कोभिड–१९ संक्रमितको व्यवस्थापन स्वरुप परिवर्तनको आवश्यकता


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीबाट नेपाल पनि अछुतो रहेन । चीनको वुहान शहरबाट शुरुवात भएको संक्रमण युरोप र अमेरिकाका शक्तिशाली राष्ट्रहरूलाई पराजित गरि हाल दक्षिण एशियाका विभिन्न रास्ट्रमा फैलिरहेको छ । यसबाट विश्वभर चौसठ्ठी लाखमा संक्रमण र करिब पौने चार लाखको मृत्यु भइसकेको छ । 

कोभिड–१९ शुरुवात भएको राष्ट्र चीन र हाल कोभिड–१९ केन्द्रको रुपमा स्थापित हँुदै गएको भारतसँग सिमाना जोडिएको नेपाल उच्च जोखिममा छ । नेपालको हरेक क्षेत्रमा भारतको उल्लेख्य प्रभाव रहे जस्तंै कोभिड–१९ नेपालमा फैलिनमा भारत प्रमुख श्रोत बन्ने निश्चित छ । हाल आएर न्युनतम संख्यामा भएको परीक्षणमा समेत देखिएको संक्रमितको संख्या हेर्दा समाजमा लुकेर बसेको लक्षणबिनाका कोरोना संक्रमित ठुलो संख्यामा रहेको अनुमान लगाउन सकिन्छ ।

vayoda

अनुमानित संक्रमितहरूको आकलन गर्दा हाल देशमा रहेको स्वास्थ्य प्राविधिक जनशक्ति, अस्पताल बेड, औषधिउपकरण र सघन उपचार कक्ष (आईसियू) अभावमा बिरामी सम्हाल्न नसकिने अवस्था आउने निश्चित छ । हालको आपतकालिन अवस्थामा अतिआवश्यक सामाग्री व्यवस्थापन तथा आपूर्ति व्यवस्थापनको सन्दर्भमा अत्यन्त संवेदनसिल भई समुदायस्तरसम्मका स्वास्थ्य संस्थाहरूलाई यथासिघ्र उपलब्धता सुनिश्चित गर्दै समुदायस्तरका स्वास्थ्य संस्थाहरूबाट पनि यसको व्यवस्थापन गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्दै जानुपर्छ ।

संक्रमण देशको धेरैजसो जिल्ला, समुदाय र भौगोलिक क्षेत्रमा पुगिसकेको छ । अब लकडाउनले नै समाधानको उपाय होइन समुदाय नै सचेत हुनुपर्छ भन्ने बुझ्न जरुरी छ । कोभिड–१९ का कारण देशमा लकडाउन दुई महिना भन्दा बढी भैसकेको छ । यही स्वरुपको लकडाउन थप गर्दै गएको खण्डमा अर्कोतर्फ बालबालिकामा कुपोषण, ज्यालादारी मजदुरमा भोकमरी र उद्योगी व्यवसाय तहसनहस हुने अवस्था आउने देखिन्छ । त्यसैले वैदेशिक तथा लामो दुरीको आवागमन कडाई गरेता पनि विभिन्न प्रदेश, प्रदेश अन्तरगतका जिल्ला र पलिकाहरूमा संक्रमणको अवस्थाअनुसार फरक फरक स्वरुपको लकडाउनको रणनीति तयार गरी उचित सावधानीसहित नियमित स्वास्थ्य सेवाहरु, उद्योेगधन्दा तथा व्यवसाय संचालन खुकुलो बनाउदै र जनजीवन सहज बनाउदै जान जरुरी छ ।

अबको विकल्प होम क्वारेन्टाइन
भारतमा यातायातको साधन शुरु भएसँगै भारतबाट नेपाल कम्तिमा १० लाख भन्दा बढी नेपाली कामदार फर्कदै गरेका समाचार पढ्न र सुन्न थालिएको छ । साथै खाडी मुलुकमा मातृभूमि फर्कने आशामा दिन गनेर बसेकाहरूको जमात पनि ठुलै छ । विदेशबाट आउनेहरुको व्यवस्थापनको पाटो देशका लागि ठुलो चुनौतीको बनेको छ । उनीहरूको संख्या हेर्दा क्वारेन्टाइनको उचित व्यवस्थापन स्थानीय स्तरमा गर्न सक्ने अवस्था छैन । क्वारेन्टाइन केन्द्रहरूमा सामाजिक दुरी, उचित सरसफाई र प्रसारण रोक्न सकेनौ भने क्वारेन्टाइन केन्द्रहरु नै रोग सार्ने स्रोतको रुपमा विकास हुने सम्भावना हुन्छ ।

संक्रमणका हिसाबले सम्भावित ब्यक्तिहरुलाई निश्चित समय अवधीसम्म उचित सावधानीसहित आफ्नै घरमा सुरक्षित तरिकाले निगरानीमा राख्नु नै होम क्वारेन्टाइन हो । हालको अवस्थामा घरका सदस्यहरूलाई र क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई राम्रो स्वास्थ्य शिक्षा प्रदान गरी घर र समाजले निगरानी गर्ने गरी होमक्वारेन्टाइनको अवधाराणासहित कोभिड–१९ को व्यवस्थापन गर्नुको विकल्प छैन । अन्यथा अव्यवस्थित क्वरेन्टाइनभित्र एकअर्कामा र क्वारेन्टाइन केन्द्रबाट समाजमा कोभिड–१९ फैलने निश्चित छ । समाजमा कोभिड–१९ को डर भन्दा पनि संयमित भएर यो रोगसँग लड्न आत्मबल बढाउनु पर्ने र दीर्घ रोगी तथा जेष्ठ नागरिकलाई संक्रमणबाट जोगाउन सचेत गराउन जरुरी छ । अब कोभिड–१९ को संक्रमणले उपचारमा राख्नुपर्ने बिरामी बाहेक अरुलाई घरमा नै क्वारेन्टाइन तथा आइसोलेसमा राख्दै सकेसम्म धेरै खोजी, जाँच र उपचारको अवधारणाबाट अगाडी जानुपर्छ ।

कोभिड–१९ तत्काल समाधान हुने समस्या रहेन भन्ने कुरा स्वीकार्न जरुरी छ । त्यसैले अरु संक्रामक रोगहरु जस्तै कोभिड–१९ सँग जुध्दै समाजलाई अगाडी बढाउनु पर्छ । कोभिड–१९ सानो प्रयासले परास्त गर्न सम्भब छैन । त्यसैले राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था तथा समुदाय एक जुट भई लाग्नुको विकल्प छैन ।

 

Last modified on 2020-06-03 15:23:39

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag