कोरोना संक्रमित स्टाफनर्स भन्छिन् : कस्ता होलान् भन्थे आफै संक्रमित भए



Download our app to get more features

धनगढी, ३२ जेठ । शनिबार सुदूरपश्चिममा ६४ जनामा कोरोना भाइरस पुष्टि भयो । जसमध्ये ३३ वर्षीया स्वास्थ्यकर्मी (स्टाफनर्स) पनि थिइन् । फ्रन्टलाइनर भनिने स्वास्थ्यकर्मी मध्येकी उनले कोरोनाले कतिबेला आक्रमण गरेको रहेछ भनेर अहिलेसम्म अनुमान मात्रै गर्न सकेको बताइन । समाचारमा सुन्दा कस्तो होला कोरोना भनेर सोच्ने उनी अहिले कोरोनासँगै लडदैछिन् । अस्पतलामा उनका सहकर्मीले ‘कस्ता होलान है कोरोनाका बिरामी’ भनेर कुरा गर्र्दा ‘कस्ता होलान र ! हामीजस्तैं होलान’ भनेर सम्झाउने उनीमा पनि कोरोनाका संक्रमित हेर्ने खुल्दुली नभएको भने होइन । तर लक्षणविनाको कोरोना संक्रमित समेत हुँदारहेछन् भनेर उनको खुल्दुली चाहि मेटिएको छ । अस्पतालको वार्डमा कार्यरत उनीलाई अस्पतालबाटै कोरोना भाइरस सरेको हो की भन्ने शंका छ । तर अस्पतालमा उनले सम्पूर्ण स्वास्थ्य सुरक्षा सामग्री प्रयोग भने गरेकी थिइन । 

२३ जेठमा टाउको र घाँटी दुखेपछि उनले कोरोना भाइरस परीक्षणका लागि स्वाब दिएकी थिइन । उसो त डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीको मेडिकलमा काम गर्ने एक स्वास्थ्यकर्मी, त्यसैगरी डडेल्धुरा अस्पतालमा सेवा लिन आएकी एक सुत्केरी र बिरामी भएर अस्पताल पुगेका डडेल्धुराका पहिलो संक्रमितको सम्पर्कमा आइयो की भनेर पनि उनले परीक्षणका लागि नमूना दिएकी थिइन । ‘टाउको दुख्ने, घाँटी दुख्ने भएको थियो र अस्पतालको सम्पर्कमा आएकाहरुमा कोरोना देखिएपछि मैले पनि स्वाब दिए’ उनले भनिन् । स्वाब दिएकै दिनबाट बिदा बसेकी उनको रिपोर्ट पोजेटिभ भनेर एक सातापछि शनिबार आयो । ‘म घरमै थिए अस्पतालका मेुसु जगदिश विष्ट सरले मलाई कोरोना भएको जानकारी गराउनु भएको हो’ उनले भनिन्, ‘सुरुमा त डर लाग्यो तर लक्षण नदेखिएकाले उहाँले सेल्फ आइसोलेसनमा बस्न भनेपछि अलि ढुक्क भए ।’ 

उक्त अस्पतालमा चार वर्षदेखि कार्यरत उनी श्रीमान् र छोरासँगै सदरमुकाममा बस्ने गर्थिन । कोरोना महामारीपछि छोरालाई घर पठाएकाले अहिले उनी श्रीमानसँग छिन् । दिनमा पटक पटक तातोपानी पिउने गरेको बताउने उनको टाइमपास टेलिभिजन हेरेर र इन्टरनेट चलाएर हुन्छ । ‘श्रीमान्ले स्याहार गरिरहेका छन्, बेलाबेला तातोपानी खानेकुरा बनाइरहनुहुन्छ’ उनले भनिन्, ‘यसको संक्रमण भएमा आत्मबल बढाउने कोही चाहिनेरहेछ, हुनत मलाई डर त फिटिक्कै लागेको छैन ।’ उनको नजरमा आत्मबल र रोगप्रतिरोधात्मक क्षमता नै कोरोनाको औषधि हो, भन्छिन्, ‘सबैजना कोरोना भुत हो भने जसरी डराइरहन्छन् तर यो केही नरहेछ । डराउनुपर्ने केहि छैन ।’

कोरोनाभन्दा समाजको डर 
कोरोनाका कारण देशभर लकडाउन भई सबै काम ठप्प भएका बेला ज्यानै जोखिममा राखेर बिरामीको सेवामा खटिएकी उनलाई समाजको हेर्ने दृष्टिकोणबाट भने डर लाग्छ । घरमा सासुलाई जानकारी नगराएको बताउने उनी रोगले भन्दा मानिसको हेर्ने नजरबाट कोरोनाले बढी असर गर्ने बताउँछिन् । 

‘कोरोना संक्रमितलाई फरक नजरले हेर्छन जसले गर्दा उसको मनोबल घट्छ र उसलाई धरै असर गर्छ’ उनले भनिन्, ‘कोरोना लागेका मानिस कस्ता हुन्छन् भनेर सबैजना चासो राख्छन्, उसको बारेमा जान्न खोज्छन्, त्यसले संक्रमितलाई कमजोर बनाउँछ । तसर्थ समाजले उसलाई पनि समान व्यवहार गर्यो भने कोरोना जित्न सहज हुन्छ ।’

Last modified on 2020-06-14 22:42:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts