बाजुरामा स्वास्थ्यकर्मी कुटपिट प्रकरणः स्वास्थ्यकर्मी नै ‘झ्याप’ भएपछि घटना घट्यो !



Download our app to get more features

बाजुरा, २९ साउन । गत साउन ११ गते बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीलाई स्थानीय युवाले कुटपिट गरी घाइते बनाएका थिए । राति डिउटी गरिरहेका बेला स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरीमाथि युवाहरुले चेकजाँचको बहानामा कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । 

तत्पश्चता ती युवाहरुलाई कारवाही र सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक र प्रसुति बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका थिए । 

तर, उक्त घटनामा अहिले नयाँ ‘टुइस्ट’ आएको छ । उक्त दिन ती स्वास्थ्यकर्मी समेत मदिराको नशामा लठ्ठ भएका कारण घटना घटेको बताइएको छ । अहेब सिंहराज गिरीले डिउटीमा मदिरा सेवन गरेर सेवामा गएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । आफुमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका गिरीले नै मदिरा सेवन गरेर बिरामीको उपचार गरेको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ ।  

प्रशासन कार्यालय बाजुराले उक्त्त घटनाको छानबिनपछि गिरीलाई कारवाही गर्न बुढीनन्दा नगरपालिकालाई निर्देशन दिएको छ । गिरीलाई नेपाल स्वास्थ्य सेवा ऐन २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार कारवाही गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय पठाउन नगरपालिकालाई पत्रचार गरिएको छ । 

उक्त दिन राती साढे ११ बजे बुढीनन्दा नगरपालिका –६ का केसर भाट सहितको समुहले सिंहराज गिरीमाथि आक्रमण गरेका थिए । तर, उक्त झडप दुवै पक्षले मदिरा पान गरेका कारण भएको बुझिएको छ । अहिले गिरीमाथि आक्रमण गर्ने ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts