डडेल्धुराकी कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छिन् :  घरैमा छु, केही अप्ठयारो भएको छैन 



Download our app to get more features

डडेल्धुरा, २८ जेठ । गत सोमबार साँझ उनी कार्यरत मेडिकलका चिकित्सकको फोन आयो र फोनमा ‘रिना (नाम परिवर्तन) तिमीलाई कस्तो छ ?’ भनेर नरम स्वरमा सोधियो । दुई–तीन दिनदेखि काममा नगएकाले मेडिकलवाला चिकित्सकले सोध्न स्वभाविक नै होला भन्ने ठाने । उनले पनि जवाफमा भनिन् ‘ठिकै छ सर ।’ चिकित्सकले फेरि  ‘तिमीलाई त कोरोना देखिएछ नी, केही भएको त छैन’ भनेर प्रश्न गरे । उताबाट यस्तो सुनेपछि ‘रिना’ अचम्मित भइन् । 

कुनै लक्षणविना स्वस्थ अवस्थामा रहेको जोसुकैलाई यस्तो भन्दा एकछिन अच्चमै लाग्नु स्वभाविक हो । उनले पनि अचम्मै भएको ठानिन । त्यस लगत्तै उनलाई डडेल्धुरा अस्पतालका मेसु जगदिश विष्टले फोन गरेर कोरोना संक्रमण देखिएको बताए । उनले फोन गर्दा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएको र इच्छा भए अस्पतालको आइसोलेनमा नत्र घरमै छुट्टै कोठामा बस्न सुझाएका थिए । ‘डराउनु पर्ने केहि छैन, कुनै लक्षण देखिएको छैन । तिमी घरमा एक्लै पनि बस्न सक्छौ केही भए सम्पर्क गर्नु भन्नुभएको थियो ।’ उनले भनिन् ‘उहाँले अब त तिम्रो नेगेटिभ आइसकेको होला भनेर भन्नु भएको थियो ।’ सोही अनुसार अहिले त कोरोना संक्रमित ती स्वास्थ्यकर्मी घरको एक कोठामा बसेकी छिन् ।

डडेल्धुरा अमरगढी नगरपालिका–५ की २० वर्षीया ती युवती अनमी हुन् । अध्ययन सक्काएर उनी डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत थिइन । बिहान मेडिकल गएर साँझ फर्किने उनको दैनिकी थियो । स्वास्थ्यकर्मी भएकाले मास्क, ग्लोब्स् र सेनिटाइजर प्रयोग गर्दागर्दै पनि आफुलाई कोरोना भएकोमा उनी विश्वास्त छैनन् । तर विश्वास नगरि सुख पनि छैन । ९ जेठमा पुष्टि भएका डडेल्धुराका पहिलो कोरोना संक्रमित आफ्नो सम्पर्कमा आएकाले त्यहीबाट सर्यो की भन्ने उनको शंका छ । हुन त मेडिकलमा दिनकै सयौं बिरामी आइराख्ने उनले बताइन । तर ती पहिलो संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाले आमाको करैकरमा आफुले २१ जेठमा कोरोना परीक्षणका लागि नमूना दिएको उनले सुनाइन । 

‘उहाँ (डडेल्धुराको पहिलो संक्रमित) त्यो दिन मेडिकलमा आउनुभएको थियो । उहाँले एउटा औषधि मागे र मैलै घर गएर खानुहोला भन्दाभन्दै त्यही खानुभयो ।’ उनले भनिन्, ‘मैलै के भएर अस्पताल आउनु भएको भनेर सोध्दा उहाँले आफु कोरोना परीक्षणका लागि स्वाब दिन आएको बताउनु भएको थियो । त्यहीबाट मलाई सर्योकी भन्ने लाग्छ, फेरी मैले सुरक्षाका सबै स्वास्थ्य सामाग्री प्रयोग गरेको थिए । अचम्म लाग्छ कसरी सर्या होला ।’ ती व्यक्तिमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेको सबैको खोज गरेर नमूना लिइएको थियो । ती मध्ये अस्पतालका कर्मचारी र सरकारी कर्मचारी थिए । तर मेडिकलकी स्वास्थ्यकर्मीको भने नमूना लिएको थिएन । ‘तर मैले आरडिटी टेस्ट चाही गराएको थिए, त्यसमा पोजेटिभ आएको रहेछ । डराउँछु भनेर होला मलाई रिर्पोट बारे जानकारी गरिएको थिएन ।’ उनी भन्छिन् ‘सबैले कोरोना परीक्षण गराइरहँदा मलाई पनि आमाले धैरै कर गरेको हुँदा मैले ख्याल ख्यालमा पिसिआरको लागि २१ जेठमा स्वाब दिएको थिए । अस्ती त्यसको रिपोर्टमा पोजेटिभ देखायो ।’

तातोपानी पिउँदै, कोरोना भगाउँदै
प्रायः घर बाहिर ननिस्कने ती युवती अहिले पनि घरमै एकान्त कोठामा बसेकी छन् । ‘तातोपानी पिएर न्यानो भएर बसिरहेको छु, मेरो शरीरमा केही भएको छैन, सायद डाक्टरले भनेअनुसार मलाई नेगेटिभ आइसकेको होकी भोलि फेरि नमूना दिन जाँदैछु ।’ उनले भनिन्, ‘खाना पनि मस्तै खान्छु, दिनमा फेसबुक चलाउँछु बस्छु । मलाई केही डर लागेको छैन । निको भइहालौला भन्ने लागेको छ ।’ कोरोना चिन्तित बनाउने खालको भाइरस नभएको उनी बताउँछिन । ‘मलाई हेर्नुस न समान्य रुघाखोकी समेत लागेको छैन । यो संक्रमण देखिदा सजगता अपनाउनुपर्छ र आत्मविश्वास बलियो बनाउनुपर्छ । त्यपछि कोरोना भागिहाल्छ’ उनले भनिन् । उनी कोरोना चेकजाँच नभएकाले यो संक्रमण झनझन फैलिदै गएको प्रति दःुख व्यक्त गर्छिन । 

सबैको हेर्ने व्यवहार परिवर्तन 
आफुलाई कोरोना देखिएपछि आफन्त र साथीभाईले दिनकै धेरैपटक ढाडस् दिने गरेको उनले बताइन । ‘तिमीलाई केही भएको छैन, ख्याल गर्नु, डर नमान्नु भनेर फोन÷फेसेज गर्छन । तर मलाई केही भएकै छैन बेकारमा सबैले चिन्ता लिएको जस्तो लाग्छ’ उनले भनिन् । 

कन्ट्याक्ट ट्रेसिङ सम्पन्न
युवतीमा कोरोना संक्रमण भेटिएपछि उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी र कोरोना परीक्षणका लागि स्वाब लिइएको छ ।  स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड–१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार संक्रमित युवतीसँग सम्पर्कमा रहेका परिवारका सदस्य र केही स्वास्थ्यकर्मीको स्वाब लिएर धनगढीस्थित प्रयोगशालामा पठाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts