सवारीसाधन चल्न दिने सरकारको निर्णय, विज्ञ भन्छन्ः ‘सङ्क्रमणको ठूलो जोखिम’



Download our app to get more features

सरकारले सार्वजनिक यातायात सशर्त सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनका क्रममा बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सवारीसाधन सञ्चालनसम्बन्धी निर्णयबारे जानकारी गराएका हुन् ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई ध्यानमा राख्दै गत जेठ २८ र असार १५ गते गरिएको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा सरकारले परिमार्जन गरेको हो ।

काठमाण्डू उपत्यकाका तीन जिल्ला र उपत्याका बाहिरका सम्बन्धित जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको हो, मन्त्री खतिवडाले भने ।

शर्तहरू के छन् ?
उनका अनुसार काठमाण्डू उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारीसाधन चालकबाहेक दुईजना र एकै परिवारको भए बढीमा पाँच वर्षसम्मको बच्चा जोडिएर दुई जनाबाहेक काखमा बस्ने गरी यात्रा गर्न पाउने छन् ।

ट्याक्सी सञ्चालनबारे पनि सरकारले यसअघिको निर्णयमा परिमार्जन गरेको छ ।

जसअनुसार काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी चालकबाहेक बढीमा दुईजना र परिवारभित्रको भए पाँच वर्षभित्रका बालबालिका समेतले यात्रा गर्न पाउने छन् ।

काठमाण्डू उपत्यकाको हकमा उपत्यकाभित्र सबै जिल्लामा र अन्य जिल्लाको हकमा यात्रुवाहक सार्वजनिक यातायात चालकसहित सीट क्षमताको बढीमा ५० प्रतिशतसम्म यात्रु रहने गरी एक पङ्क्तिको एक सीटमा सामाजिक दूरी कायम हुने गरी एकजना यात्रु राख्नुपर्ने मन्त्री खतिवडाले बताए ।

लामो समयसम्म यातायात क्षेत्र सञ्चालन नहुँदा अन्य क्षेत्रमा पनि प्रतिकूल असर पर्ने व्यवसायीहरूको भनाइ छ ।

सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने, यात्रु चढ्ने सयममा सवारीसाधनको ढोकामा र भित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने तथा सवारीसाधनलाई दैनिक निःसङ्क्रमण गर्ने गरी सञ्चालन गर्नुपर्ने सरकारी निर्णय छ ।

सङ्क्रमणको जोखिम
तर  यातायातविद् आशिष गजुरेलले सरकारी मापदण्डअनुसार सवारीसाधन सञ्चालन नगरिएमा त्यसले सङ्क्रमणको जोखिम अझ बढ्न सक्ने खतरा औँल्याउँछन् ।

 'पहिलापहिला यात्रु कोचाकोच गरेर उनीहरू कमाउँथे। अहिले आएर सीटको आधा क्षमतामा यात्रु राख्न पाउने यो नियम मानेर चलाउनेमा मलाई शङ्का छ ।
यदि सरकारले भनेका कुरा पूर्ण रूपमा पालना नभए अब त सङ्क्रमण अझ बढ्ने जोखिम रहन्छ', उनले थपे ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अहिले सार्वजनिक यातायात सञ्चालन गर्ने उपयुक्त समय भइनसकेकोतर्फ सचेत गराउँछन् ।

'अहिले आवागमन र भिडभाड बढ्नु खतरनाक हुन्छ, सार्वजनिक यातायात खोल्न दिने समय भएको छैन', उनले भने ।

सरकारको तथ्याङ्कले के भन्छ थाहा छैन तर सङ्क्रमण एकदम फैलिसकेको देखिन्छ ।

बिबिसी नेपालीकाे सहयाेगमा

Last modified on 2020-07-09 21:21:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts