२० प्रतिशत बेड छुट्याउनु पर्ने सरकारले गरेको निर्णयप्रति नेपाल चिकित्सक संघको असन्तुष्टि
काठमाडौं, ४ भदौ । नेपाल चिकित्सक संघ (एनएमए) ले सरकारले गरेको निजी अस्पताल तथा प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय सच्याउन माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले प्रत्येक स्वास्थ्य संस्थाहरुमा कोभिड र ननकोभिडका बिरामीहरुको उपचारसँगै गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जनशक्ति, आवश्यक सुरक्षाका सामग्रीहरुको समेत बढी खपत हुने र राज्यलाई समेत थप आर्थिक भार पर्ने भएकाले निर्णय तत्काल सच्याउन माग गरिएको बताएका छन् ।
उनले सरकारको यो निर्णयले देशभरका स्वास्थ्य संस्था सङ्क्रमणको केन्द्र बन्न सक्ने भन्दै संघले सरकारलाई निर्णय सच्याउन आग्रह गरेको बताए ।
नेपालमा अझै पनि सङ्क्रमितकाको उपचारका लागि छुट्टै स्वास्थ्य संस्थालाई कोभिड–१९ अस्पतालको रुपमा परिणत गरेर अलग्गै उपचार गर्न सकिए सङ्क्रमण न्यून गर्न सकिने संघले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई १ तिहाई र अन्य अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन नै जारी गरेको छ ।
हाल कोभिड भन्दा ननकोभिड अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै धेरै सङ्क्रमितका भएको देखिएकोले स्वास्थ्य संस्थामा उपचारमा संलग्न हुने सक्षम जनशक्तिकै अभाव भई भयावह स्थिति सिर्जना हुनसक्ने महासचिव डा रिजालले बताए ।
