जनशक्ति अभाव भएपछि धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशाला बन्द



Download our app to get more features

धनगढी, २८ साउन । गत चैत १५ गते बसेको सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।  निर्णय गरेको झण्डै साढे चार महिनापछि प्रदेशको अस्थायी मुकाम धनगढीमा सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्यो ।

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले तामझामका साथ प्रयोगशालाको उद्दघाटन गर्दै धनगढीमै दुईवटा प्रयोगशाला भएको भन्दै परीक्षणको दायरा वृद्धि हुने विश्वास व्यक्त गरे । तर, मुख्यमन्त्रीको विश्वास विपरीत स्वास्थ्य कार्यालय कैलालीमा स्थापना गरिएको प्रयोगशालाबाट परीक्षण सुरु भएपछि अर्को प्रयोगशाला बन्द भएको छ ।

जसले गर्दा धनगढीमा झण्डै चार महिनापछि प्रयोगशाला स्थापना गरेपनि परीक्षणको दायरा तत्काल नबढ्ने देखिएको छ । जनशक्ति अभावको कारण देखाउँदै पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनबाट मंगलबारदेखि नै परीक्षण गर्न बन्द गरिएको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।

उनले उपलब्ध जनशक्तिले दुवै प्रयोगशाला सञ्चालन गर्न सम्भव नभएकाले नयाँ प्रयोशगालाबाट मात्र परीक्षण भइरहेको बताए । संघीय सरकार मार्फत पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पिसिआर मेसिन सञ्चालन गर्ने जनशक्तिलाई नयाँ प्रयोगशालामा खटाईएपछि बन्द भएको हो । 

स्वास्थ्य कार्यालयमा स्थापना गरिएको प्रयोगशालाबाट भने २४ घण्टामा एक हजार दुई सय बढिको कोरोना परीक्षण गर्न सकिने दावी गरिएको छ । तर, प्रदेश सरकारसँग २४ घण्टा नै प्रयोगशाला सञ्चालन गर्न सक्ने जनशक्ति छैन् ।  सेती प्रादेशिक अस्पतालले अहिले १० जना कर्मचारीबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्दै आएको छ ।

१० जनाको जनशक्तिले एउटै प्रयोगशाला सञ्चालन गर्न समेत समस्या भइरहेको दावी गरिएको छ । सेती प्रादेशिक अस्पतालले थप प्राविधिक माग गरेको छैन् । प्रदेशको सामाजिक विकास मन्त्रालयबाट समेत कुनै पहल भएको छैन् । तर सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मन्त्रालयलाई पत्राचार गर्ने तयारीमा रहेको बताए ।

उनले भने, ‘मन्त्रालयलाई पत्र पठाउने तयारीमा छौ । जनशक्ति माग गर्नुपर्ने देखिएको छ ।’ यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जनशक्तिको व्यवस्थापन सेती अस्पतालले नै गर्नुपर्ने बताए ।

‘सेती अस्पतालले नै जनशक्तिको व्यवस्थापन गर्ने हो । रकम आवश्यक भए माग गरोस । जनशक्ति थप गर्दै कोरोना परीक्षणको दायरा बृद्धि गरोस ।’ उनले भने ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनशक्ति व्यवस्थापन गर्ने अधिकार सामाजिक विकास मन्त्रालयलाई दिएको बताएका छन् । 

‘हामीले निर्णय गरिसकेका छौ । जनशक्ति व्यवस्थापनका लागि सम्बन्धीत मन्त्रालायलाइ भनेका छौं । बजेटको अभाव हुने कुरै भएन् ।’ मुख्यमन्त्री भट्टले भने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts