अपडेट

रौतहटमा एकै पटक २१ जना कोरोना संक्रमित थपिए, यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १३ जेठ । प्रदेश नम्बर २ मा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महोत्तरीको भंगहा नगरपालिकाको मनरा क्वारेन्टाइनका २ जना, बाराका ३ जना र रौतहटका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । 
 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोगमा अस्थायी रुपले प्रतिबन्ध लगाएको छ । कोरोनासँग लड्न हाइड्रोक्सिक्लोरोक्विन औषधि दिनु खतरनाक रहेको भन्दै संगठनले कोरोनाका बिरामीलाई यो औषधि नदिन भन्दै अस्थायी प्रतिबन्ध लगाएको हो । विश्व स्वास्थ्य संगठनको सोलिड्यारिटी ट्रायलको बैठकले हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धीत विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय समेत गरेको छ । साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णय बैठकले गरेको छ । 

ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिन मृत्यु हुनेको संख्या हालसम्मकै धेरै रहेको छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा कोरोना भाइरसका कारण ८ सय ७ जनाको मृत्यु भएको छ । जुन अमेरिकाको भन्दा बढी हो । अमेरिकामा पछिल्लो २४ घन्टामा ६ सय २० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २३ हजार ५ सय २२ पुगेको छ । संक्रमण दरको हिसाबले ब्राजिल विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका कारण ३ लाख ७६ हजार ६ सयभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । 

जापानमा घोषणा गरिएको राष्ट्रिय आपातकाल हटाइएको छ । जापानका प्रधानमन्त्री शिञ्जो आबेले मुलुकका अधिकांश भागमा लगाइएको राष्ट्रिय आपातकाल हटाइएको घोषणा गरेका छन् । साथै उनले विभिन्न राज्यमा जारी लकडाउनमा पनि छुट दिने घोषणा गरेका छन् । सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि मुलुकमा लकडाउन जारी गर्ने निर्णय सहि भएको भन्दै यसले देशमा कोरोनाले महामारीको रुप लिन नपाएको उल्लेख गरे । जापानमा हालसम्म कोरोना भाइरसका कारण ८ सय भन्दा बढीको मृत्यु भएको छ ।

बलीवुडका चर्चित प्रोड्यूसर करण जौहर १४ दिनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनले आफूलाई क्वारेन्टाइनमा रोखका हुन् । करण जौहरले ट्विट गर्दै लेखेका छन्, दुई जना सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि हामीले घरका सबै सदस्य र सहयोगीहरुको कोरोना परीक्षण गराएका छौं र सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर, सुरक्षाका लागि भने हामी १४ दिनसम्म क्वारेन्टाइनमा हुनेछौं ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ५५ लाख ८९ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोनाका कारण विश्वभर ३ लाख ४७ हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने संक्रमित भएका मध्ये झन्डै २३ लाख ६६ हजारभन्दा बढी मानिस स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts