स्वास्थ्य मापदण्ड पालना गरे कोरोना भएपनि घरमै बस्न सकिने



Download our app to get more features

काठमाण्डौं, साउन २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड,उपकरण डाक्टर लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न  आग्रह गरेको छ ।

दिनदिनै संक्रमण बढ्दै गएकाले बिकराल अबस्था आउन सक्ने भन्दै मन्त्रालयले यस्तो घोषण गरेको हो । सरकारले अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका, सङ्क्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमित घरमा नै बस्न सक्ने जनाएको छ । 

पछिल्लोपटक सङ्क्रमण देखिएका कतिपय घरमै बसेका छन् । घरमा बस्न पालना गर्नुपर्ने मापदण्ड यसअघि नै जारी भैसकेको छ ।

घर आइसोलेशनमा रहन सक्ने अवस्था 

कोरोना संक्रमणको कुनै लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिहरु आफ्नै घरमा बस्न र उनीहरुलाई घरमा नै राख्न सकिन्छ । तर सङ्क्रमितले घरमा बस्दा वा घरमै राख्न चाहेमा मन्जुरीनामा गराउनुपर्छ ।

घरमा बस्ने सङ्क्रमितले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

लक्षण नदेखिएका सङ्क्रमित विशेष सावधानी अपनाउँदै घरमा बस्न सक्ने गरी सरकारले मापदण्ड जारी गरेको छ ।  घरमा आइसोलेशनमा बस्ने सङ्क्रमित तथा सङ्क्रमितका परिवारका सदस्यले पनि मास्क लगाउने, दूरी कामय गर्ने, बेला बेला साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने छ।

 सङ्क्रमित घरमै बस्दा पालना गर्नुपर्ने केही नियमहरू 

१. पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्छ ।

२. उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्रीको परिवारका सदस्यमार्फत मगाउने ।

३. खानपानमा सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खानुपर्छ ।

४. संक्रमितले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्छ ।

५. बाथरुम या शौचालयको छुट्टै व्यवस्था मिलाउने ।

६.  बाथरुम या शौचालय सामुहिक रुपमा प्रयोग गर्नुपर्ने भएमा सङ्क्रमितले प्रयोग गरेपछि सङ्क्रमणमुक्त बनाएर प्रयोग गर्ने ।

७. हातधुने बेसिन, दाँत माझ्ने ब्रस लगायतका सामानहरु छुट्टै ठाउँमा राखेर प्रयोग गर्ने 

८. ढोका, ढोकामा ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु जुन धेरै व्यक्तिले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरु सङ्क्रमणमुक्त बनाउने

९. घरमा हातधुने साबुन र पानीको पर्याप्त व्यवस्था गरी सबै सदस्यले समय समयमा हात सफा गर्ने 

१०. भाँडाकुँडा र कपडा सफा गर्दा सकेसम्म पञ्जा लगाएर धुने

११. सङ्क्रमित, सङ्क्रमितको हेरचाहमा खटिनेले अनिवार्य मेडिकल मास्क प्रयोग गर्ने

१२. सङ्क्रमितले दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने

१३. सङ्क्रमित स्वयंले वा हेरचाहमा खटिनेले स्वास्थ्य अवस्थाबारे दैनिक कम्तीमा २ पटक सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउने ।

१४. भेटघाट सकेसम्म नगर्ने र गर्नुपर्ने खण्डमा दूरी कायम गर्न नबिर्सने ।

कोरोना सङ्क्रमण छ, सामान्य रुघाखोकी र ज्वरो मात्रै छ या स्वास्थ्यमा खासै असर गरेको छैन भने घरमै बस्न सकिन्छ । त्यसका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरी घरमै बस्ने छुट्टै व्यवस्था गर्नुपर्ने हुन्छ ।   ‘घरमा जेष्ठ नागरिक, गर्भवती, सुत्केरी भएकाहरुले थप सचेत बन्न रसङ्क्रमितबाट टाढा राख्न मन्त्रालयले अनुरोध गरेको छ । 

Last modified on 2020-08-08 20:59:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts