सुदूरपश्चिममा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झर्यो



Download our app to get more features

धनगढी, २८ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको दैनिक सङ्क्रमण घट्दो क्रममा छ । 

एक सातायता प्रदेशमा दैनिक कोरोनाबाट सङ्क्रति हुने दर घट्न सुरु भएकोमा शनिबारसम्म सो क्रम जारी रहेको हो ।

शनिबार पनि सुदूरपश्चिममा तीन जनामा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेतीको प्रयोगशालामा शनिबार दुई सय ९० जनाको कोरोना परीक्षण भएकोमा तीन जनाको रिर्पोट मात्र पोजेटिभ आएको हो । यसअघि शुक्रबार पनि प्रदेशमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका एक र अछामका एक पुरुष, काठमाडौँमा भएको परीक्षणमा डोटी र कैलालीका एक÷एक जना र दैलेखमा भएको परीक्षणमा बाजुराका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसअघि दैनिक बढिमा तीन अंकमा कोरोना सङ्क्रति भेटिरहेका सुदूरपश्चिममा पछिल्लो समय त्यो सङ्ख्या एक अङ्कमा झरेको हो । यसअघि  प्रदेशमा सबैभन्दा बढि एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो ।

सुदूरपश्चिममा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार नौँ सय १४ पुगेको छ ।

८ जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट एक हजार दुई सय ६७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक हजार दुई सय ६७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना सङ्क्रमितलाई अस्पताल र क्वारेन्टाइनबाट घर पठाईएको छ ।

यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना सङ्क्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । यस्तै सुदूरपश्चिम प्रदेशका ८० जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ ।

२५ हजार ६ सय ४३ जनाको पिसिआर परीक्षण, ९ सय ८ को रिर्पोट आउन बाँकी
सुदूरपश्चिममा नौँ सय ८ जनाको कोरोना परीक्षणको रिर्पोट आउन बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीले नमूना संकलन भएका मध्ये नौँ सय ८ जनाको रिर्पोट आउन बाँकी रहेको जनाएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएका ६ सय ३१ जनाको रिर्पोट आउँन बाँकी छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई सय ७७ वटा नमूना परीक्षणको पर्खाइमा छन् ।

प्रदेशमा अहिले सम्म साढे २५ हजार बढिको पीसीआर विधिबाट परीक्षण भएको छ । स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा गरी २५ हजार ६ सय ४३ जनाको परीक्षण भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १३ हजार चार सय २५ र धनगढी प्रयोगशालामा १२ हजार दुई सय १८ जनाको कोरोना परीक्षण भएको हो । जस मध्ये अहिले सम्म तीन हजार नौँ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै प्रदेशमा एक लाख १७ हजार सात सय ३८ जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Last modified on 2020-07-12 10:31:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts