धूमपान सम्बन्धि जान्नैपर्ने ३० डरलाग्दा तथ्यहरु

सन्दर्भः विश्व धूमपानरहित दिवस



Download our app to get more features


कुनै जिज्ञासुले एकजना धुम्रपानबिज्ञलाई प्रश्न गरेछन् -“धुमपानले के के नराम्रो गर्छ ?”

अनि विज्ञले प्रश्नको जवाफ प्रश्नले नै दिएछन् –“धुमपानले के नराम्रो चाहिँ गर्दैन र ?”

जिज्ञासु-“ए त्यसो भए श्रीमान् श्रीमति बीच डिभोर्स पनि गराउँछ ? के प्रमाण छ ?”

बिज्ञ-“डोहार्टी ले सन् १९९८ को आफ्नो अनुसन्धान कृतिमै उल्लेख गरेका छन् कि धुम्रपान गर्नेहरुमा डिभोर्सको सम्भावना ५३ प्रतिसत धेरै हुन्छ l”

त्यसपछि ती जिज्ञासु चुप लागेछन् l                                                                                                              

धुमपानले मानव स्वास्थ्यलाई पुर्याउने नराम्रा असरहरुको बारेमा जति कुरा गरे पनि थोरै हुन्छ l ती मध्ये हामी सबैले बुझ्नैपर्ने विभिन्न ३० तथ्यहरु छोटकरीमा तल दिईएको छ l यी तथ्यहरु विभिन्न जर्नल, स्वास्थ्य सम्बन्धि वेबसाइट तथा धुमपान नियन्त्रणमा सक्रिय संघ-संस्थानका प्रतिवेदनबाट लिइएका हुन् l

१‍‍.अन्दाजी ९० प्रतिसत फोक्सोको क्यान्सर धुमपानले गर्दा हुन्छ l

२.दिनमा केवल पाँच खिल्ली चुरोटले हृदयघातको जोखिम दोब्बर हुन्छ l

३.धुमपान गर्ने पुरूषमा बिस्तारै यौन उत्तेजना तथा स्पर्म (sperm) को संख्यामा कमि आउँछ l 

४.धुमपान गर्ने महिलामा गर्भाशयको क्यान्सर हुने र गर्भवती नहुने जोखिम बढि हुन्छ l  

५.गर्भावस्थामा धुमपानले गर्दा गर्भपतन हुने तथा कम तौल भएको शिशु जन्मने खतरा धेरै हुन्छ l 

६.चुरोटको धुँवामा ४००० भन्दा बढि रसायन हुन्छन् जसमध्ये कम्तिमा ७० ओटाले क्यान्सर गराउछन् l

७.मृत जीवजन्तुलाई भण्डार गर्न प्रयोग हुने फर्मल्डीहाइड (formaldehyde), मुसा मार्न प्रयोग हुने बिष आर्सनिक (arsenic), प्रतिबन्धित रसायन डी.डी.टी (DDT), चर्पी सफा गर्न प्रयोग हुने रसायन अमोनिया (ammonia) सबै चुरोट को धुँवामा पाइन्छ l

८.धुमपानगर्ने व्यक्तिले फालेको धुँवाले (second hand smoke) बच्चामा आकस्मिक मृत्यु, फोक्सोको क्यान्सर, दम, निमोनिया तथा अन्य थुप्रै रोगको जोखिम बढ्दछ l

९.धुमपान गर्ने व्यक्तिले फालेको धुँवाले धुम्रपान नगर्ने वयस्कहरुमा पनि मुख तथा श्वास, पिसाबनली, कलेजो, मृगौला तथा पेटको क्यान्सर हुने खतरा बढि हुन्छ l

१०.धुमपानले पक्षघातको जोखिम दुई देखि चार सय प्रतिशतले बढाउँछ l  

११.धुमपानले गिजाको समस्या आउनुका साथै दाँत कुहिने तथा झर्ने समस्या आउँछ l  

१२.धुमपानलेआँखाको समस्या जस्तै मोतिबिन्दु (cataract), रेटिनाको क्षति (retinal damage) आदि गराउँछ l

१३.धुमपानले हड्डी कमजोर भई खिइने समस्या हुन्छ l धुम्रपान गर्नेहरुमा हाड भाँचिने समस्या धेरै हुन्छ l

१४.धुमपानले शरीरको रोगसँग लड्ने क्षमतामा कमि आउँछ र यस्ता व्यक्तिहरुलाई केही स्वास्थ्य समस्या आइपुग्यो भने निको हुन निकै समय लाग्छ जसले गर्दा उपचारको खर्च समेत बढ्छ l

१५ .धुमपान गर्ने व्यक्तिहरु धेरै रिसाहा हुन्छन् र उनीहरुको स्वभावमा  धुम्रपान नगर्ने भन्दा छिटो छिटो परिवर्तन आउँछ l धुम्रपानले निद्रा सम्बन्धि समस्याको जोखिम बढाउँछ l

१६.धुमपानले शरीरको प्रोटिनको नास गर्दछ, छालामा नियमित रक्तसंचार हुनबाट रोक लगाउँछ जसले गर्दा छाला छिटै चाउरी पर्न जान्छ l

१७.धुमपानले धेरै कपाल झर्ने तथा फुल्ने समस्या पनि आउँछ l

१८.धुमपान गर्ने व्यक्तिहरुमा मधुमेहको जोखिम धेरै हुन्छ l

१९.धुमपानले महिलाहरुमा छिटै महिनावारी सुक्ने समस्या (menopause) गराउँछ l

२०.तथ्यांकअनुसार करिब तीन-चौथाइ घरेलु हिंसाका घटनाहरु धुम्रपान तथा अन्य लागुपदार्थको सेवनबाट हुने गर्छन् l

२१ .धुमपानको कारणले गाउँघरमा आगलागीको जोखिम समेत बढ्दछ l

२२.नसल्काई राखेको चुरोटमा निकोटिनको मात्रा धेरै हुन्छ l तसर्थ घरमा नसल्काई राखेको चुरोट सानो बच्चाले निलेमा त्यसमा भएको निकोटिनले बच्चाको ज्यान समेत जान्छ l

२३.रगतको एक खालको क्यान्सर लिउकेमिया (Leukemia) गराउने तत्व बेन्जिन (Benzene)को जोखिमको प्रमुख श्रोत धुम्रपान हो l

२४.धुमपानबाट केही मात्रामा रेडियोधर्मी शिशा (lead) तथा पोलोनियम (polonium) समेत निस्कन्छ l

२५.दोश्रो बिश्वयुद्धमा नरसंहारमा प्रयोग भएको बिषालु रसायन हाईड्रोजन सायानाइड (Hydrogen Cyanide) समेत धुम्रपानबाट निस्कन्छ l

२६.बिश्वमा करिब आठ सेकेन्डमा एक व्यक्तिको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुन्छ l

२७.सि.ओ.पि.डी (COPD) का दश मध्ये आठ बिरामीहरु धुम्रपानको कारणले हुन्छन् र हालसम्म सि.ओ.पि.डी को कुनै उपचार छैन, केवल आयु लम्बाउने चिकित्सा पध्दतिहरु मात्र छन् जुन साधारण मानिसको आर्थिक पहुँचभन्दा माथि छन् l

२८.धुमपान गर्ने व्यक्तिमा मानसिक रोगको जोखिम बढि हुन्छ l

२९ .धुमपानको लतले आर्थिक अभाव हुने, चोरी तथा अपराध वढाउने जोखिम बढि हुन्छ l

३०.धुमपानले स्कुल-कलेज तथा काम गर्ने क्षेत्रलगायत सामाजिक कार्यको सहभागितामा समेत अनुपस्थिति (absenteeism)  बढाउँछ l

 लेखक सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी, काठमाडौंका जनस्वास्थ्य संकायका लेक्चरर पनि हुन् । email: [email protected] 

 

Last modified on 2017-05-31 18:41:42

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts