डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया



Download our app to get more features

डडेल्धुरा, ५ असोज । डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ। पहिलो पटक अस्पतालमा दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो। पछिल्लो १० दिनमा चार जनाको दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

चारै जनाको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर राजन शाह नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरेको हो। सुदूरपश्चिम प्रदेशभरमै पहिलो पटक डडेल्धुरा अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।

प्रसूति गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अब दूरबिन प्रविधिबाट सम्भव भएको डा शाहले बताए। दूरबिन प्रविधिबाट शल्यक्रिया बिरामीका लागि स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी हुने उनको भनाइ छ।
उनका अनुसार दूरबिनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ। साथै शल्यक्रियाको अर्को दिन बिरामी हिँड्न सक्छ। पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने तथा बिरामीले महिनौंसम्म आराम गर्नुपर्ने आवश्यकता नहुने डा शाहले बताए। उनका अनुसार दुई–तीन दिनमा अस्पताल

बसाइँ सकेर बिरामी एक हप्तामा आफ्नो नियमित काममा फर्किन सक्छ।
यो शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको उनको भनाइ छ। ‘हाम्रो आखाले नदेख्ने कतिपय कुरालाई दूरबिनले अझै स्पष्ट गरेर देखाउँछ।’ उनले भने,‘शल्यक्रियामा दूरबिन प्रविधि सबैभन्दा उत्कृष्ट हो।’
अस्पतालमा शल्यक्रिया गरिएको चार जनामध्ये तीन जना डिस्चार्ज भइसकेको र एकजना उपचाररत रहेको डा शाहले जानकारी दिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts