कर्णाली प्रदेशमा ७५ जना कोरोना संक्रमित थपिए, क्वारेन्टाइन बाहिर पनि देखियो कोरोना



Download our app to get more features

सुर्खेत, १९ जेठ । कर्णाली प्रदेशमा सोमबार एकै दिन ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या एक सय ९८ पुगेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ । 

प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सोमबार गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका गरि ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  हो । 

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा  जुम्ला र दैलेखका गरि ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  हो । नयाँ संक्रमित दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

यसअघि मन्त्रालयले हिजोसम्म एक सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो । आज थपिएका संक्रमित मध्ये दुई जना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी छन् । भारतबाट आएका र क्वारेन्टाइनमा बसिरहेकालाई मात्र कोरोना संक्रमण देखिएकोमा पहिलो पटक क्वारेन्टाइनबाहिर प्रहरीमा संक्रमण देखिएको हो।

सुदूरपश्चिम प्रदेशमा १८ थपिए
सुदूरपश्चिम प्रदेशमा पनि सोमबार एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । १८ जना थपिएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या ४३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार नयाँ संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन् । उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन् । यसैगरी अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Last modified on 2020-06-01 15:21:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts