नयाँ कोरोना भाइरस फैलिएको प्रमाणितः धैरैमा फैलिने, प्रभाव कम पार्ने



Download our app to get more features

काठमाडौं, २३ असार । अमेरिकामा नयाँ किसिमको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला परेको एक अध्ययनले देखाएको छ । 

विश्वव्यापी रूपमा गरिएको उक्त अध्ययनले यो नयाँ कोरोना भाइरस पहिलाको तुलनामा बढी व्यक्ति संक्रमित भएपनि कम बिरामी पार्ने देखाएको छ ।

वैज्ञानिक जर्नल ‘सेल’ मा प्रकाशित अध्ययनअनुसार युरोपबाट अमेरिका प्रवेश गरेको उक्त भाइरस पछिल्ला दिनमा परिवर्तित स्वरुपमा बढी फेला परेको छ । जसले कोरोनाविरुद्ध अनुसन्धान क्रममा रहेको खोप परिवर्तित स्वरूपको भाइरसमा प्रभावकारी हुन्छ कि हुँदैन भन्ने एउटा प्रश्न उब्जाएको छ ।

कोरोनाविरुद्ध खोप बनाइरहेका अधिकांश अनुसन्धान संस्थाहरूले पुरानो  ढाँचाको भाइरसको नमूनालाई आधार मानेका थिए । 

खोप बनिसकेपछि नयाँ किसिमको भाइरसविरुद्ध प्रभावकारी हुन्छ कि हुँदैन भन्नेमा अनुसन्धाताहरूले शंका व्यक्त गरेका छन् ।

वैज्ञानिकहरूले संसारभरिको कोरोना संक्रमण तथ्यांक मूल्याकंन गर्दा पुरानोभन्दा नयाँ खालको भाइरस तीव्र गतिले फैलिएको पाएको दाबी गरेका छन् । 

अनुसन्धानमा संलग्न रहेका जैविक वैज्ञानिक बेट्टे कोर्बरले जर्नलमा लेखेका छन्, ‘नयाँ किसिमको भाइरस पहिलेको तुलनामा बढी संक्रामक रहेको हाम्रो निष्कर्ष छ।’ ‘तर, उक्त भाइरसले संक्रमित व्यक्तिलाई पहिलेजस्तो शिथिल पार्ने गरी बिरामी पारेको फेला परेको छैन’।

सो आधारमा  कोभिड–१९ जति फैलिँदै जान्छ, यो कम भयानक हुँदै जाने वैज्ञानिकहरूको अनुमान छ।  संक्रमण बढ्दै गएपनि शिथिल बिरामी हुने वा मृत्युको मुखसम्म पुग्ने सम्भावना कम हुन्छ ।

अनुसन्धान टोलीले युरोप र अमेरिकाभरिका विभिन्न कोरोना संक्रमित व्यक्तिबाट नमूना संकलन गरी यस्तो निष्कर्ष निकालेको हो । अनुसन्धाताहरूले पहिले र अहिलेको भाइरस संक्रमणको प्रवृत्ति विश्लेषण गरेका थिए ।

उक्त अनुसन्धानअनुसार, जति बेला बेलायत र अमेरिकामा पहिलो चरणको महामारी फैलिएको थियो, त्यो समयमा त्यहाँका सबै ठाउँमा ‘डी६१४’ भनिने पुरानो स्वरूपको भाइरस देखिएको थियो । कतै पनि ‘जी६१४ भनिने’ नयाँ खालको भाइरसको उपस्थिति थिएन । विस्तारै युरोपेली सहरहरूमा कोरोना भाइरसले आफ्नो ढाँचा परिवर्तन गरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।

 मार्चको अन्त्यपछि यस्तो किसिमको भाइरस संसारभरी  ह्वात्तै बढेको उनीहरुको भनाइ छ ।

बेलायतको अस्पतालमा भर्ना भएका एक हजार कोरोना संक्रमितको नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमणको प्रभाव सामान्य देखिएको छ । पहिलेको तुलनामा उक्त नयाँ भाइरसले बिरामीलाई त्यति हानि गरेको पाइएको छैन ।

अनुशन्धानकर्ताका अनुसार नयाँ ढाँचाको कोरोना भाइरस मान्छेको माथिल्लो श्वासप्रश्वास प्रणालीमा तीव्र गतिले वृद्धि हुने गरेको पाइएको छ । जसमा नाक, घाँटी लगायत भाग पर्छन् । सोहीकारण उक्त भाइरसले धेरै जनालाई संक्रमित पार्न सक्छ ।

  

सिएनएन

Last modified on 2020-07-07 07:41:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts