दाङका कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छन् : यहाँको कोरोना विशेष अस्पतालमा बस्नु भन्दा होम क्वारेन्टाइन ठिक



Download our app to get more features

दाङ, २० जेठ । गत आइतवार दाङका दुई स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भयो । उनीरुलाई दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो ।  
स्वास्थ्य क्षेत्रमा अहोरात्र खटिदा कतिबेला उनीहरुमा कोरोना संक्रमण भयो पत्तो भएन । कोरोना अस्पताल पुगेपछि छिट्टै निको भएर फर्कने आशाका साथ उनीहरु बेलझुण्डी पुगेका थिए । तर उनीहरुले सोचेको जस्तो व्यवस्थापन त्यहाँ थिएन ।

संक्रमण सुरु भए देखि नै उनीहरु दाङको कोइलावास नाकामा रहेको हेल्थ डेक्समा खटेका थिए । पछि उनिहरुलाई गढवा गाउँपालिकाले सञ्चालन गरको क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था मिलायो । कोरोना विशेष अस्पतालको दोस्रो तलामा उनीहरुसँगै ३० जना संक्रमित छन् । जहाँ एउटा मात्र ट्वाइलेट छ । पानीको समेत राम्रो व्यवस्था छैन । ‘दोस्रो तलामा एउटा मात्र ट्वाइलेट रहेको छ, वाथरुमको त कुरै नगरौ । कसरी नुहाउने ?’ संक्रमति स्वास्थ्यकर्मीले भने । उनका अनुसार दोस्रो तलामा रहेका ३० जनाले त्यही एउटा मात्र ट्वाइलेट प्रयोग गर्न वाध्य भएका छन् । उनले थपे ‘आइसोलेसनसहित क्याबिनमा प्रत्येक संक्रमितलाई छुट्टै ट्वाइलेटको व्यवस्था हुनु पर्ने हो ।’

यो समस्या स्वास्थ्यकर्मीको मात्र नभई त्यहाँ रहेका सबै संक्रमितको रहेको छ । एउटा कोठामा सात जनासम्म राखिएको छ । जहाँ राम्रोसँग हावा समेत पास हुँदैन । ‘अग्रस्थानमा रहेर स्वास्थ्य क्षेत्रमा काम गरियो तर हाम्रो योगदानको कुनै कदर भएन’ हाम्रो डक्टरसँग कुरा गर्दै संक्रमित स्वास्थ्यकर्मीले भने  ‘रिकभर भएर जाने आशा थियो तर यहाँ स्वास्थ्य जटिल भएर जान्छ कि भन्ने डर लागेको छ ।हावा छिर्ने भेन्टिलेसनसहितको कोठा होस् भन्ने हाम्रो माग हो ।’  बिहानमा केही समय बाहिरको हावामा र २–४ मिनेट माटो टेक्न दिन समेत उनीहरुले माग गरेका छन् । 
कोठामा एउटा कुर्सी समेत छैन । २४ घण्टा नै एउटै बेडमा बस्नु पर्ने बाध्यता उनीहरुमा छ । समस्या बताउँदा एक दुई दिनमा माग पुरा हुन्छ भन्ने आस्वासन मात्रै आएको उनले बताए ।

कोरोना अस्पतालमा बस्नु भन्दा होम क्वारेन्टाइनमा बस्ने उनीहरुले इच्छा व्यक्त गरेका छन् । तर उनीहरुको मागको कुनै सुनुवाई भएको छैन । सरकारले हामी दुई स्वास्थ्यकर्मीलाई एउटा खुल्ला भवनको व्यवस्थापन गरिदिए आफ्नै व्यक्तिगत खर्चमा बस्न तयार समेत बताए । छिटो कोरोना संक्रमण निको भएर पुनः स्वास्थ्य सेवामा फर्कने उनीहरुको रहर छ । तर कोरोना अस्पतालको व्यवस्थापनको कम्जोरील उनीहरुको रहर रहरमै सिमित बनिरहेको छ ।  

कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने आठ जना निको भएर घर फर्किसकेका छन् ।

Last modified on 2020-06-03 15:06:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts