मनपरी शुल्क असुल्दै डडेल्धुराका औषधि पसल, अनुगमन नहुँदा सञ्चालकलाई हाइसञ्चो



Download our app to get more features

डडेल्धुरा, ४ असोज । डडेल्धुरामा सञ्चालित औषधि पसलहरुले सेवाग्राहीसँग मनपरी रकम असुलेको गुनासो गरेका छन् । 

जिल्ला सदरमुकाममै रहेको डडेल्धुरा अस्पतालबाहिर रहेका औषधि पसलहरुले बिरामीसँग आफुखुसी औषधिको शुल्क लिएको पाइएको छ ।
 
अस्पतालको मुलगेटमै रहेको एक औषधि पसलले सरकारले निर्धारण गरेको भन्दा दोब्बर शुल्क लिएको प्रमाण हाम्रो डक्टर न्यूजले प्राप्त गरेको छ । अस्पताल भित्रकै कर्मचारीले बिरामीलाई आफ्नो फार्मेसीबाट औषधि ल्याउन आग्रह गर्ने तर अस्पतालद्वारा सञ्चालित साझा औषधि पसलभन्दा दोब्बर मुल्य असुल्नेको एक बिरामीले बताए ।

ती बिरामीले उपलब्ध गराएकोे बिल नम्बर ८७२ अनुसार सुमन फार्मेसीले एउटा ‘क्यानुला’ को १०० रुपैयाँ लिएको छ । जबकी उक्त क्यानुला साझा औषधि पसलमा भ्याटसहित २० रुपैयाँमा पाइन्छ । यस्तै एक पिस ‘डिएनएस’ को ८० रुपैयाँ लिइएको छ । जबकी त्यसको मुल्य ४५ रुपैयाँ पर्छ । यस्तै ४५ रुपैयाँमा पाइने एनएसको सुमन फर्मेसीले ७० रुपैयाँ लिएको छ । त्यसैगरी ‘आरलक’ नामक इन्जेक्सनको मुल्य ५ रुपैयाँ पर्छ, तर फार्मेसीले २ पिस आरलकको २० रुपैयाँ लिएको छ । 

यसरी गाउँबाट आउने सोझा तथा अशिक्षित बिरामीहरुलाई अस्पताल कम्पाउन्ड बाहिर रहेका निजी औषधि पसलले ठग्ने गरेका छन् । तर आफुहरु ठगिएको बारे उनीहरुलाई पत्तै हुँदैन । यसरी औषधिजन्य सामग्रीमा खुलेआम कालोबजारी भएको बारे हामीले जिल्ला प्रशासनसँग प्रतिक्रिया मागेका थियौ । जहाँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन टोली बनाइएको हुन्छ । 

तर, आफुहरुसँग प्राविधिक मान्छेको अभाव भएकाले औषधि पसलको अनुगमन गर्न समस्या भएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनले औषधि पसलको अनुगमन औषधि व्यवस्था विभाग नेपालगञ्ज शाखाले गर्ने जानकारी दिए । 

त्यसपछि हामीले औषधि व्यवस्था विभाग नेपालगञ्जकी प्रमुख नीनु श्रेष्ठलाई सम्पर्क गर्यौ । उनले कर्मचारी अभावका कारण लामो समयदेखि अनुगमन गर्न नपाइएको बताइन् । ‘त्यसरी औषधि पसलले मनपरी शुल्क लिएको छ भने त्यो सरासर कालोबजारी हो’ उनले भनीन, ‘हामी त्यसबारे अनुसन्धान गर्छौ र उक्त फार्मेसीले त्यस्तो गरेको रहेछ भने कारवाहीका लागि प्रशासनमा सिफारिस गछौं ।’

यसरी डडेल्धुरामा अस्तालमै कार्यरत कर्मचारीका अस्पताल नजिकै थुप्रै निजी फार्मेसी सञ्चालनमा छन् । जहाँ उनीहरुकै सुझावमा बिरामीहरु औषधि खरिद गर्न जाने गरेका छन् । तर अज्ञानता तथा सरोकारवालाले नियमित अनुगमन नगर्दा बिरामीहरु त्यहाँ दैनिकजसो ठगिने गरेका छन् ।

Last modified on 2020-09-20 15:42:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts