डा श्रेष्ठ भन्छन्ः मास्क नलगाउनु र गलत तरिकाले लगाउनु दुबै खतरनाक



Download our app to get more features

चितवन, १० भदौ । विश्व महामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न मास्कले निकै महत्वपूर्ण भूमिका खेल्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । 

त्यसको लागि मास्क सही तरिकाले लगाउनु पर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । मास्क लगाउन नजान्दा संक्रमणको जोखिम झनै बढ्ने चिकित्सकहरुले चेतावनी समेत दिएका छन् ।

नेपाल स्वास्थ्य तथा अनुसन्धान परिषदले काठमाडौं उपत्यकामा कोरोनाविरुद्ध कतिको नियम पालना भएको छ ? भनेर अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमा २७ प्रतिशत नागरिकले मास्क सही तरिकाले नलगाएको पाईएको थियो ।

संक्रमित व्यक्तिबाट संक्रमण फैलाउन नदिन र स्वस्थ व्यक्ति संक्रमित नहुन दुवै अवस्थामा मास्क महत्त्वपूर्ण हुँने चितवन मेडिकल कलेजका ग्यास्ट्रो इन्टेरोलोजी विभागीय प्रमुख डा. वरूण श्रेष्ठले बताए । उनले नाकमुख र चिउँडो राम्रोसँग ढाक्नेगरि मास्क लगाउन समेत अनुरोध गरे ।

‘हामीले लगाएको मास्क केही खान, पिउन, अन्य केही गतिविधिको लागि वा बोल्दा मास्कलाई चिउँडोमा झार्छौँ र काम सकिसकेपछि माथि साछौँ ।’ उनले भने ‘मास्क लगाउँदा चिउँडोभन्दा मुनिको भाग खुल्ला नै रहेको हुन्छ । चिउँडोभन्दा तल मास्क झार्दा उक्त खुला ठाउँमा भएका भाइरसहरु मास्कको भित्री भागमा टाँसिन्छन् । फेरि मास्क लगाउदा उक्त भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । जसले गर्दा संक्रमणको जोखिम झनै बढाउँछ ।’

उनले मापदण्ड पुरा गरेका खासगरी सर्जिकल मास्क, एन ९५ वा के एन ९५ प्रयोग गर्न सुझाव दिएका छन् । नाक मुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, कानमा झुन्ड्याउने, बाईकमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचि लगाउने जस्ता गलत प्रयोगले झनै जोखिम बढाउँने उनले जनाए । कोरोना भाइरसबाट आफुँ जोगिन र अरुलाई जोगाउन  सबैले सही तरिकाले मास्कको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

एकपटक प्रयोग गरेको मास्कहरु पटक–पटक प्रयोगमा ल्याउनु झनै असुरक्षित हुन्छ । मास्कलाई सकेसम्म ४ देखि ८ घण्टाभन्दा बढि समयसम्म प्रयोग गर्नु हुँदैन । त्यसलाई प्रयोग गरिसकेपछि जथाभावी फ्याक्नु हँदैन । सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्छ । मास्कको अगाडि वा भित्री भागमा हातले छुनु हुँदैन उनले भने ।

अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् । भिडभाड हुने सरकारी कार्यालय, अस्पताल, सार्वजनिक यातायातहरूलाई व्यवस्थित बनाउनु पर्ने विभागीय प्रमुख डा. श्रेष्ठले  बताए ।

Last modified on 2020-08-26 18:24:40

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts