कम्प्युटरजन्य सामग्रीको प्रयोग तथा यसबाट बालबालिकामा हुने असर र जोगिने उपाय...



Download our app to get more features

विश्वव्यापी महामारीका कारण विश्वभर लगभग करोडौं विद्यालय जाने उमेर समूहका बालबालिकहरु पछिल्लो ८ महिनादेखि घरमै बन्द छन् । यसरी घरमा रहँदा समय बिताउन होस्, मनोरञ्जनका लागि होस् वा अध्ययनका लागि होस् बालबालिकाहरु टि.भी, मोबाईल, ल्यापटप, ट्याब्लेट, आइ प्याड, स्मार्ट फोन, भिडियो गेम जस्ता विद्युतिय सामग्रीको नजिकिएका छन् । यसरी बालबालिकहरुले डिजिटल सामग्री प्रयोग गर्ने समय पहिले स्कुल जाने समयमा प्रयोग गर्ने भन्दा धेरै गुणा बढेको पाईन्छ ।

अहिलेको समयमा बालबालिका खेल मैदान र चौरमा खेल्न जाने तथा आफ्नै उमेरका बालबच्चासँग खेल्ने अवस्था पनि छैन जसले गर्दा बालबालिकहरु आफ्नै घरको चार पर्खाल बिचमै रमाउन, खेल्न र समय बिताउन बाध्य छन् । साथै मनोरञ्जनका लागि उनिहरु मोबाईल चलाउने, कम्प्युटर गेम खेल्ने, टि.भी हेर्ने, यू ट्युबमा भिडियो हेर्ने, चलचित्र हेर्ने जस्ता कार्यमा व्यस्त रहेको हरेक घरघरमा देख्न पाईन्छ । यस बाहेक अहिले माहामारीले निम्त्याएको बाध्यताले गर्दा धेरै स्कुलहरुले बैकल्पिक शिक्षा प्रणालीको प्रयोग गर्दै अनलाईन शिक्षाको विधि अपनाएका छन् । जसले कम्प्युटरजन्य सामग्री र बालबालिकलाई झन् नजिक ल्याइदिएको छ र बालबालिकमाझ डिजिटल सामग्रीको प्रयोग ह्वातै बढाइदिएको छ ।

यसरी आत्यधिक मात्रामा कम्प्युटरजन्य सामग्रीको प्रयोगले हामी युवा अवस्थाका मानिसहरुमा भन्दा बालबालिकहरुमा आँखा तथा शरीरमा धेरै स्वास्थ्य समस्या निम्तिने खतरा हुन्छ । सन् २०५० सम्ममा विश्वका करिब ५० प्रतिशत मानिसहरुमा दृष्टिदोस (मायोपिया) हुने अनुसन्धानकर्ताहरुको अनुमान छ । जसको एउटा मुख्य कारण भनेको बच्चाहरुमा बढ्दो कम्प्युटरजन्य सामग्रीको प्रयोग पनि हो । यहि विषयलाई लिएर विश्वका धेरै दृष्टि विशेषज्ञहरुले यस लकडाउन र माहामारी पश्चात बालबालिकमा शरीर र आँखाका धेरै समस्या जस्तैः 
१) दृष्टि दोस 
२) कम्प्युटर भिजन सिन्ड्रोम  
३) स्क्रीन डीपेनडेन्की डिस्अर्डर
ह्वातै बढेर जाने कुरा उल्लेख गरेका छन् । जुन हाम्रो देशको लागि पनि एक चिन्ताको विषय हो । 

त्यसैले आफ्ना बालबालिकालाई कम्प्युटर भिजन सिन्ड्रोम, स्क्रीन डीपेनडेन्की डिस्अर्डर, भिडियो गेमको लत, ईन्टरनेटको लतबाट बचाउनु पर्ने आवश्यक्ता रहेको धेरै दृष्टि विशेषज्ञहरुको बुझाई छ । र यो कुरा हरेक आमाबुवा तथा अभिभाकले पनि जान्न जरुरी छ ।

आफ्नो बच्चामा कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रीन डीपेनडेन्की डिस्अर्डर भए नभएको थाहा पाउने तरिकाहरुः
तल निम्न लिखित लक्ष्यणहरु आफ्ना बालबालिकमा देखिएमा उनिहरुलाई कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रीन डीपेनडेन्की डिस्अर्डर भएको हुन सक्छ भनेर बुझ्नु पर्छ ।
कम्प्युटर भिजन सिन्ड्रोम भएमा युवा अवस्थाका मानिस हरुमा जस्तै बालबालिकमा पनि निम्न लिखित लक्ष्यणहरु देखिन्छन् :
१) आँखा पोलेको महशुस हुने 
२) टाउको दुख्ने  
३) मोबाईल, कम्प्युटर चलाउँदा आँखाबाट आसु बग्ने 
४) मोबाईल, कम्प्युटर चलाएपछि धमिलो देख्ने 
५) आँखा धेरै मिच्ने 
६) आँखा पोल्यो भन्ने 
७) निन्द्रामा कमी आउनु 
८) आँखा रातो हुने
९) पाखुरा तथा घाँटी दुख्ने 
१०) मोबाईल, ल्यापटप, टि.भी अश्वभाविक रुपमा नजिकबाट हेर्ने

स्क्रीन डीपेनडेन्की डिस्अर्डर भएमा बालबालिकमा निम्न लिखित लक्ष्यणहरु देखिन्छन्ः
१) बाहिर खेल मैदान तथा घर आँगनमा खेल्न मन नगर्ने ,
२) मोबाईल गेम बहेक अन्य काममा रुची नगर्ने ,
३) मोबाईल कम्प्युटर चलाउन नपाउदा रुने, खाना नखाने ,
४) झगडा गर्ने

बालबालिकाले कति समय डिजिटल सामग्री प्रयोग गर्दा उपयुक्त हुन्छ । जसले गर्दा आँखा तथा शरीरमा आउने स्वास्थ्य समस्यालाई समाधान गर्न सकिन्छ ?

अमेरिकन पेडिआट्रिक एसोसियसन तथा विशेषज्ञयको कुरालाई आधार मन्ने हो भने २ वर्ष भन्दा कम उमेरका बालबालिकलाई डिजिटल तथा कम्प्युटर जन्य सामग्रीको नजिक नल्याउदा नै उपयुक्त हुन्छ्र । हाम्रो समाजमा २ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मोबाईल वा ल्यापटपमा गीत, बाल गितसंगितहरु बजाएर वा देखाएर बालबच्चा भुलाउने, खेलाउने, खाना खुवाउने चलन देख्न पाईन्छ जुन विकशित उमेरका बच्चाको स्वास्थ्यको हिसाबले उपयुक्त होइन ।

यसैगरी २ वर्षदेखि ५ वर्षसम्मका बालबालिकामा भने दैनिक १ देखि १ः३० घण्टा डिगिटल सामग्री प्रयोग गर्नु र त्यस्ता सामग्रीको नजिक रहनु स्वास्थ्यका हिसाबले हानीकारक हुँदैन ।

त्यस बाहेक स्कुल जाने उमेरका बालबच्चामा दैनिक २ देखि ३ घण्टाभन्दा धेरै डिजिटल सामग्री प्रयोग गर्नु आँखा स्वास्थ्यको हिसाबले राम्रो मानिदैन । २ देखि ३ घण्टाभन्दा धेरै मोबाईल जन्य सामग्री प्रयोग गरेमा कम्प्युटर भिजन सिन्ड्रोम तथा स्क्रीन डीपेनडेन्की डिस्अर्डर हुने सम्भावना बढेर जान्छ ।

बालबालिकलाई कसरी डिजिटल सामग्रीको नकारात्मक असरबाट जोेगाउने ?
१) सर्वप्रथम अभिभावकले आफ्ना बालबच्चालाई डिजिटल सामग्रीको अत्याधिक प्रयोगले आँखामा हुने नकारात्मक असरका बारेमा सम्झाउने

२) घरमा अभिभावकले आफ्ना बालबच्चालाई अन्य सिर्जनसिल कामहरु गर्न उत्प्रेरित गर्ने जस्तै बगैचामा फुल रोप्ने, चित्र बनाउने, खाना पकाउने 

३) आफ्ना बालबच्चालाई राती सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडिबाट मोबाईलजन्य सामग्री प्रयोग गर्न नदिने 

४) दैनिक मनोरञ्जनका लागि निश्चित समय तोकेर वा पढाईलेखाइ र अनलाईन कक्षाका लागि मात्र कम्प्युटर र डिजिटल सामग्रीको प्रयोग गर्न दिने 

५) अभिभावकले आफ्ना बालबच्चाले मोबाईल, टि.भी, कम्प्युटर सही मुद्रामा रहेर प्रयोग गरे नगरेको ख्याल गर्ने

६) बेडमा सुतेर, सोफामा पल्टेर वा धेरै नजिकबाट मोबाईल, टि.भी हेर्न नदिने  

७) मोबाईल, टि.भी, कम्प्युटर धेरै नजिकबाट हेर्ने बानी छ भने बच्चाको आँखामा दृष्टि दोस पनि हुन सक्छ जसका लागि समयमै दृष्टि जाँच गर्नुपर्ने हुन्छ्र

८) २०/२०/२० नियम सिकाउनेः अभिभावकले आफ्ना बालबच्चालाई डिजिटल सामग्री प्रयोग गरेको हरेक २० मिनेटपछि २० सेकेन्ड जती २० फिट टाढा हेरी आँखालाई एकछिन विश्राम दिनु पर्छ भनेर सिकाउने

९) अभिभावकले आफ्ना बालबच्चालाई मोबाईल, टि.भी, कम्प्युटरहरु एकोहोरो हेर्नुहुन्न, बेलाबेलामा आँखा झिम्काउनुपर्छ भनेर सिकाउनुपर्छ यसरी समयसमयमा विश्राम लिदै आँखा झिम्काउदा आँखा पोल्ने, सुक्खा हुने, आसु बग्ने समस्याबाट बच्न सकिन्छ  

१०) आफ्ना बालबच्चाले चस्माको प्रयोग गर्ने गरेका छन् भने मोबाईल, टि.भी, कम्प्युटरहरु प्रयोग गर्दा पनि चस्मा लगाउने बनी बसाल्ने तथा सकेसम्म चस्मामा ब्लु रे कट भएको सिसाको प्रयोग गर्ने जस्ले डिजिटल सामग्रीबाट आउने आँखालाई हानी गर्ने ब्लु रे बाट आँखा लाई जोगाउँछ्र ।

यसरी माथि उल्लेखित सुझाज्ञहरु मनन् गरी आमाबुवा तथा अभिभावकहरुले आफ्ना बालबालिकलाई डिजिटल सामाग्रीको अत्याधिक प्रयोगबाट टाढा राख्ने हो भने बालबालिकमा डिजिटल सामग्रीले हुने नकारात्मक असर जस्तै कम्प्युटर भिजन सिन्ड्रोम, स्क्रीन डीपेनडेन्की डिस्अर्डर, भिडियो गेमको लत, ईन्टरनेट को लत तथा सबै भन्दा महत्तवपूर्ण दृष्टि दोसबाट बालबच्चालाई बचाउन सकिन्छ ।

 

(लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान, बी. पि .कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र,  त्रि. वि . शिक्षण अस्पताल, महाराजगन्जमा अध्ययनरत विद्यार्थी हुन्)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts