कोरोना संक्रमितको सफल व्यवस्थापन गर्दै भरतपुर अस्पताल, अधिकांश घर फर्किए



Download our app to get more features

चितवन, २३ साउन । भरतपुर अस्पतालमा अहिले काेराेना भाइरस (काेभिड-१९) संक्रमित पुष्टि भएका तिनजना बिरामी उपचाररत छन् ।

शुक्रवार भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गर्दा भरतपुर महानगरपालिका १ का ४६ वर्षीय पुरुष र ३८ वर्षीया महिलामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

बुधवार पनि साेही ठाउँका ७९ वर्षीय वृद्वमा संक्रमण देखिएकाे थियाे । ‘ट्राभल हिस्ट्री’ नभएका ती वृद्वमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । शुक्रवार काेराेना संक्रमण पुष्टि भएका ती दुई जना संक्रमित वृद्वका छाेरा र बुहारी हुन् । वृद्वमा संक्रमण पुष्टि भएपछि उनकाे हेरचाह गर्ने छाेरा र बुहारीमा समेत काेराेना परीक्षण गरिएकाे थियाे ।

याेसँगै चितवनमा अहिलेसम्म काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि हुनेकाे संख्या एक सय २० पुगेको छ । भरतपुर अस्पतालमा अन्य जिल्लाका समेतगरि ९६ जना संक्रमितकाे उपचार गरिएकाे अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । अन्य संक्रमित काेराेनामुक्त भएर घर फर्किएसँगै अब तिनजना बिरामी मात्र उपचाररत रहेका उनले बताए । बुधवार र शुक्रवार संक्रमण देखिएका एकै परिवारका तिन जनालाई समेत अस्पताल ल्याउने बारे छलफल भईरहेकाे उनले जनाए ।

उनका अनुसार जिल्ला भित्र संक्रमण देखिनेमा भरतपुर महानगरपालिका भित्रका ६३ जना, माडी नगरपालिकामा ४१ जना, राप्ती र कालिका नगरपालिकामा समान ५ / ५ जना, त्यस्तैगरि रत्ननगर र खैरहनी नगरपालिकामा समान ३/३ जना रहेका छन् ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका सबै भन्दा धेरै छन् । त्यस्तै, जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा अहिलेसम्म संक्रमित भेटिएको छैन । सुचना अधिकारी पौडेलले जनाए अनुसार जिल्लाभर रहेका संक्रमित मध्ये अधिकांश विदेशबाट आएकाहरू छन् । संक्रमित हुनेमा १०२ जना पुरुष र १८ जना महिला हुन् । भरतपुर अस्पतालमा उपचार गरिएको मध्य ९१ जना निको भएर घर फर्किसकेका छन् । त्यसैगरि ३ जना अस्पतालमा उपचाररत छन् । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । अन्य संक्रमितकाे भने स्थानीयस्तरमा नै उपचार गरिएकाे हाे । 

चितवनमा संक्रमण पुष्टि भएका मध्ये एक जना जिल्ला बाहिरका सहित दुई जनाको मृत्‍यु भएको छ । संक्रमित भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय वृद्वकाे जेठ २७ गते बिहान ७ बजेर ५ मिनेटमा भरतपुर अस्पतालको आईसीयूमा उपचारकाे क्रममा निधन भएको थियाे । त्यस्तै, ६/७ महिना अघि देखि फोक्सोको क्यान्सर भएका कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको पनि भरतपुर अस्पतालको आईसीयूमै उपचारको क्रममा असार १३ गते शनिवार बिहान ७ बजे मृत्‍यु भएको थियाे । उनीहरू अन्य अस्पतालबाट रिफर भएर आएका थिए ।

यता, असार ५ गते भरतपुर महानगरपालिका वडा नं. ६ का ७४ वर्षीया क्यान्सरका बिरामी वृद्ध र उनकाे ७३ वर्षिया श्रीमती, त्यसै गरि जेठ १८ गते हेटौंडा उपमहानगरपालिका-१ निवासी २५ वर्षीया पाँच महिनाकी गर्भवती महिलाले समेत काेराेना जितेर डिस्चार्ज भईसकेका छन् ।

त्यस्तैगरि भरतपुर अस्पतालमा डायलाइसिस गराएका संक्रमित पुरूष काेराेनामुक्त भएर घर फर्कि सकेका छन् । मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका-१५ का ३३ वर्षीय ती पुरूष काेराेनामुक्त भएर साउन १२ गते घर फर्किएका हुन् । अस्पतालका अनुसार असार १७ गते अस्पताल भर्ना भएका ती पुरूषमा असार २० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । साउन ९ गतेकाे रिपोर्टमा ती व्यक्ति काेराेनामुक्त भएका भए पनि अन्य उपचार पश्चात् साउन १२ गते घर भर्किएका थिए ।

नियमित बिरामी, स्वास्थ्यकर्मी र बिरामीकाे आफन्तलाई काेराेना संक्रमणबाट जाेगाएर उपचार गर्नु चुनाैतीपूर्ण भएता पनि उचित व्यवस्थापनका कारण त्याे सम्भव भएकाे अस्पतालका अध्यक्ष डा. भाेजराज अधिकारीले बताए । अस्पतालको काेभिड आईसीयूमा बिरामी रहेकै ठाउँमा छुट्टै मेसिन जडानगरि सम्पूर्ण व्यवस्था मिलाएर उहाँकाे डायलाइसिस गरिएकाे उनले जनाए । सम्भवतः नेपालमा संक्रमितलाई यसरी सेवा प्रदान गरेकाे पहिलो हुन सक्ने उनकाे भनाई छ ।

काेभिड– १९ मेडिकल टिम, डायलाइसिस युनिट र अन्य स्वास्थ्यकर्मी लगाएतकाे सामूहिक प्रयासबाट उहाँकाे उपचार सम्भव भएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । ‘अन्य नियमित डायलाइसिस गराउनु पर्ने बिरामीलाई सेवा प्रभावित नहुनेगरि छुट्टै व्यवस्था गरिएकाे थियाे ।’ उनले भने– ‘आगामी दिनमा समेत यस्ता बिरामी आउँन सक्ने हुँदा छुट्टै व्यवस्था गरिएकाे छ ।’

साउदी अरबबाट फर्किएका ती मिर्गौला रोगी पुरूषलाई दोस्रोपटक कोरोना संक्रमण भएको अस्पतालले जनाएकाे छ । उनी त्यहीँ नै कोरोना संक्रमण भएर निको भएपछि नेपाल आएका थिए । उनले त्यहाँ रहदादेखि नै नियमित डायलाइसिस गराउर्दै आएकाे बताइएकाे छ ।

यता जेठ २६ गते चितवनमा पहिलो पटक चिकित्सक र नर्समा काेराेना संक्रमण देखिएकाे थियाे । त्यतिबेला अन्य अस्पतालका दुई जना चिकित्सक र एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरू काेराेना संक्रमणमुक्त भईसकेका छन् । त्यसपछि भने अहिलेसम्म चितवनमा कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएकाे छैन ।

Last modified on 2020-08-08 09:57:44

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts