कोरोना संक्रमण रोकथामका लागि जोर बिजोर प्रणाली, के घट्ला त संक्रमण ?



Download our app to get more features

काठमाडौं, २२ साउन । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकासहितका जिल्लामा आजदेखि गाडीमा जोर बिजोर प्रणाली लागू गरेको छ । दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा जोर बिजोर लागू गरिएको हो । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ ।

दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । गृह मन्त्रालयकाअनुसार अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन ।

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ ।

के जोर बिजोर प्रणालीले घट्ला त संक्रमण ?
कोभिड–१९ को विश्वव्यापी महामारीसँगै सूचनाको प्रवाह धेरै भएकाले  साधारण नागरिकदेखि नीति–निर्मातालाई समेत कुन कुरा सही र कुन कुरा गलत भन्ने अन्यौलको अवस्था छ । जसले गर्दा रोग नियन्त्रण तथा रोकथामका लागि असर पर्न जाने देखिन्छ । अहिलेको अवस्था यसैको उदाहरण बनेको छ । थोरै गाडी चलाउदा कोरोनाको संक्रमण कम हुन्छ भनिए पनि यात्रुको संख्या धेरै हुने भएकाले झन् संक्रमण फैलिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए । सबै कार्यलय खुल्ने तर सार्वजनिक गाडी जोर बिजोर हुँदा झनै समस्या बढ्ने उनको दावी छ ।

किन छैन जोर बिजोर प्रणाली प्रभावकारी ?
– कोरोना  एक व्यक्तिबाट अर्काेमा सजिलै सर्ने रोग भएकोले थोरै गाडी चलेपछि यात्रुको संख्या धेरै हुन्छ र थप जोखिम बढ्ने देखिन्छ  ।
– जोर  बिजोर प्रणालीले महत्वपुर्ण भूमिका नखेल्न पनि सक्छ, किनभने धेरैको जनचेतना अझै पनि कम देखिन्छ  ।
– बाहिर जादा सुरक्षित तरिका अपनाउनु पर्छ । अन्यथा यो प्रणालीले काम गर्दैन । अहिले पनि धेरैले सामान्य विधि पनि नमानेको देखिन्छ ।
– अनिवार्य काममा जानु पर्ने र सार्वजनिक गाडीको प्रयोग गर्नेलाई झन् संक्रमण हुने डर हुन्छ ।
– भइ रहेको अवस्थामा भन्दा गाडी आधा कम भएपछि सामाजिक दुरी कायम गर्न अप्ठ्यारो  हुन्छ ।

विकल्प के त ?
– यदि साच्चै संक्रमण रोक्ने हो भने केही समयको लागी सबै कार्यालय बन्द गर्नु पर्छ ।
– दशदेखि चौध दिनसम्म सबै कार्यालय बन्द गर्दा संक्रमण धेरै हदसम्म रोक्न सकिन्छ । तर, जोर बिजोर प्रणालीले रोक्न सकिन्न ।

यो अवस्थामा घर बाहिर निस्कनै परेमा ध्यान दिनुपर्ने कुराहरु:
– अत्यावश्यक काम नभएसम्म घर बाहिर नजाने ।
– घरबाहिर जानै परेमा अनिवार्य मास्क लगाउने  ।
– कसैसँग हात नमिलाउने, अङ्कमाल नगर्ने  
– गाडीमा बस्दा र बोल्दा एक मिटर टाढाको दुरीमा बस्ने ।
– गाडीभाडा पहिलेनै छुट्याएर राख्ने, जसले गर्दा फिर्ता पैसा आफुले राख्न नपरोस । यदि लिनै पर्याे भने पैसा धुनु पर्देन केही समय घाममा सुकाएर राख्दा हुन्छ ।
– लामो समय यात्रा गर्नै परेमा समय समयमा हातमा स्यानिटाईजर लगाउने ।
– गाडीका चालक तथा सह–चालकले मास्क, पन्जा, चस्मा लगायतका सुरक्षा सामाग्रीको प्रयोग गर्ने ।
– गाडीमा कोरोना संम्बन्धी सही सूचना टासेर राख्ने ।
– यात्रुलाई गाडीमा चढ्दा र ओराल्दा एक मिटर टाढाको दुरी कायम गराउने  ।
– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने  
– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने
– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने ।

Last modified on 2020-08-06 10:34:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts