बताए । संक्रमितलाई त्यही आइसोलेशन सेन्टरमा राखेर उपचार गरिएको उनले जानकारी दिए । गाउँपालिकामा संक्रमित भेटियो भनेर थाहा पाउनेबित्तिकै आफैँ सोही स्थानमा पुगेर उनीहरुको मनोबल बढाउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

यस्तै मायादेवी गाउँपालिकाले पनि १६ शय्याको आइसोलेशन निर्माण गरेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले जानकारी दिए ।  पालिकामा अझै एक सय शय्याको आईसोलेशन निर्माण गर्ने तयारी छ । 
यता कपिलवस्तुको सुगम क्षेत्रमा रहेको बाणगङ्गा नगरमा ६ एम्बुलेन्स सञ्चालित छन् । ती सबै एम्बुलेन्सका चालकलाई प्रदेशसभा सदस्य विष्णु पन्थी र नगरपालिकाले पिपिई उपलब्ध गराएको छ । दुई एम्बुलेन्स चालकलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याबिन निर्माण गरिदिएको छ तर कोरोना संक्रमित फेला परेपछि उनीहरुलाई आइसोलेशनमा पुर्याउन एम्बुलेन्स चालक अनेक कारण देखाएर उम्कने गरेका छन् । शनिबार बिहान संक्रमित देखिएका एक जनप्रतिनिधिले नै दिनभरि एम्बुलेन्स पाउन नसकेपछि उनी आफ्नै स्कुटरमा बुटवलस्थित कोरोना अस्पताल पुगे । उनले भने, ‘सधैँभरि जनताको सेवामा खटियो, त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने, राति स्कूटर चलाएरै अस्पताल आउनुपर्यो ।’

शनिबार नै कोरोना संक्रमण पुष्टि भएकी महिला पत्रकारको पनि हालत उस्तै रहयो । दिनभरि खोज्दा पनि एम्बुलेन्स पाउन नसकेपछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रहरीको सवारी व्यवस्थापन गरेर राति १० बजे उनलाई कोरोना अस्पताल बुटवल पुर्याइयो । कपिलवस्तु जिल्लामा रहेका २९ एम्बुलेन्ससंँग केही दिनअघि प्रजिअले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकले राखेका थिए । सोही मागअनुसार तिनलाई पिपिई, मास्क र सेनेटाइजर उपलब्ध गराइएको छ । केही एम्बुलेन्समा क्याबिन वनाएर चालकलाई सुरक्षित गरिएको छ ।

आइसोलेशन बनाउन थालेका छौं : नगर प्रमुख
बणगङ्गा नगरपालिकाले आइसोलेशन सेन्टर बनाउने तयारी थालेको दावी नगर प्रमुख मंगलप्रसाद थारुले गरेका  छन् । आइसोलेशन केन्द्र बनाउन नसकेको भनेर आलोचनामा परेको बाणगङ्गाले एकैसाथ दुई स्थानबाट बनाउन शुरु गरेको उनको भनाइ छ । 

नगरपालिकाले वडा नम्बर ५ को कोपवा स्वास्थ्य चौकीमा १५ शय्याको आइसोलेशन सेन्टर आइनबार साँझसम्ममा बनाएर सेवा प्रारम्भ गर्ने गरी काम भइरहेको नगर उपप्रमुख चक्रपाणि अर्यालले बताए । अर्कातर्फ सिद्धार्थ क्याम्पसको सभाकक्षमा ३५ शय्याको आइसोलेसन सेन्टर निर्माणको तयारी शुरु भएको छ । 

Last modified on 2020-05-24 16:45:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts