कोरोनालाई जितेका डा. कार्की भन्छन्ः नेपालमा विपद् व्यवस्थापन मन्त्रालय चाहिन्छ



Download our app to get more features
Spark_health_home

काठमाडौं । केहीदिनयता समूदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै यतिबेला सबै मानिस त्रसित अवस्थामा छन् । कोरोना भाइरसलाई सामान्य रुपमा लिनेहरुपनि पछिल्लो समय यसको जोखिमलाई लिएर चिन्तित बनेको देखिएका छन् । सरकारका निकायहरुले पनि कोरोना भाइरस संक्रमणको जोखिम घटाउन विभिन्न उपायहरु अवलम्वन गरिरहेको छ । यद्यपी यो भाइरसको संक्रमण तत्काल घट्ने छाँट देखिएको छैन । यस्तो अवस्थामा कोरोना संक्रमित बिरामी र कोरोनाको भयमा बाँचेकाहरुले कसरी तनावरहित भएर बाँच्ने त ? यो प्रश्न पेचिलो बन्दै गएको छ । हालैमात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएर स्वास्थ्यलाभ गरिरहेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोरोना भाइरस संक्रमित मानिस र राज्यका निकायलाई केही सुझाव र संक्रमणमुक्त भएकाहरुलाई नयाँ जीवन सुरु गर्ने अभिलाषा र जीवनलाई लोककल्याणमा लगाउनुपर्ने जस्ता विभिन्न उपायहरु बाँडेका छन् । हाम्रो डक्टर न्यूजसँग कुरा गर्दै डा. कार्कीले कोरोना भाइरस संक्रमण भैसकेपछि आफुले भोगेको कठिन समय र त्यसक्रममा अनुभूत भएका जीवनका विभिन्न आयामहरुका बारेमा निश्फिक्रि कुरा गरेका छन् ।

प्रस्तुत छ डा. कार्कीको मनोभावको सम्पादित अंश 

vayoda

मुख्य कुरा त मैले सिकेको र बुझेको भनेको मृत्युको भयबाट बाहिर आउनु हो । कोरोनाभन्दा ठूलो रोग त डर हो त्रास हो । भयमाथि जीत हासिल गर्न मुख्यतः मनोबल चाहियो त्यसमाथि आफन्त, इष्टमित्र र शुभचिन्तकको प्रेम र सद्भाव अर्को ठूलो शक्ति हो । मैले यीनै कुरा मनमा राखेर कोरोनासँग लडेको छु । कोरोना संक्रमितलाई करुणा देखाएमा उनीहरु यो मृत्युत्रासबाट माथि उठेर आत्मबल बढाउनसक्छन् । 
कोरोना संक्रमति भएसँगै मलाई मृत्युभय भन्दा पनि आफुसँग भएको ज्ञान हस्तान्तरण गर्न नसक्ने होकी भन्ने चिन्ताले सतायो । मृत्यु त ब्रम्ह हो यो सत्य हो । यसलाई अंगाल्नै पर्छ । म आस्तिक मान्छे भएरपनि मलाई केही सजिलो भयो । भगवानसँग एउटा अवसर मागें । बाँच्न पाए आफुमा भएको ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्न पाउँ भने । सायद भगवानले सुने मेरो पुकार । 

त्रास होइन आत्मबल बाँडौं 
हाम्रोमा कोरोना भाइरसलाई लिएर डरको खेती भएको छ । मानिसहरुलाई करुणा, सद्भाव र सान्त्वनाभन्दा पनि बढि त्रास देखाइएको छ । एकहजार जनामा कोरोनालाई जितेका ९ सय ९८ जनाको कथा लुकाइएको छ भने मरेका २ जनाको खुट्टा देखाएर मान्छेहरुमा डर बाँडिएको छ । यसले पक्कैपनि राम्रो गर्दैन । ३० हजार संक्रमित हुनलाग्दा एकसय जनाको पनि मृत्यु भएको छैन । कोरोनालाई जितेका हजारौं मान्छेहरु छन् त उनीहरुको भनाइ बाहिर ल्याएर बाँकीलाई सान्त्वना पो दिने हो त । मर्न त यहाँ बाढिपहिरोले यही वर्ष सयजनाभन्दा मरेका छन् । प्रत्येक २ सेकेण्डमा एकजना टिबीले मर्छ । प्रत्येकदिन क्यान्सर र हट्अट्याकले कयौं मान्छे मरेका छन । मृत्यु त कहाँ हाम्रो नियन्त्रणमा छ र ? त्यसैले कोरोनालाई लिएर कसैलेपनि डरको खेती नगरौं । 

कर्ममात्र हाम्रो हातमा छ, निश्काम कर्म गरौं 
भगवानले गीतामा भनेझैं हामीले कर्म गर्ने हो, फल हाम्रो नियन्त्रणमा छैन । त्यस्तै समय पनि आजमात्र हामीसँग छ । भोलि अनिश्चित छ हिजो हामीमाझ छैन । त्यसैले हिजोको पश्चाताप वा भोलिको डरलाई हेरेर जीवन जटिल नबनाऔं । मैले यो कोरोनासँग लड्दै गर्दा बाँकी जीवनलाई लोककल्याणमा बिताउने सोचेको छु । हिजोसम्म मलाई आफु सर्वोत्कृष्ट लाग्थ्यो आजबाट त्यो भ्रम र अहम ममा छैन । मलाई अव सर्वोत्तम हैन सबैले सम्झिने उत्तम मानिस बन्ने प्रेरणा मिलेको छ । 

स्वास प्रश्वासको अभ्याँस गर्दैछु, ठिटो बुढो भन्ने हुँदैन 
म लगायत मेरो क्याविनमा काम गर्ने केही कर्मचारी र सिस्टरलाई पनि कोरोना संक्रमण देखिएको हो । म लगायत सबैजनाले कोरोनामाथि जीत हाँसिल गरेका छन् । यसका लागि हामी सबैले उपयुक्त औषधिको प्रयोग, व्यायाम र खानपीनमा ध्यान दिएका छौं । म त ६० वर्षको मान्छे अलिअलि सुगर अलिअलि उच्चरक्तचापको बिरामी त्यसमाथि पनि मैले व्यायाम र खानपीनलाई सुधारेर यो बीचमा २० किलो तौल घटाएको छु । मलाई त यो कोरोना संक्रमण अवसर बनेर आएको छ । मैले पुनः नयाँ र ताजा जीवन बाँच्ने अवसर पाएको महशुष गरेको छु । मैले मेरो अस्पताल खोल्नु पहिले सो ठाउँमा दुइवटा मन्दिर पनि बनाएको थिएँ । एउटा भोलेबाबाको र अर्को राधाकृष्णको भगवानको आशिर्वादले म अहिले स्वास्थ्यलाभ गरिरहेको छु । जीवन र यसका विविध आयामलाई बडो मिहीन ढंगले अनुभूत गरिरहेको छु । लोभ, मोह, रिस, क्रोधका भावनाहरुमाथि जीत हासिल गर्न मलाई यो कठिन समयले सिकाएको छ । विभिन्न विषयमा मुर्ख्याईं र पण्डित्याइँ गर्नुहुन्न भन्ने बुझेको छु । यति हुँदा पनि कर्म मेरो नियन्त्रणमा छ कर्म गर्न भने छाड्दिन । मसँग भएका ज्ञान र सीप हस्तान्तरण गर्दै लोककल्याणमा जीवन बिताउने सोच ममा राम्रैसँग पलाएको छ । यहाँ फेरी अर्को भ्रम फैलाइएको छ । कोरोनाले ठिटो मान्छेलाई केही फरक पार्दैन । यो गलत हो । यसको जोखिम सबै उमेर समूहलाई छ । त्यसैले सबैलाई बराबर हेरचाह र उपचार गरौं । 

देशमा विपद् व्यवस्थापन मन्त्रालय चाहिन्छ 
कोरोना महामारीले हाम्रो देशमा एउटा छुट्टै विपद व्यवस्थापन मन्त्रालयको खाँचो परेको मलाई महशुष भएको छ । आयोगहरु बनाएर हुन्न । शक्ति र स्रोतले सम्पन्न विपद् व्यवस्थापन मन्त्रालय र त्यसमा रहने विज्ञ (चिकित्सक, प्रहरी, सेना, प्रशासक र राजनीतिज्ञ) हरुबाट यस्ता विपद व्यवस्थापनका तयारी र प्रणाली विकास गर्नु अपरिहार्य छ । युरोप, अमेरिका र चीनजस्ता विकसित मुलुकमा प्रणाली हुँदाहुँदै त यतिधेरै जोखिम भयो भने हाम्रा लागि आगामी दिन झनै कठिन हुने देख्छु । त्यसैले स्वास्थ्य मन्त्रालयमा रहने अधिकारी होस् वा सरकारका कोहीपनि प्रतिनिधि विज्ञहरुका सुझावका आधारमा अघि बढ्नुपर्यो । 

निजीलाई पिसिआर गर्न नदिए झन् ठूलो दुर्घटना
यो समयमा सरकारले आफुमात्र ले परीक्षण गरेर कोरोना नियन्त्रण गर्छु भन्ने नसोचेहुन्छ । सबै निजीक्षेत्रका अस्पताललाई अधिकतम सरकारले तोकेको मूल्यमा पिसिआर परीक्षण गर्न दिनुपर्छ । जतिधेरै परीक्षण गर्यो उत्ति धेरै खतरा कम गर्न सकिन्छ । म मेरै अस्पतालमा मेरै पैसाले मेसिन किनेर सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरस परीक्षणका लागि तयार छु । यो समयमा आरोप प्रत्यारोप नगरेर सबै मिलेर यो रोग विरुद्ध लड्नुको विकल्प छैन । हामी सबैले बुझ्न पर्ने कुरा के हो भने जहाँ समस्या छ त्यहाँ उपायपनि छ । त्यसैले सबै मिलेर कोरोनामाथि मानव सभ्यताले जीत हासिल गर्ने उपायहरु अवलम्वन गरौं । 

उद्धवराज भेटुवालसँगको कुराकानीमा आधारित

Last modified on 2020-08-13 17:31:02

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts