नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ८ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, २६ असार । नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ८ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १ सय २० जना कोरोना संक्रमित निको भएर घर फर्केको बताएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक सय २० जना निको भएर डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ हजार ११ पुगेको बताए  ।

उनले पछिल्लो २४ घन्टामा नेपालका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिँदै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ६ पिसिआर परीक्षण भएको छ भने हालसम्म पिसिआर परीक्षणको संख्या २ लाख ७५ हजार ९ सय ७५ पुगेको छ । हालसम्म नेपालका विभिन्न स्थानमा २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार ६ सय ३ जना आइसोलेशनमा रहेका छन् ।

प्रवक्ता डा गौतमले हालसम्म नेपालका ७७ मध्ये ६ जिल्ला कोरोना शून्य भएको जानकारी समेत दिए । ती जिल्लामा भोजपुर, सोलुखुम्बु, धनकुटा, मनाङ, मुस्ताङ र हुम्ला रहेका छन् ।

Last modified on 2020-07-10 16:34:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts