“समयमा नै पहिचान गर्न सके आत्माहत्या रोक्न सकिन्छ” 



Download our app to get more features

काठमाडौं, २५ भदौ । आज सेप्टेम्वर १०, “आत्महत्या रोकथाममा सबैको सहकार्य” भन्ने नाराका साथ विश्वभर नै विभिन्न कार्यक्रम गरि विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै छ । नेपालमा पनि सन २००३ देखि आत्महत्या रोकथाम दिवस मनाउन थालिएको हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रति ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गर्छन् र सोही समयमा अरु २० जनाले आत्महत्याको प्रयास गर्छन । विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर बढेको छ । लकडाउन, निषेधाज्ञा तथा घरभित्रै बस्नुपरेका कारण गरिखाने वर्गमा बढी असर देखिएको छ ।

सन २०१९ मा गरिएको एक अध्ययनका अनुसार नेपाल दक्षिण एसियामै दोश्रो धैरे आत्महत्या गर्ने देशमा पर्दछ । कोरोना भाइरसको महामारीसँगै नेपालमा आत्महत्या २० देखि ३० प्रतिशतले बढेको पाइएको छ । 
गएको चैत्र १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको र त्यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताए ।
सडक दुर्घटनापछि मृत्युको कारक आत्महत्या बन्दै गएकोप्रति सरोकारवालहरुको चिन्ता व्यक्त गरेका छन । मनोचिकित्सक डा.दिपक कुँवरले हाल विश्वमा विभिन्न कारणबाट भइरहेको मृत्युमध्ये आत्महत्या दोस्रो बन्दै गएको जानकारी दिए ।  
उनले पुरुषको दोस्रो र महिलाको तेस्रो कारणमा आत्महत्या बनिरहेको बताए ।  आत्महत्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै आत्महत्या रोकथामका लागि सञ्चारमाध्यम, नीति निर्माता लगायत मिडियाको भुमिका प्रमुख रहेको बताएकाछन । 
समस्यालाई बाँड्न सके तनाव कम हुने विज्ञले बताएका छन । साथै मनमा कुरा नखेलाउन, सकारात्मक कुराहरु सोच्न र नियमित व्यायाम गर्न विज्ञको सुझाव छ । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको समेत पाइएको छ । 

त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिने मनोचिकित्सक डाक्टर सरोजप्रसाद ओझाले बताए । उनले कोभिड १९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाएर त्यसलाई कम गर्नुपर्नेमा जोड दिएकाछन् ।  कोरोनाका बेलामा कुनै पनि कुराको तनाव लिएर बस्नु भन्दा सकरात्मक सोच राखेर अगाडि बढ्न उनको  सुझाव छ ।

मानसिक रोग विशेषज्ञ तथा पाटन अस्पतालका निर्देशक डा रवि शाक्यले आत्महत्या हुनलाई तनाव वा चरम निरासा नभएपनि आफैमा मानविय व्यबहारले हुने बताएकाछन् ।  सबैले एउटै कारणले आत्महत्या गर्दैनन्, हरेकका फरक फरक कारण हुन्छन धेरैले सबै समस्याको समाधान आत्महत्या हो र मृत्यु पश्चात सबै समस्याहरु समाधान  हुन्छ, भन्ने सोचले आत्महत्या गर्छन, उनले भने । 

नेपालमा आत्महत्या बढ्नुको कारण ? 
आत्महत्या नेपालमा पनि धेरै बढेको देखिएको छ । आत्महत्याको प्रमुख कारण भनेको मानसकि समस्या हो । त्यसमा पनि एन्जाईटी, डिप्रेसन, पेनिक याट्रयाक्ट जस्ता समस्या भएका र त्यसलाई सही ढंगले उपचार नगरिएको कारणले आत्महत्या गरेको पाइन्छ ।
त्यस्तै धेरै खालको मानसिक तनाव लिने, त्यसमा पनि किशोरीहरुमा हर्मोनको कारणले ‘मुड चेन्ज’ भैरहने र मन अस्थिर हुने समस्या हुन्छ । यस्तो बेलामा राम्रो ‘सर्पोट’ र हेरविचार भएन, उल्टै परिवारबाट दबाब भयो भने झनै समस्या पर्न सक्छ ।  कहिलेकाहीँ छोरा र छोरीबीच भेदभाव भएर छोरीलाई अलि बढी दवाब दिइयो भने त्यसले पनि तनाव दिन्छ ।
एकैपटक आत्महत्या गर्ने होइन । आत्महत्या गर्नुअघि अरु क्रियाकलाप पनि गरेका हुन्छन् । जस्तै हात काट्ने, विष सेवन गर्न खोज्ने । यस्तो देखियो भनेर किन यस्तो गरे भनेर परिवार र आफन्त अलि बढी सजक हुनुपर्छ ।
यदि स्कुलमा त्यस्तो भयो भने शिक्षकले बुझ्नु पर्ने हुन्छ  । हाम्रो समाजमा गाली गरेर जबर्जस्ती समस्या समाधान गर्न खोजिन्छ । त्यो राम्रो होइन । पढाइको धेरै ‘प्रेसर’ भयो भने, पढाइमा आमाबाबुको आशा धेरै भयो भने त्योसँग जुध्न नसकेर तनाव हुने हुन्छ । अहिले स्मार्ट फोन तथा ईन्टरनेटको  अत्याधिक प्रयोग, यूट्युमा भिडियो हेरेर धेरै समय बिताउनु, त्यस्तै गेम खेलेर समय बिताउनु पनि समस्या बनेको छ ।  
अहिले सानै उमेरमा ‘लव अफयर’ अनि ‘ब्रेकअप’ भएर फिल्मी शैलीको व्यवहारले गर्दा पनि धेरै आत्महत्याको समस्या बढेको  छ । (बरिष्ठ मनोचिकित्सक डा.कपिलदेव उपाध्यायका अनुसार)   
 

आत्महत्या रोकथाम गर्ने उपायः 
 अधिकांश  आत्महत्या मानसिक रोगको प्रतिफ हुने  हुदा सर्वप्रथम मानसिक स्वास्थ्य प्रवर्धन गर्नुपर्दछ,
सामाजिक क्रियाकलापमा सहभागि हुन प्रेरित गर्ने , 
मानसिक स्वास्थ्य समस्यालाई र आत्महत्यालाई सामाजिक कंलकका रुपमा लिनु हुँदैन ,
प्रत्येक आत्महत्याको सोच व्यवहार र प्रयासलाई गम्भिरतापूर्वक लिनु पर्छ,
आत्महत्याको व्यवहारलाई सहयोगको लागि आग्रहका रुपमा लिनु पर्छ ,
जोखिमका संकेत देख्नासाथ उचित अवलब्बन गर्नु नै आत्महत्या रोकथामको प्रमुख कडी हो,
 

आत्महत्या रोकथामका लागि अरु उपाय के हुन सक्छ ? 

– व्यक्तिगत रुपमा आत्महत्या कस्तो खालको समस्या हो भनेर जनचेतना बढाउनुपर्छ । 
– परिवारले राम्रोसँग समस्या बुझ्नुपर्ने हुन्छ । 
– स्कुल कलेजमा काउन्सिलिङ गर्ने मान्छे तथा  समन्वयनकर्ता राख्नु पर्छ  । 
– त्यस्तै मानसिक समस्या आयो भने कसरी कसलाई भन्ने भनेर वातावरण मिलाउनु पर्छ । 
– कुनै खालको मानसिक समस्या देखा पर्यो भने मनोचिकित्सक तथा मनोमरामर्सकर्ताकोमा गएर सल्लाह लिनुपर्छ । 
– त्यस्तै “सुसाइड हेल्पलाइन” भन्ने छ, कसैलाई नराम्रो सोच आयो भने पैसा नलाग्ने फोन नंम्बर १६६०००१२१६०० हेल्पलाइनमा फोन गरेर सहयोग लिन पनि ;lsG5 .

Last modified on 2020-09-10 11:37:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts