विषादीको प्रयोगले क्यान्सर रोगी बढ्दै

What's This?


Download our app to get more features

इलाम, ४ चैत । तरकारीलगायत खाद्य बालीमा विषादी प्रयोग गरेका कारण इलाममा गत वर्षको तुलनामा यो वर्ष क्यान्सर रोगीको संख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गत वर्षको तुलनामा इलाममा क्यान्सर रोगीको संख्या १९.१७ प्रतिशतले वृद्धि भएको छ । 


गत वर्ष ५९ जनामा क्यान्सर रोग भेटिएकोमा यो वर्ष ७३ जनामा क्यान्सर भेटिएको जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । जसमध्ये ४९ महिला र २४ पुरुषलाई क्यान्सर देखिएको हो । 


कार्यालयका अनुसार सूर्योदय नगरपालिकामा नौ, इलाम नगरपालिकामा आठ, चुलाचुलीमा सात र दानावारी गाविसमा पाँच जनालाई क्यान्सर लागेको छ । यस्तै, अन्य गाविसमा पनि क्यान्सरका बिरामी रहेको कार्यालयले जनाएको छ । तरकारी खेतीमा विषादी प्रयोग गर्ने र विषादीयुक्त खाद्यान्न प्रयोग गरेका कारण क्यान्सर लागेको हुनसक्ने बताइएको छ । 


कार्सिनोजेनिक उत्पन्न गर्ने १५ थरीका विषादीमध्ये तरकारीमा धेरै विषादी प्रयोग हुने गरेको छ । सूर्योदय नगरपालिका तरकारीको पकेट क्षेत्र हो भने चुलाचुली र दानाबारीमा पनि खेतीमा विषादीको प्रयोग उच्च रहेको पाइन्छ । इलाम नगरपालिका तरकारी र खाद्य उपयोग गर्ने क्षेत्र हो । अन्य क्यान्सर रोगी पनि व्यावसायिक तरकारी खेती गर्ने गाउँमै बढी छन् । 


अन्य गाविस गोदक, दानाबारी, इभाङ, नामसालिङ क्यान्सर प्रभावित क्षेत्रको रूपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । क्यान्सर पीडित जिल्ला स्वास्थ्य कार्यालयको सिफारिस लिएर पनि उपचारका लागि जाने गरेका छन् । यसबाहेक सोझै उपचारमा जानेको सख्या पनि उच्च रहेको कार्यालय प्रमुख पोखरेलले बताए । 


कार्यालयले मुटुका २० र मृगौलाका सातजना रोगीलाई निःशुल्क उपचारका लागि सिफारिस गरेको छ । मुटु र किड्नीका बिरामी भने पुरुष बढी छन् । ‘जटिल रोगको कारण खानपान मुख्य हो’ पोखरेलले भने, ‘विषादी पनि हुनसक्छ ।’ इलाममा क्यान्सरको कारणबारे अनुसन्धान नभएको उनले बताए । 


तर गोलभेडाजस्ता तरकारी नियमित प्रयोग गर्ने, विषादी प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको असर देखिएको चिकित्सकहरू बताउँछन् । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts