चिकित्सा शिक्षा स्नातकोत्तर तह अध्ययनको सिट वृद्धि गर्न चिकित्सक संघको माग



Download our app to get more features

काठमाडौं, १८ असार । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोग समक्ष चिकित्सा शिक्षा स्नातकोत्तर तह अध्ययनको सिट वृद्धिको माग गरेको छ । नेपालमा स्नातकोत्तर तह अध्ययनको सीट संख्या ज्यादै न्यून रहेको र एमबिबिएस अध्ययनपश्चात् पोष्ट ग्राजुएसन अध्ययनका लागि चिकित्सकहरुले समान अवसर प्राप्त गर्न नसकेका कारण विशेषज्ञ चिकित्सकहरुको संख्या अत्यन्तै न्यून रहेको संघको भनाइ छ । 

३१ डिसेम्बर २०१९ सम्म अध्यावधिक गरिएको नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार दर्ता भएका चिकित्सकको संख्या जम्मा २६ हजार तीन सय ४६ रहेको छ भने स्नातकोत्तर तह अध्ययन गरी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता भएका चिकित्सकहरुको संख्या जम्मा सात हजार सात सय ५८ छ । यसरी विशेषज्ञ चिकित्सक कम हुनुमा सिट संख्या नै कम भएको संघको ठहर छ । 

विशेषज्ञ चिकित्सक वृद्धि गर्न स्नातकोत्तर तहको सीट संख्या अबिलम्ब बृद्धि गर्नु पर्ने, न्याम्सलाई विस्तार गरी देशभरका प्रादेशिक तथा जिल्ला अस्पतालहरुलाई अध्ययन अध्यापनमा समावेश गरेर सीट संख्या बढाउनु पर्ने संघको भनाइ छ । साथै चिकित्सा शिक्षा आयोग अन्तर्गत कै नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिष्टले गैरविश्वविद्यालय अन्तर्गतका सुविधासम्पन्न स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार, आवश्यक फ्याकल्टि, अध्ययन गराउन चाहने बिषयमाथि बैज्ञानिक तवरले अनुगमन तथा मूल्यांकन गरी अन्य मुलुकहरुमा संचालन गरिए अनुरुपका अल्टरनेटिभ पोष्ट ग्रयाजुयसन प्रोग्राम जस्तै एपसिपिएस, डिएनबि, एफएनबि, फेलोसिप जस्ता स्नातकोत्तर तहका कार्यक्रम यसै शैक्षिक सत्र देखि संचालन गर्न अनुमति दिई स्वदेश मै स्नातकोत्तर तह अध्ययन गर्न जोड दिएको छ । 

संघद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारले चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययनका लागि नेपालको वस्तुस्थिति, शैक्षिक गुणस्तर, सिट संख्या, पूर्वाधार, अस्पतालको अवस्था, शिक्षण संस्थाको प्रकृति, भौगोलिक अवस्थिति, लगानी आदिलाई सुक्ष्म रुपमा मूल्यांकन गर्दै चिकित्सा शिक्षामा स्नातकोत्तर तह अध्ययन गर्न इच्छुक स्वास्थ्य सेवा ऐन (लोक सेवा), गैरसरकारी, प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सरकारी करारमा कार्यरत चिकित्सकहरुलाई वैज्ञानिक तवरले न्यायोचित अवसर प्रदान गर्ने वातावरण सुनिश्चित गर्न अनुरोध गरिएको छ । 
 

Last modified on 2020-07-02 13:36:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts