कोरोना बीमा सम्बन्धी मापदण्ड संशोधनः अब संक्रमण पुष्टि भए २५ हजार मात्रै पाइने



Download our app to get more features

काठमाडौं, २९ भदौ । सरकारले कोरोना बीमा सम्बन्धी मापदण्ड संशोधन गरेको छ ।

बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको हो । संशोधित कोरोना बीमा मापदण्ड अनुसार अब कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितले २५ हजार मात्रै पाउने भएका छन् । तर, आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा भने थप ७५ हजारसम्म दिइनेछ ।

समितिका अनुसार भदौ २८ गतेसम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले पहिलेकै नियम अनुसार संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउने छन् ।

यस्तै व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै अबदेखि निजी प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि हुँदा पनि बीमा रकम दिइने छ ।

सुरुमा समितिले निजी प्रयोगशालामा कोरोना परीक्षण गरेकाहरुमा कोरोना संक्रमण पुष्टि भए बीमाको रकम नदिने बताएको थियो । तर, चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

समितिले संशोधन गरेको मापदण्ड सोमबारबाट लागू भएको छ । जसमा कुनै बीमित कोरोना संक्रमित भएर घरमै आइसोलेसन बसे राहत खर्च बापत २५ प्रतिशत रकम अर्थात् (एक लाखको बीमा गरेको भए २५ हजार रुपैयाँ) पाउनेछ । यदि बीमित संक्रमित अस्पताल भर्ना हुनु परेमा चिकित्सकले प्रमाणित गरेको बिल भर्पाई पेश गरेमा अस्पताल भर्ना खर्च बापत अधिकतम् ७५ प्रतिशतसम्म अर्थात बाँकी ७५ हजार रुपैयाँसम्म पाउन सक्ने भएका छन् ।

Last modified on 2020-09-14 18:54:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts