नेपालको आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा, विश्वभर वर्षेनी ५९ हजारको मृत्यु



Download our app to get more features

काठमाडौं, १२ असोज । सरकारले नेपालको आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा रहेको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको कुल जनसंख्यामध्ये आधा जनसंख्या रेबिज रोगको उच्च जोखिममा रहेको छ ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नेपालमा गत वर्ष रेबिज रोगका कारण १८ जनाको मृत्यु भएको जानकारी गराए ।

विश्व रेबिज विरुद्धको दिवसको अवसरमा डा पाण्डेले नेपालमा वर्षेनी २ करोड ५० लाख रेबिज विरुद्धको खोपको खपत हुनेको भन्दै यस रोगबाट जोगिनका लागि सावधानी र सतर्कताको आवश्यकता रहेको बताए ।

उनले नेपालमा रेबिज रोग लाग्ने मुख्य कारण कुकुर रहेको भन्दै सन् २०३० सम्म रेबिजका कारण हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य राखिएको पनि उल्लेख गरे ।

विश्व स्वास्थ्य संगठन र अन्य विभिन्न संगठनहरुले मिलेर रेबिजबाट हुने मृत्युदरलाई सन् २०३० सम्ममा शून्यमा झार्ने लक्ष्य राखिएको भन्दै डा पाण्डेले नेपालले पनि लक्ष्य पूरा गर्नका लागि विभिन्न कार्यक्रमहरु तय गरेको बताए ।

यस्तै एफएओ, डब्लुएचओ र ओएआई अन्तर्गतका कार्यक्रममा रेबिज रोगलाई प्रमुख रोगको रुपमा राखिएको हुनाले नेपालले त्यसै अनुसारका कार्यक्रम बनाएको पनि उनले प्रष्ट पारे।

डा पाण्डेले नेपालमा जुनोटिक रोगको प्राथमिकतामा रेबिज रोगलाई राखिने र त्यस अनुसकार मापदण्ड तयार हुने भन्दै यस रोगको उन्मुलनका लागि तिनै तहको सरकारसँगको समन्वय र सहकार्य महत्वपूर्ण रहेको पनि बताए ।

यस्तै एसियामा रेबिज रोगका कारण प्रत्येक वर्ष ३५ हजार मानिसहरुको मृत्यु हुनेको गरेको छ भने विश्वको तथ्यांक हेर्दा ५९ हजार मानिसहरुको मृत्यु रेबिजकै कारण हुने गरेको छ ।

९५ प्रतिशत कुुकुरको टोकाइबाट लाग्ने यस रोगका कारण विश्वभर एक करोड मनिसलाई उपचारको आवश्यकता हुने गरेको छ । रेबिजका कारण मृत्यु हुनेमा ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका रहेको पनि बताइएको छ ।

Last modified on 2020-09-28 17:01:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts