कोरोना भाइरस नेपालः कोभिड-१९ बाट मृत्युपछि शव व्यवस्थापन कसरी गरिन्छ?



Download our app to get more features

काठमाडौं, २४ असार । कोरोनाभाइरस सङ्क्रमणका कारण अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।

जातीय संस्कार अनुसार शव जलाउने वा गाड्ने गरिएको जानकारी जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

सङ्क्रमितले प्रयोग गरेको कपडा वा शवलाई छुँदा कोरोनाभाइरस सर्ने चार प्रतिशत मात्र सम्भावना हुने डा. गौतमले औँल्याए।

परिवार र आफन्तले डराएर शव छुन नचाहेका कारण सुरक्षाकर्मीले सद्गति गर्नु परेको उनको भनाइ छ।

सुरक्षा व्यवस्था अपनाएर परिवारलाई परम्परा अनुसार शवको सद्गति गर्न दिन सकिने डा. गौतमको भनाइ छ।

अहिलेसम्म मृत्यु भएकामध्ये कति जलाइयो र कति गाडियो भन्ने तथ्याङ्क नभएको उनले बताए।

शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य सङ्गठनले कार्यविधि बनाएको छ।

त्यसैको अनुशरण गरेर नेपाल सरकारले पनि शव व्यवस्थापन कार्यविधि तय गरेको छ।

शव व्यवस्थापन विवाद
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका कोरोनाभाइरस सङ्क्रमित दुई व्यक्तिको शव व्यवस्थापनमा स्थानीय सर्वसाधारण र सरकारी अधिकारीबीच विवाद हुँदा प्रहरीले बल प्रयोग गर्नुपर्ने अप्रिय अवस्था सिर्जना भयो।

सेती नदीको घाटमा शवको सद्गतिका लागि लैजाँदा स्थानीयले अवरोध सिर्जना गर्न खोजेका थिए।

अवरोध गर्ने प्रयास गर्नु पछाडिको कारण कोरोनाभाइरस सङ्क्रमण शवको माध्यमबाट समुदायमा फैलन्छ भन्ने सर्वसाधारणमा त्रास रहेको पाइएको छ।

पोखरा महानगरपालिका वडा नं ११ का अध्यक्ष मोहन बाँस्तोलाले अस्पतालबाट सोही वडामा पर्ने रामघाट नजिक हुँदाहुँदै स्थानीय जनप्रतिनिधिलाई जानकारी नदिई सोही वडाको अर्को घाटमा लगिएकोमा मात्र आपत्ति भएको बताए।

शव व्यवस्थापनमा सघाउनु जनप्रतिधिको पनि दायित्व रहेको उनको भनाइ छ।

पछिल्लो पटक गोरखा जिल्लामा पनि शव व्यवस्थापनमा बल प्रयोग गर्नुपरेको घटना दोहोरिएको छ।

यसैबीच पोखरा महानगरपालिका क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा भविष्यमा विवाद नआओस् भनी ठाउँको प्रबन्ध गरिएको जानकारी महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले दिएका छन्।

गोरखाको घटनापछि मन्त्रालयका प्रवक्ता गौतमले कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको शवबाट कोरोनाभाइरस नसर्ने भन्दै जनमानसमा रहेको आशङ्का मेटाउने प्रयास गरेका छन्।

उनी भन्छन्, सङ्क्रमितको शव जमीनमा खाल्डो खनेर गाड्ने जलाउने वा अन्य तरिकाले आफ्नै रीतिरिवाज अनुसार अन्त्येष्टि गर्न सकिन्छ।

हाल शव व्यवस्थापन गर्दा सुरक्षात्मक सामग्री प्रयोग गरेका सीमित सेनाबाट हुँदै आएको पाइएको छ ।

शवबाट कुन मात्रामा र कसरी सङ्क्रमण फैलन्छ ठ्याक्कै भन्न नसकिए पनि सामान्यत सङ्क्रमितको मृत्यु भएको १० घन्टापछि अरूमा सङ्क्रमण फैलने सम्भावना कम हुने जनस्वास्थ्य विद् डा. विनोद विन्दु शर्माको भनाइ छ।

शवको व्यवस्थापन गर्दा पर्याप्त सतर्कता अपनाउनु पर्ने कार्यविधिमा विस्तारपूर्वक उल्लेख गरिएको छ।

शव व्यवस्थापन कार्यविधि
शव व्यवस्थापन कार्यविधि २०७६ का अनुसार कोभिड-१९ बाट मरेका ब्यक्तिका शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरे पनि शव सद्गगतको क्रममा अपनाउनु पर्ने कार्यविधि तय गरिएको छ।

सद्गगत गर्नु पूर्व आफ्नो कूल परम्परा अनुसार शवलाइ नछोई कम्तीमा एक मिटर टाढावाट पालैपालो हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ।

डव्लूएचओको निर्देशिकामा पनि शवलाई र छुन नपाउने र शव हेर्न कम्तीमा एक मिटरको दूरी कायम गर्ने व्यवस्था छ।

शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कारका लागि लैजाने क्रममा अस्पताल एम्बुलेन्सका कर्मचारी सद्गति गर्ने व्यक्तिहरू मृतकका आफन्तजनले पञ्जा, चश्मा, टोपी मास्क सहितको पीपीई प्रयोग गर्नुपर्ने मापदण्ड तय गरिएको छ।

शवलाइ अन्तिम संस्कार गर्ने सम्बन्धमा सांस्कृतिक छनोट र उपलब्ध श्रोतलाई ख्याल गर्नुपर्ने डव्लूएचओको सुझाव छ।

बिबिसी नेपाली

Last modified on 2020-07-08 20:55:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts