कोरोना संक्रमित बिरामीलाई अस्पताल भर्ना हुन सरकारको अनुमति चाहिने
काठमाडौं, ६ भदौ । कोरोना भाईरस संक्रमण भएका बिरामीहरुलाई भर्ना गर्न थप समस्या हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र समन्वयमा मात्रै काठमाडौं उपत्यकाका अस्पतालहरुले आईसोलेसन र आईसियूमा बिरामी भर्ना गर्न पाउने भएका छन् ।
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले तोकिएका व्यक्तिहरुको सिफारीस र समन्वयमा मात्रै भर्ना लिन उपत्यकाका अस्पतालहरुलाई उर्दी जारी गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी, डा.माधव प्रसाद लम्साल, डा.नवराज जोशी र डा.कुम्भराज जोशीको सिफारीसमा मात्रै अस्पतालमा कोभिड-१९ का भर्ना हुनुपर्ने अवस्थाका बिरामीहरुले भर्नाका लागि अनुमति पाउने छन् । अस्पतालमा बेड अभाव हुन थालेपछि मन्त्रालयले यस्तो निणर्य गरेको हो ।
मन्त्रालयका आईसीएस कोर्डिनेटर एवं निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा कोभिड-१९ को लागि छुट्याइएको आईसोलेसन तथा आईसीयू बेडहरुमा बिरामी भर्ना गर्नुपर्दा क्लिनिकल म्यानेजमेन्ट टिमको सिफारीस र समन्वयमा मात्र भर्ना गर्नुहुन निर्देशन दिइएको बताए ।
