सुदूरपश्चिममा ३५ सय ३५ संक्रमित: १ सय ६ जना मात्रै अस्पतालमा, ५ सय ७२ जना डिस्चार्ज



Download our app to get more features

धनगढी, २० असार । सुदूरपश्चिमका विभिन्न अस्पताल र क्वारेन्टिनबाट पाँच सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा शुक्रवार साँझ पाँच सय ७२ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार शुक्रवार मात्रै ११ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ । महाकाली अस्पतालबाट पाँच जना, बैतडीबाट तीन जना, सेती अस्पतालबाट दुई जना र अछामबाट एक जनालाई डिस्चार्ज गरिएको उनले बताए । 

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी डोटीका एक सय ५७, डडेल्धुराका एक सय ३७, कञ्चनपुरका एक सय दुई र कैलालीका ८२ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । अछामबाट ४३, बझाङबाट २४, दार्चुलाबाट १३, बैतडीबाट १२ र  बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । यस्तै सुदूरपश्चिम प्रदेशका एक सय ६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन् ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४९, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १३, सेती अस्पतालमा र अछाम अस्पतालमा १०१०, डोटी र बाजुरा अस्पतालमा दुईरदुई जना गरी एक सय ६ जनाको उपचार भईरहेको छ । सुदूरपश्चिममा ८  जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङ्ख्या तीन हजार पाँच सय ३५ पुगेको छ ।

Last modified on 2020-07-06 08:18:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts