कोरोना भाइरस लकडाउनः परिवार नियोजनका अस्थायी साधन नपाउँदा नेपाली महिलाहरू प्रभावित



Download our app to get more features

काठमाडौं, साउन २१ । लकडाउन हुँदा सुर्खेतकी एक अविवाहित युवती गर्भवती भइन्। प्रेमीले विवाह गर्न नमानेपछि उनले गर्भपतन गर्न चाहिन्, तर लकडाउनका कारण समयमा त्यो गर्न सम्भव भएन।

अहिले एउटा सुधारगृहमा रहेकी उनी अनिच्छित बच्चा जन्माउनुपर्ने भयो भन्ने चिन्ताले मानसिक तनावमा छिन्।

सुर्खेतको भन्दा अलि फरक घटना काठमाण्डूमा पनि देखियो। हुम्लाका एक जोडीले गर्भपतनका लागि लकडाउनका कारण निकै समस्या भोग्नुपर्याे।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै सरकारले लगाएको लकडाउनको पहिलो महिनामा अस्पताल तथा अन्य स्वास्थ्यसंस्थामा सहज रूपमा सेवा लिन जान नपाएका कारण थुप्रै महिलाले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न नपाएको गुनासो टोलफ्री नम्बरमार्फत् गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एक्कासि लगाइएको लकडाउनको समयमा अनिच्छित गर्भधारण गर्न आफूहरू बाध्य भएको भन्ने गुनासाहरू आएको मेरी स्टोप्स इन्टर्न्याश्नलले सञ्चालन गरेको मेरीसाथी हेल्पलाइनकी व्यवस्थापक हिमा मिश्रले बताइन्।

उनका अनुसार लकडाउन मार्च महिनाको अन्त्यमा लगाइएपछि एप्रिल महिनामा आएका ८०० जति कल ’अनिच्छित गर्भधारण’सँग सम्बन्धित थिए।

तर सरकारले लकडाउनभित्रै परिवार नियोजनसम्बन्धी सेवा पनि अत्यावश्येक भनी आफूअन्तर्गतका निकायहरूलाई परिपत्र गरेपछि भने त्यो सङ्ख्या बिस्तारै घटेको उनले बताइन्।

मेरी स्टोप्सको तथ्याङ्कअनुसार इच्छा नभई गर्भ रहेको भन्दै मे महिनामा ७०० जति गुनासाहरू आएका थिए। तर जुन र जुलाईमा त्यो सङ्ख्या घटेर ५०० को हाराहारीमा छ।

अविवाहित र विवाहित महिलाले पनि नचाहँदानचाहँदै गर्भधारण गर्नुपरेको गुनासो थुप्रै आएको मेरी स्टोप्सकी मिश्रले बताइन्।

“महिलालाई बच्चा जन्माउन मन नलागे पनि साधनको अभावले गर्भवती हुनुपरेको घटनाहरू पनि आएका छन्। लकडाउन कडा भएको बेला गर्भपतन गराउन जान खोजे पनि यातायातको साधन नहुँदा र परिवारलाई बहाना बनाउन नसकेर पनि कतिले गर्भपतन गर्न सकेका छैनन्,“ मेरीसाथी हेल्पलाइनकी व्यवस्थापक हिमा मिश्रले भनिन्।

त्यस्ता कतिपय घटनामा सेवाग्राहीलाई अस्पतालसम्म पुर्याउन आफूहरूले सहजीकरण गरिदिएको उनले बताइन्।

संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोषले पनि कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिले ठूलो सङ्ख्यामा अनिच्छित गर्भधारण हुने जोखिम बढेको जनाएको थियो।

प्रजनन स्वास्थ्य र गर्भपतनका क्षेत्रमा काम गर्ने नेपालको सेन्टर फोर रिसर्च अन इन्भाईरन्मन्ट, हेल्थ एन्ड पपुलेशन एक्टिभिटीज (कृपा) नामक संस्थाले कोरोनाभाइरसका कारण खासगरी महिलाको प्रजनन स्वास्थ्यमा कस्तो असर परेको छ भन्नेबारे एउटा अध्ययन गरेको छ।

उक्त संस्थाका सहनिर्देशक डा. महेश पुरीका अनुसार लकडाउनका कारण परिवार नियोजनका अस्थायी साधनको सेवा नपाउँदा थुप्रै महिलाहरूमा असर गरेको छ।

सन् २०१६ मा भएको डेमोग्राफिक हेल्थ सर्भेका अनुसार बच्चा जन्माउन नचाहने वा पछि जन्माउन चाहने महिलामध्ये २४ प्रतिशतले अस्थायी साधनको प्रयोग गर्न पाएका छैनन्।

अहिले लकडाउनका कारण त्यस्ता महिलाको सङ्ख्यामा वृद्धि भएको बताइन्छ।

आफूले यसबीचमा गरेको अध्ययनले देखाएको तथ्याङ्कबारे बोल्दै कृपा संस्थाका सहनिर्देशक पुरीले भने, “परिवार नियोजनसम्बन्धी अस्थायी साधनको प्रयोग अहिले जति भइरहेको छ, त्यसमा कोभिड(१९ को कारणले १० प्रतिशतमा मात्रै कमी आएको खण्डमा थप १,३१,७०० महिलाको परिवारनियोजनसम्बन्धी साधनको पहुँचमा कमी आउँछ।“

असुरक्षित गर्भपतन
यसरी पहुँचमा कमी आएपछि स्वतस् इच्छाविपरीत महिलाहरू गर्भवती हुने र त्यसले असुरक्षित गर्भपतनको जोखिम रहने विज्ञहरू बताउँछन्।

लकडाउनका बेला विशेषतः सुरक्षित मातृत्व, परिवार नियोजनका कार्यक्रमहरू नियमित हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लकडाउन सुरु भएलगत्तै स्वास्थ्य मन्त्रालयले सुरु गरेको हटलाइन सेवामा परिवार नियोजनको अस्थायी साधनको उपलब्धताबारे थुप्रै जिज्ञासा आउने गरेको परिवार कल्याण महाशाखाअन्तर्गतको परिवार नियोजन तथा स्वास्थ्य प्रजनन शाखा प्रमुख कविता अर्यालले बताइन्।

“एकाएक लकडाउन भएपछि मानिसहरूलाई स्वास्थ्य केन्द्र वा मेडिकलसम्म गएर सेवा लिनका लागि समस्या भएको गुनासो आएको थियो,“ अर्यालले भनिन्।

कस्ता साधन
परिवार नियोजनको अस्थायी साधनमा पुरुषले प्रयोग गर्ने समेत गरी पाँच प्रकारका साधन प्रयोग हुन्छ।

परिवार कल्याण महाशाखाका अनुसार महिलाले प्रयोग गर्नेमा डिपो (प्रत्येक तीन महिनामा लगाइने सुई) मासिक १,००,००० भन्दा बढी हुन्छ।

त्यसबाहेक पिल्स १,३१,०००, आईयूसीडी २,००० र इम्प्लान्ट ६,००० को दरले खपत हुन्छ।

अर्यालका अनुसार परिवार नियोजनका विभिन्न खालका साधनको अभाव छैन।

मानसिक स्वास्थ्यमा पनि असर
तर यातायातको असुविधा र सुरुको समयमा अस्पताल र मेडिकलहरूले परिवार नियोजनसम्बन्धी सेवा सहज रूपमा नदिएका कारण समस्या भएको उनले बताइन्।

उनका अनुसार त्यतिबेला देखिएको समस्या अहिले लकडाउन खुलेको अवस्थामा पनि टरिसकेको छैन।

देशका विभिन्न सहरी तथा ग्रामीण भेगबाट यसबारे गुनासोहरू आएपछि स्वास्थ्य मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरूसँग भर्चूअल बैठक गरेर समस्याको समाधानका उपाय खोजेको उसले जनाएको छ।

त्यस्तो छलफलका क्रममा वैदेशिक रोजगारीमा गएका महिला र पुरुष घर फर्किएको अवस्थामा पनि इच्छाविपरीत रहेका गर्भले महिलाहरूलाई असर गरेको पाइएको छलफलमा सहभागीहरूको अनुभव छ।

मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङले एक्कासि लगाइएको लकडाउनका कारण थुप्रै महिलाहरूमा शारीरिक साथै मानसिक असरहरू परेको छ।

“कतिले गर्भपतनका लागि असुरक्षित र घरेलु उपाय अपनाएर शारीरिक समस्या भोगिरहेका छन् भने कतिले गर्भपतन गर्न नपाएका कारण मानसिक तनाव पनि भोगिरहेका छन्,“ तामाङले भनिन्।

 

बिबिसी

Last modified on 2020-08-05 08:16:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts